काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा ‘ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग’ सम्बन्धी विषयको दुई दिने गोष्ठी बिहीबारदेखि सुरु भएको छ । वाल्मीकि विद्यापीठ ज्योतिष विभाग र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आयोेजित गोष्ठी आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्नेलगायतका ज्योतिषसम्बद्ध विषयमा केन्द्रित रहेको छ ।
वाल्मीकि विद्यापीठ, ज्योतिष विभागका विभागाध्यक्ष प्रा. डा. धनेश्वर नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । समारोहका प्रमुख अतिथि प्रा. डा. अधिकारीले संस्कृतभित्र लुकेकोे विशाल ज्ञानराशिलाई बाहिर प्रकट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । संस्कृत शिक्षाको विकासप्रति सबैजसोको सद्भाव रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावशाली रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । प्रा. डा. अधिकारीले भन्नुभयो, ‘संस्कृत शिक्षाको बारेमा कुरा गर्दा कसैले पनि विरोध गर्दैनन् । यसले सबैको सद्भाव, सहानुभूति र माया पाएको छ । नेपाल सरकार पनि संस्कृत संस्कृतमैत्री भएकाले संस्कृतविद्याका महत्त्वपूर्ण ज्ञानराशिलाई हरेक विभाग र विद्यापीठले बाहिर ल्याउनुपर्छ । अनुदान आयोग त्यसमा हरेक किमिसबाट साथ दिन तयार छ ।’
कार्यक्रममा शुभकामना प्रकट गर्दै वाल्मीकिन विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालले नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्र पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको र यस क्षेत्रलाई गुणात्मक ढंगबाट पनि विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । प्रा.डा. ढकालले भन्नुभयो, ‘वाल्मीकि आउँदा नजानी आउनुहोस र जाँदा गार्गी, मैत्रेयी र याज्ञवल्क्य बनी जानुहोस् । ज्योतिषशास्त्रमा रहेको गूढतत्त्वलाई बुझेर अघि बढ्नुहोस् ।’ ने.सं. वि. का कुलसचिव तथा कार्यक्रमका विशिष्ट अतिथि प्रा. माधव अधिकारीले अबको केही समयमै विश्वविद्यालय डिजिटल युगमा प्रवेश गर्न लागेको उल्लेख गर्दै ज्योतिषशास्त्रलाई पनि आधुनिक र प्रयोगात्मक तरिकाबाट शिक्षण सिकाइ गर्नुपर्नेमा जोड दिनुभयो । समारोहका अर्का वक्ता प्रा. डा. नारायण गौतमले ज्योतिषशास्त्र बिना हाम्रा कुनै पनि व्यवहार नचल्ने भएको उल्लेख गर्दै पुराना शास्त्रहरू अध्ययन गर्ने मात्र होइन नयाँ-नयाँ सिद्धान्त प्रतिपादन गर्नेतर्फ पनि यस क्षेत्रका विद्वान्हरू अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको उद्घाटन सत्रको उद्घोषण ज्योतिषका सहप्रा. मुरलीधर दाहालले गर्नुभएको थियो ।
उद्घाटन सत्र र कार्यपत्र प्रस्तुति सत्रका रूपमा विभाजित बिहीबारको गोष्ठीमा दोस्रो सत्रको शुभारम्भ नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ‘शास्त्रीस्तरीय ज्योतिष शिक्षण र शिक्षण सामग्री’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सिद्धान्त ज्योतिष र फलित ज्योतिषमा पढाइ हुने विभिन्न विषयहरूलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै शिक्षण विधि र सामग्रीको उपयोग गरेर शिक्षण गर्नुपर्नेमा प्रा. अधिकारीको जोड थियो । यसै गरी उक्त समारोहमा डा. नारायणप्रसाद निरौलाले ‘ज्योतिषमा प्रविधि’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रविधिले फड्को मारेको अहिलेको युगलाई स्मरण गराउँदै डा. निरौलाले ज्योतिषशास्त्रलाई पनि नयाँ प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रविधिसँग नजोडिए ज्योतिषको अस्तित्वसमेत धरापमा पर्नेतर्फ सचेत गराउँदै उहाँले कम्प्युटर प्रविधिको उपयोगले छोटो समयमै बढीभन्दा बढी ज्ञान आर्जन गर्न सकिने कुरा उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रममा उपप्रा. हरिप्रसाद पौडेलले ‘फलादेशमा प्रविधिको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्दै फलादेश विधिलाई प्रविधिसँग जोड्न सकिने धारणा प्रस्तुत गर्नुभएको थियो । ज्योतिषशास्त्रका मूर्धन्य विद्वान् प्रा.डा. साम्बराज आचार्यको सारगर्भित मन्तव्यका साथ समापन भएको कार्यपत्र सत्रको पहिलो प्रकल्पमा ३ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो भने उद्घोषण उपप्राध्यापक डा. दीपक घिमिरेले गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुतिको दोस्रो प्रकल्पको शुभारम्भ गोविन्द सापकोटाको प्रविधिद्वारा सूर्यसिद्धान्तीय ग्रह गणित प्रयोग’ विषयक कार्यपत्रको प्रस्तुतिबाट भएको थियो । प्रा. श्रीकृष्ण अधिकारीको अध्यक्षतामा सञ्चालित यस सत्रमा दोस्रो कार्यपत्रका रूपमा डा. पुरुषोत्तम भट्टराईद्वारा लिखित व्रतबन्ध र विवाह संस्कारमा मुहूर्तनिर्धारणको शास्त्रीय व्यवस्था र नेपाली परम्परामा देखिएको भिन्नता एवं एकरुपताको उपाय’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियोे । ज्योतिषविद्याको लोकप्रियता बढ्दै गइरहेको वर्तमान परिवेशमा लोकविश्वास कायम राख्न सबै ज्योतिषीहरू सजग रहनुपर्ने तथ्य कार्यक्रमका सबैजसो वक्ताहरूको जोड थियो । समग्रमा तीन प्रकल्पमा सम्पन्न भएको बिहीबारकोे कार्यक्रममा ने.सं. वि. का पूर्वकुलसचिव प्रा. जगत्प्रसाद उपाध्याय, ने.सं.वि.प्रा.संघका पूर्व सभापति डा. शान्तिकृष्ण अधिकारी, अनुसन्धान केन्द्रका पूर्व निर्देशक डा काशिनाथ न्यौैपाने, आध्यात्मिक पत्रकार समाजका अध्यक्ष शिरोमणि दवाडी, ने.सं. वि कर्मचारी संघका अध्यक्ष रमेशप्रसाद जोशी, ने.सं. वि. कार्यकारी परिषद्का सदस्य अनोज कुमार खत्रीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । उपप्रा. उपेन्द्रप्रसाद भट्टराईको संयोजनमा वैदिक मंगलाचरणपूर्वक सुरु भएको गोष्ठीलाई प्रा.डा. जयन्त आचार्यले पूर्णतया संयोजन गर्नुभएको थियो ।
गोष्ठीको अन्तिम दिन शुक्रबार प्रा.डा. धनेश्वर नेपालले ‘मानव जीवनमा ग्रहको प्रभाव र महत्त्व’, डा. जयन्त आचार्यको ‘ज्योतिषमा धूपघडीको उपयोगिता’ उपप्राध्यापक कपिलदेव भट्टराईले ‘अधिमास-क्षयमास विवेचना ,र उपप्राध्यापक तनुजा दाहालले जातकशास्त्रको शिक्षण विधि र समस्याहरू’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच