लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् ।

काठमाडौंको काठमाडौं महानगरपालिका-१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागुऔषध आइस ड्रग्स जस्तो पदार्थ ३ ग्राम ५ मिलिग्राम, चरेश जस्तो पदार्थ २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड जस्तो पदार्थ ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी चारजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोसहित भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने २२ वर्षीय समिर दर्जी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका(२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ७० मिलिग्रामसहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबिसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका-१८ मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?