बर्दघाट नगरले ट्रमाका लागि जग्गा भाडामा लियो

Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ट्रमा सेन्टरका लागि जग्गा भाडामा लिएको छ । बर्दघाट नगरमा निर्माण हुने ट्रमा सेन्टरका लागि आवश्यक पर्ने जग्गा ४० वर्षका लागि राष्ट्रिय आवास कम्पनीसँग भाडामा लिएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

बर्दघाट प्रेस क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले जग्गा भाडामा लिएसँगै ट्रमा सेन्टर गुम्ने खतरा टरेको बताउनुभयो । उहाँका अनुसार ट्रमा बर्दघाटमै बनाउने प्रमुख लक्ष्यका साथ नगरपालिका अघि बढेको छ । राष्ट्रिय आवास कम्पनीले बर्दघाट नगरपालिका २ चिसापानीमा एक बिघा १० कठ्ठा जग्गा छुट्याइदिने र भवन निर्माण तथा शहरी विकासको टोली आएर प्रक्रिया अघि बढाउने नगरप्रमुख श्रेष्ठको भनाइ छ । उहाँले हाल एक/दुर्ई वर्षमात्र सम्झौताअनुसारको रकम तिरे पनि त्यसपछि मन्त्रिपरिषद्मा लगेर छुट गर्ने गरी सम्झौता गरेको जानकारी गराउनुभयो ।

नेपाली कांग्रेसका नगर सभापति दामोदर जिसीले चिसापानीको जग्गा नगरको नाममा ल्याउने विषयमा आफ्नो पार्टीको धारणा हिजो शम्भुलाल श्रेष्ठ नगर सभापति हुँदा पनि रहेको र आज आफू हुँदा पनि सोही धारणा कायम रहेको बताउनुभयो । उहाँले हिजो चुनाव जितेर नगर परिक्रमापछि नगरप्रमुख र उपप्रमुखले चिसापानीको जग्गाको माटो समातेर कसम खाएको स्मरण गराउँदै त्यसप्रति नगरप्रमुख र उपप्रमुख जवाफदेही हुनुपर्ने बताउनुभएको थियो ।

नेकपा एमालेका नगर कमिटी अध्यक्ष रविन्द्रबिक्रम हमालले अहिले ट्रमा सेन्टरको पहल पारदर्शी नभएको भन्दै बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच भएको सम्झौताले कतै तिमल्सिनालाई सहयोग गरेको त होइन भन्ने शंका उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बर्दघाट नगरको कुनै पनि स्थानमा ट्रमा बनाउँदा हुन्छ तर अन्यत्र जानुहुँदैन, त्यसका लागि आफ्नो पार्टीले सम्पूर्ण सहयोग गर्न तयार छ । अहिले नगर आफैंले चिसापानीको जग्गा नगरको नाममा ल्याउनुपर्नेमा उल्टै भाडामा लिने कुरा कत्तिको जायज हो ? निमुखाको जग्गा सामन्तीले खाएझंै गरी तिमल्सिनाले चिसापानीको जग्गा खाने त होइन ?’ प्राप्त हुने जग्गा संरक्षण कसरी गर्ने भन्नेबारेमा नगरले नै ग्यारेन्टी गर्नुपर्ने उहाँको भनाइ थियो । नेकपा समाजवादीका नेता शोभाखर भुसालले सरकारको जग्गा सरकारलाई नै भाडा दिने कुरा गलत भन्दै हाल राष्ट्रिय आवास कम्पनीसँग नगरले गरेको सम्झौताका कारण चौपत्ताको अस्पतालको जग्गालाई समेत असर पर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाशजंग रायमाझीले आफ्नो जग्गा आफैँ भाडामा लिएर गल्ती भएको भन्दै ट्रमा चिसापानीमा बन्नुपर्छ तर भाडाको जग्गामा बन्नु नहुने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका आकाश यादवले राम्रा कामका बारेमा समर्थन रहने तर ट्रमाको काममा भ्रष्टाचार हुने खतरा रहेको धारणा राख्दै ट्रमा सेन्टर चिसापानीमै रहनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका शेरबहादुर थापाले ट्रमा सेन्टर चिसापानीमै हुनुपर्ने तर जनताको सहमतिअनुसार चल्नुपर्ने बताउनुभयो भने नेकपा क्रान्तिकारीका नेता चुडामणि भण्डारीले तिमल्सिनाको वास्तविक कुरा के हो ? स्पष्टसँग आउनुपर्ने बताउनुभयो । नेकपाका नेता गणेश पाठकले तिमल्सिनालाई प्लटिङ गर्न नदिएर आवासले नगरलाई जग्गा निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?