धीरताको कमी र हतारको प्रतिक्रिया

हिमालय टाइम्स
Read Time = 6 mins

नेपालमा कुनै न कुनै प्रकरण नभएको समय नै हुँदैन भन्दा अत्युत्ति नहोला । कहिले के कहिले के भइरहेका हुन्छन् । ती विषय बारेका प्रतिक्रियाले राजनीतिक र सामाजिक जनजीवनसमेत पूर्णरूपमा प्रभावित बन्छ । खहरे खोलाको बाढी जसरी केही समय बित्न नपाउँदै पुनः सर्लक्क सुक्नपुग्छन् । सन्दर्भ अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण । यो प्रकरणमा कानुनी प्रक्रिया सुरु भएको छ । आरोपीहरू पक्राउ परेका छन् । बयान लिने काम सुरु भएको छ । केही फरार रहेकाको खोजी भइरहेको छ । ती पनि क्रमशः पक्राउ पर्लान् । मुद्दाको तहकिकात र बहस पैरवीपछि परिणाम अदालतले सुनाउने नै छ । तर, विभिन्न सञ्चारमाध्यमले हालै अदालतले फैसला सुनाइसकेको जसरी लेख्ने गरेका छन् ।

कसैलाई कुनै प्रकारको आरोप लाग्दैमा ऊ अपराधी हुँदैन, ऊ आरोपीमात्र हुन्छ । अरोप भन्ने कुरा भोलि पुष्टि हुन पनि सक्छ र नहुन पनि सक्छ । उसमाथि लागेको आरोप पुष्टि भयो भनेमात्र ऊ अपराधी हुन्छ, नत्र ऊ र अरू सर्वसाधारणमा भिन्नता हुँदैन । अरोप लाग्नु भनेको उसमाथि कुनै घटनाको शंका गरिनु हो । शंका पुष्टि हुन विभिन्न आधार चाहिन्छन् । त्यस्ता आधार भनेको प्रमाण हो । प्रमाणविना कानुन आफैं केही कुरा बोल्दैन । न्यायाधीशले आफ्नै आँखाले देखेको वारदातमा आफैंले मुद्दा हेर्नु पर्‍यो भने पनि त्यसका लागि प्रमाण जुटेन भने त्यसको फैसला होइन भनेर गर्न ऊ बाध्य हुन्छ । न्यायाधीश आफैं साक्षी हुन पाउँदैन ।

कुनै पनि वारदातका सम्बन्धमा यस्ता अनेकौं कानुनी सिद्धान्त छन् । त्यसकारण कोहीमाथि आरोप लाग्दैमा ऊ अपराधी नहुन सक्छ । उसमाथि गरिएको शंकाको सुविधा उसले पाउनुपर्छ । यो कानुनको स्थापित मान्यता हो । यसको आसय नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कोही पनि दोषी छैनन् भन्ने होइन । कसैले न कसैले यो कीर्ते काम गरेको हुनाले नै यो प्रकरण बाहिर आएको हो । यसमा कसकसको संलग्नता छ त्यो भोलि पृष्टि हुने कुरा हो तर अहिले प्रारम्भिक चरणमै अदालतभन्दा आफू बढी अग्रसर भएर यसको किटानी गर्दै यस-यसले यति-यति खाएका र फलाना-फलानालाई यति-यति सजाय हुनुपर्छ भन्ने हो भने त्यसले परिणामलाई प्रभावित पार्न सक्छ । अदालती प्रक्रिया प्रभावित बन्न सक्छ ।

राम्रो काम कसले गरेको हो भनेर पुरस्कारका लागि खोजी गर्ने हो भने अर्काले गरेको काम पनि मैले गरेको हुँ भनेर जस लिन खोज्ने र नराम्रो काम आपूmबाट भएको भए पनि मैले त होइन भनेर पन्छिने कार्य मानवीय प्रवृत्ति हो । आफूले गरेको कामलाई अर्काले गरेको हो भनेर अरूलाई देखाउने गरिन्छ । त्यस्तो काम अहिले भइरहेको छ । यसैगरी भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता छैन भनेर प्रष्टीकरण दिनेहरूको लस्कर देखिँदै आएको छ । बाहिर सञ्चारमाध्यममा आफू निर्दोष छु, आफ्नो त्यस कार्यमा कुनै प्रकारको संलग्नता छैन भनेर दिएको प्रष्टीकरणको कुनै औचित्य हुँदैन तर यसले कुनै प्रभाव पार्ला कि भन्ने उनीहरूको आसय हुनसक्छ ।

डुब्दै गरेको जहाजलाई सिन्काको पनि सहारा हुन्छ भन्ने भनाइ जसरी तिनले मिडियाबाजीका माध्यमबाट आफ्नो निर्दोषिता देखाउन चाहेका हुनसक्छन् । नेपालमा धेरैजसो यस्ता काम सेटिङबाट हुने गरेका छन् । त्यस्तो सेटिङबाट अहिलेको यो प्रकरण निष्प्रभावी बनाउने प्रयास हुन सक्दैन भन्ने होइन । कतिपय अवस्थामा आफू जोगिन ठूला खालका अपराधी वा भ्रष्टाचारीले अरूलाई बलिको बोको बनाउने गरेका छन् । अन्ततः आफू जसरी पनि बँच्नुपर्छ भन्ने मान्यता त सबैले राखेकै हुन्छन् । त्यसो हुँदा हिजो त्यस्ता कार्यमा मिलेर संलग्न भएका आत्मीय मित्र भए पनि आज तिनै आत्मीय मित्रहरूबाटै अर्को मित्रमा घात हुँदैन भन्ने होइन ।

हिजोका दिनमा पनि यस्तो देखिएकै हो र आज चाहिँ त्यस्तो हुँदैन भन्ने होइन । त्यसकारण कतिपय संलग्नहरूले आफ्नो डुब्दै गरेको जहाजलाई जोगाउने क्रममा सिन्काको सहारा रूपी सिन्को खोजिरहेका हुनसक्छन् र त्यसका लागि मिडियाबाजी भएको हुनसक्छ । यही प्रयोजनले मिडियाहरू अघि सरेर पैरबीका क्रममा भएका यस्ता मुद्दाहरूमा फैसला नै प्रभावित हुनेगरी निर्णयकै शैलीका विचार व्यक्त गरिरहेका छन् । यो अस्वाभाविकमात्र होइन असान्दर्भिक र अवैध चरित्र पनि हो । यसतर्फ सबैको ध्यान आकृष्ट हुनैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?