ह्वील चियर यात्रा गरिरहेका सन्देश

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालका हरेक सरकार र बन्ने संरचनाहरु अपांगतामैत्री, बालमैत्री र महिलामैत्री हुनुपर्ने उहाँकाे  माग छ ।
-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । इलामका सन्देश रम्तेल जन्मदा सपांग हुनुहुन्थ्यो । उहाँको शरीरमा कुनैपनि किसिमको अपांगता थिएन । उहाँको जीवन ठिकठाक चलिरहेको थियो ।तर, समयले मानिसलाई कति बेला के पारिदिन्छ थाहै नहुने रहेछ । साढे एक वर्ष पहिले सन्देश दुर्घटनामा पर्नुभयो । मोटरसाइकल दुर्घटनाका कारण सन्देश अपांग हुन पुगे । त्यसपछि उहाँलाई हिडडुल गर्न ह्वीलचियरको सहायता लिनुपर्ने भयो । सन्देश भन्नुहुन्छ,‘जन्मदा म नर्मल थिए । डेढ वर्ष अघिको कुरा हो । काठमाडौंबाट इलाम जाँदै थिए । घर पुग्नै लाग्दा दुर्घटनामा परे ।’

उक्त दुर्घटनालाई उहाँले जीवनकै ‘दुःखद संयोग’को रुपमा व्याख्या गर्नुभयो । दुर्घटनाको कारण अरु कोही नभएर सन्देश आफै हुनुहुन्थ्यो । मोटरसाइकल तीव्रगतिमा थियो । आफूले ट्राफिक नियम पालना नगरेका कारण जीवनमा क्षति व्यहोर्नु परेको उनी सुनाउँछन् । ‘तीव्र गति जीवनको क्षति नै रहेछ । ट्राफिक नियम लागु गर्नुपर्ने रहेछ । अहिले आएर पछुतो लाग्छ ।’ उहाँले भन्नुभयो ।

दुर्घटना भएको ६ महिनासम्म उनी घरबाट बाहिरसमेत निस्कन सकेनन् । त्यो समयमा उनले धेरै कुरा सिक्ने अवसर पाए । उनमा धेरै कुराको परिवर्तन आयो । उनले गुगल र युट्युवमा धेरै कुराहरु हेरे, सिके । त्यो समयले उनलाई मानिसमा शारीरिक अपांगता छु, तर मानसिक रुपमा सपांग छु भन्ने कुराको आभास भयो । निरन्तरको अध्ययनले उक्त कुराको बोध भयो । एक प्रकारको आत्मविश्वासको विकास भयो । उहाँले केही न केही गर्नैपर्ने निचोड निकाल्नुभयो ।

त्यही निचोड र आत्मविश्वासको बलमा उनी विश्व ह्वीलचियर यात्रामा निस्किएका छन् । हाल विश्व ह्वीर चियर यात्राको क्रममा यात्रारत छन् । अहिलेसम्म उनले ‘मेची –महाकाली ह्वील चियर यात्रा’ गरिसके । विश्वका केही देशमा समेत पुगिसकेको उहाँ बताउनुहुन्छ ।
सन्देशले विश्व ह्वील चियर यात्रा गत वर्षको असोज ३ गते संविधान दिवसका दिन सुरुवात गर्नु भएको हो । उहाँले पशुपति र लुम्बिनीको माटो लिएर विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्व यात्रा सुरु गरेको बताउनुभयो । विश्वमा प्रेम, शान्ति र मेलमिलाप कायम गर्ने उनको यात्राको मुख्य उद्देश्य रहेको छ । यस्तै नेपालका हरेक सरकार र बन्ने संरचनाहरु अपांगतामैत्री, बालमैत्री र महिलामैत्री हुनुपर्ने रहेको छ ।
अहिलेसम्म उहाँ नेपालका ४५० भन्दा बढी स्थानीय तहमा यात्रा गरिसकेका छन् । यात्राकै क्रममा यतिबेला सन्देश बाँके जिल्लामा छन् ।

यात्राको पहिलो दिन उहाँले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुखसँग भेटघाट गरेर स्थानीय सरकारमा बन्ने गरेका भौतिक संरचना अपांगता मैत्री छन् की छैनन् । अपांगता भएका व्यक्तिहरुको पक्षमा कस्ता नीति तथा कार्यक्रम बनेका छन् । आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । बाँके र बर्दियाका सबै स्थानीय तहमा पुग्ने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले पनि आफूलाई विभिन्न पालिकामा जान सहजीकरण गरेको उहाँले बताउनुभयो ।

तर उहाँले यात्राको क्रममा अहिलेपनि सरकारी संरचना अपांगतामैत्री नभएको पाएको बताउनुभयो । उहाँले यात्रा गरेका स्थानीय तहका प्रमुख र प्रमुख जिम्मेवारी व्यक्तिहरु बस्ने कार्यकक्ष माथिल्लो तलामा छन् । आफूले यात्रा गरेका साढे ४ सय बढी स्थानीय तह मध्ये मुस्किलले ५० वटा मात्रै पालिकामा अपांगतामैत्री संरचना रहेको आफूले पाएको सन्देशको भनाइ थियो । ‘कुनैपनि सरकारी कार्यालय र प्रमुखहरु माथिल्लो तलामा रहेको मैले पाएको छु । तल्लो तलामा मात्रै कार्यकक्ष भएमा अपांगता भएका व्यक्तिहरुलाई सहजता हुनु हो ।’, उहाँले भन्नुभयो ।

स्थानीय तहमा र्याम र लिफ्ट सिस्टम हुनुपर्ने उहाँको माग छ । स्थानीय तहमा बन्ने कुनैपनि संरचना अपांगतामैत्री हुनुपर्ने उहाँले बताउनुभयो । उहाँ यात्रासँगै स्थानीय तहमा नीति निर्माण तहमा समेत काम गर्दै आएका छन् । देशका विभिन्न पालिकाबाट आफूलाई बोलाइने गरेको उहाँले बताउनुभयो । रम्तेलको परिवारमा ९ जना सदस्य छन् । उनको घर आमाको भरमा चलेको छ । बुवा हुनुहुन्न । उहाँ आफू आफ्ना स्वर्गीय बुवाको प्रेरणाले समाज सेवामा लागेको बताउनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?