बाजुरा । बाजुरामा हवाई सेवा नियमित उडान नहुँदा तीन दिनमा दुई जना बिरामीको मृत्यु भएको छ भने केही बिरामी अलपत्र परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले ३ दिनको अबधिमा रिफर गरेका २ जना बिरामीको ज्यान गएको छ ।
थप उपचारका लागि रिफर गरिएका चार जना मध्ये २ जनाको बीच बाटोमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुराले जानकारी दिएको छ । मृत्यु हुँनेमा जिल्लाको बुढीनन्दा नगरपालिका–३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका–१ की ऐना गिरी रहेका छन् । स्वास्थ्य केन्द्रले रिफर गरेको थियो, कोल्टीमा जहाज नआउँने भएपछि गाडिबाट सुबिधा सम्पन्न ठाउँमा लिन खोज्दा बिरामीको मृत्यु भएको हो ।
कोल्टी विमानस्थलमा पाँच दिन देखि हवाई उडान नै भएको छैन् । बिरामीले जहाज पर्खी बसेपनि उनीहरुका लागि काल पहिले र विमान पछि आउँने अवस्थाको सिर्जना भएको स्थानीय जनक कुमार बिष्टले बताउनुभयो ।
हप्ता दिनदेखि हिमाली गाउँपालिका–७ का देवीदत्त जोशी र जगन्नाथ गाउँपालिका–१ का लालबहादुर रोकाया जहाजको पखाईमा हुँनुहुन्छ । मृत्यु भएका २६ वर्षीय बोहरा विद्युत्को तारलाई विस्तार गर्ने क्रममा पोल ढलेपछि घाइते भएका थिए । घाइते बोहोरा लाई थप उपचारका लागि तत्काल धनगढी रिफर गरिएको थियो । रिफर गरिएको ६ घण्टा नवित्दै उनको डोटीको चौखुट्टेमा मृत्यु भएको आफन्तले बताएका छन् ।
कोल्टीबाट धनगढीको पैदल यात्रा करीब १६ घण्टा बढी लाग्ने गरेको छ । हवाई सेवाको बिकल्प नभएपनि बोहरालाई आफन्तले पैदल यात्राबाट उपचारका लागि लिएका थिए । त्यसैको ठिक एक दिन पछि रिफर गरिएकी बिरामी ऐना गिरीको पनि बीच बाटोमै ज्यान गएको छ । मस्तिष्क घातको समस्या देखिएपछि रिफर गरिएको थियो । उपचार सम्भव नहुने देखेर रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ ।
५५ वर्षीया गिरीको पनि डोटीकै साजघाटमा मृत्यु भएको आफन्तले बताएका छन् । रिफर गरिएका ४ जना मध्ये पैदल मार्गबाट गएका दुबै जनाको मृत्यु भइसकेको छ । बाँकी २ अझैपनि जहाजको पर्खाइमा बसिरहेका छन् । तर कोल्टी विमानस्थलमा पाँच दिनदेखि हवाई उडान नै भएको छैन ।
सिजनमा हवाई कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन् । पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ ।
कोल्टीमा सातै दिनको उढान तालिका रहेको छ । सिता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ । बुधबार यता कुनै कम्पनीले पनि उडान नभरेको विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताउनभएको छ ।
बाजुरादेखि नेपालगञ्जसम्मको हवाई उडान समय ३० देखि ३५ मिनेटको हुँने गरेको छ । नियमित उडान नभरेपनि आकस्मीक अवतरण गर्न अनुरोध गर्दा पनि नमानेको मृतकका आफन्तको आक्रोश छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बाजुराका चार पालिका र छिमेकी हुम्ला, मुगु र कालीकोट जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन् । कर्णाली करिडोर पनि भरपर्दो नभएको र मार्तडी कोल्टी, मार्तडी धनगढी सडकको दुरी निकै लामो हुने हुँदा विरामीका लागी ठुलै सास्ती हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच