नाडी दोष र परिहार

Read Time = 14 mins

सामान्य अर्थमा नाडी भन्नाले समयविशेष वा नसा विशेष भन्ने अर्थ गरेको पाइन्छ । नाडीका कार्य र प्रकृतिअनुसार भिन्न भिन्न अर्थ लाग्ने गर्दछन् । ज्योतिषीय दृष्टिमा समयविशेष नाडीको चर्चा गरेको पाइन्छ । विशेषतः विवाहका सन्दर्भमा वर कन्याको गुण मिलान गर्दा प्रयोग हुने अष्टकूटमध्येको एक महत्वपूर्ण कूट नाडी हो । वैवाहिक जीवनमा गुण मिलानको महत्वपूर्ण भूमिका रहन्छ ।

ज्योतिषशास्त्रीय मान्यता अनुसार विवाह गर्नुपूर्व वर र कन्याको अष्टकूट मिलान गर्नुपर्दछ । जस अन्तर्गत वर्ण, वश्य, तारा, योनि, गण ग्रहमैत्री, भकूट र नाडी पर्दछन् । ‘वर्णो वश्यं तथा तारा योनिश्च ग्रहमैत्रकम् । गणमैत्रं भकूटं च नाडी चैते गुणाधिकाः ।।’ (मुहूत्र्तचिन्तामणि, ६।२१) अर्थात् वर्णको १ पूर्णाङ्क, वश्यको २, ताराको ३, योनिको ४, ग्रहमैत्रीको ५, गणमैत्रीको ६, भकूटको ७ र नाडीको ८ पूर्णाङ्क गुण निर्धारण गरिएको छ । यी सबैको योग ३६ गुण हुन्छ । यसरी ३६ गुणमध्ये कम्तिमा १८ गुण मिलान भएको खण्डमा विवाहलाई मध्यम मानिन्छ । १८ भन्दा अधिक गुण उत्तम र कम गुण आए निम्नकोटिको मानिएको छ । यसरी गुण मिलानमा प्रमुख भूमिका नाडीको हुने गर्दछ । किनकि शास्त्रमा नाडीलाई सर्वाधिक ८ अंक दिइएको छ । नाडी मिलान भएन भने आठ गुण कम रहन्छ । यसैले नाडी दोष भएको अवस्थामा विवाह गर्न निषेध गरिएको छ ।

नाडी दोष कसरी हेरिन्छ ?
वर र कन्या दुवैका नक्षत्र सर्वप्रथम हेरिन्छ । सोही नक्षत्रका आधारमा अष्टकूट निर्धरण भएका हुन्छन् । हरेक पात्रोमा नामअक्षरबाट गुण मिलान हेर्न मिल्लने गरी सारिणी दिइएको हुन्छ । वर कन्या दुवैको नामअक्षरका बीचमा उक्त सारिणीबाट गुण पत्ता लगाउन सकिन्छ । नाडी दोष ज्ञानका निम्ति भने पात्रोको अवकहडाचक्र हेनर्हुपर्दछ । नाडी लेखेको स्थानमा वर र कन्याको नामको पहिलो अक्षरबाट वा नक्षत्रबाट यो विचार गर्न सकिन्छ । वर र कन्या दुवैको एउटै नाडी परेको खण्डमा नाडी दोष हुने गर्दछ ।

वर र कन्या दुवैका नक्षत्र सर्वप्रथम हेरिन्छ । सोही नक्षत्रका आधारमा अष्टकूट निर्धरण भएका हुन्छन् । हरेक पात्रोमा नामअक्षरबाट गुण मिलान हेर्न मिल्लने गरी सारिणी दिइएको हुन्छ । वर कन्या दुवैको नामअक्षरका बीचमा उक्त सारिणीबाट गुण पत्ता लगाउन सकिन्छ ।

मूलतः नाडी तीन प्रकारका हुन्छन् : आद्य, मध्य र अन्त्य । अश्विनी, आद्र्रा, पुनर्वसु, उत्तरफाल्गुनी, हस्त, ज्येष्ठा, मूल, शतभिषा, पूर्वभाद्रपदा यी नक्षत्रको आद्य नाडी हुन्छ । भरणी, मृगशिरा, पुष्य पूर्वफाल्गुनी, चित्रा, अनुराधा, पूर्वषाढा, धनिष्ठा, उत्तरभाद्रपदा, यी नक्षत्रको मध्य नाडी हुन्छ । कृतिका, रोहिणी, अश्लेषा, मघा, स्वाती, विशाखा, उत्तराषाढा, श्रवण रेवती यी नक्षत्रको अन्त्यनाडी हुन्छ ।
‘ज्येष्ठार्यम्णेशनीराधिपभयुगयुगं दास्रभं चैकनाडी,
पुष्येन्दुत्वाष्ट्रमित्रान्तकवसुजलभं योनिबुध्न्ये च मध्या ।
वाय्यग्निव्यालविश्वोडुयुगयुगमथो पौष्णभं चापरा स्याद् ।
दम्पत्योरेकनाड्यां परिणयनमसन्मध्यनाड्यं हि मृत्युः ।।’ (मुहूत्र्तचिन्तामणि, ६।३४)
वर र बधूबीच एउटै नाडी (आद्य-आद्य, मध्य-मध्य, अन्त्य-अन्त्य)पर्दा अशुभ हुन्छ । भिन्न नाडी (आद्य-मध्य, मध्य-आद्य, अन्त्य-आद्य आदि) परेको खण्डमा शुभ हुन्छ । दुवैको मध्य-मध्य नाडी छ भने मृत्युदायक हुन्छ भनी बताइएको छ । यस सन्दर्भमा वराहमिहिराचार्यले आद्य-आद्य नाडी भए वियोग हुन्छ, मध्य-मध्य नाडी भए दुवैलाई विनाश गर्ने हुन्छ, अन्त्य-अन्त्य नाडी भए वैधव्य प्राप्तिका साथै दुःख पनि मिल्छ भन्ने फल बताएका छन् :
‘आद्यैकनाडी कुरुते वियोगं मध्याख्यनाड्यामुभयोर्विनाशः ।
अन्त्या च वैधव्यमतीव दुःखं तस्माच्च तिस्रः परिवर्जनीयम् ।।’ (वराहमिहिर) यसैगरी जगन्मोहनमा पनि एकै नाडी भए विवाह नगर्नू भनी उल्लेख छ : ‘एकनाडीविवाहश्च गुणैः सर्वैः समन्वितः । वर्जनीयः प्रयत्नेन दम्पत्योर्निधनं यतः ।।’ (नारद) यसरी निर्धारण हुने त्रिनाडी (आद्य, मध्य र अन्त्य) सर्वत्र वार्नुपर्ने जगन्मोहन नामक ग्रन्थमा बताइएको छ ।

एउटै नक्षत्रमा पाद भेद भए विवाह शुभ :
वर र बधू दुवैको राशि एउटै छ र नक्षत्र भिन्न-भिन्न छ भने अथवा दुबैको नक्षत्र एउटै छ र राशि अलग अलग छ भने नाडीदोष लाग्दैन । ‘राश्यैके चेद्भिन्नमृक्षं द्वयोः स्यान्नक्षत्रैक्ये राशियुग्मं तथैव ।
नाडीदोषो नो गणानां च दोषो नक्षत्रैक्ये पादभेदो शुभं स्यात् ।।’ (मुहूत्र्तचिन्तामणि, ६।३७) यदि नक्षत्र एउटै छ तर चरण फरक छन् भने पनि नाडी र गणदोष लाग्दैन । तर वर र वधू दुवैका एउटै नक्षत्रका एउटै चरण छन् भने विवाह गर्नु हुँदैन । वर र वधूको राशि एउटै र नक्षत्र पनि एउटै छ र नक्षत्रको चरण भिन्नै छ भने विवाह शुभ हुन्छ । जस्तै भरणीको पहिलो पाउ वरको र दोस्रो पाउ कन्याको छ भने विवाह शुभ फलदायी रहन्छ (पीयूषधारटीका, पृ. ३२६) ।

यसैगरी वसिष्ठले एउटै नक्षत्र भए पनि अंश भिन्न छ भने विवाह शुभ रहने बताएका छन् : ‘एकगृहसम्भवानां भवति विवाहः सुतार्थसम्पत्यै । यद्युभयोेकक्र्ष भवति तदा चांशको भिन्नः ।।’ (वसिष्ठ) रोहिणी, आद्र्रा, मघा, विशाखा, पुष्य, श्रवण, रेवती, उत्तराभाद्रपदा नक्षत्र एउटै छ भने शुभ रहन्छ । ‘रोहिण्याद्र्रामघेन्द्राग्नी पुष्यश्रवणपौष्णभम् । उत्तरा प्रोष्ठपाच्चैव नक्षत्रैक्येऽपि शोभनाः ।।’ (ज्योतिर्निबन्धमा विधिरत्नको मत) अर्थात् एउटै वर बधूको एउटै नक्षत्र हुँदाको दोष रहँदैन ।

नाडी दोषका उपाय वा परिहार :
नाडीदोषमा विवाहकर्म शास्त्रले निषेध नै गरेको छ । यदि अन्जानवश दोषयुक्त विवाह भएको खण्डमा भने शान्ति गर्नुपर्ने हुन्छ । जानाजान नाडीदोष भएको खण्डमा विवाह गर्नु हुँदैन । हात भाँचेर उपचार गर्नु भन्दा हात नभाँच्नतर्फ लाग्नु नै उत्तम हुन्छ । शान्तिको उपाय भनेको आइपरेको आपत्कालनी पििस्थतिलाई शान्त पार्न नै हो । जसरी भाँचिएको हात उपचार पछि पनि पहिलेको जस्तो बन्न सक्दैन त्यसैगरी शान्ति गर्नु भनेको शान्त पार्नुमात्र हो ।

दोषलाई नै निर्मूल पार्नु होइन । शान्ति गर्नु नै पर्ने अवस्था भएको खण्डमा मात्र यस्ता शान्तिका उपाय बताएका हुन् । नाडी दोष निवारणर्थ महामृत्युञ्जयको जप गर्नुपर्दछ । वर्णादि कूटको दोष भए सुनको दक्षिणा दिनुपर्छ । गाई दान, अन्न दान, सुन दान, वस्त्र दान गर्नाले नाडी लगायतका दोष निवारण हुन्छन् भनी पीयूषधारामा बृहस्पतिको मत यसरी बताइएको छ : ‘दोषानुपत्तये नाड्या मृत्युञ्जयजपादिकम् । विधाय ब्राहृमणाश्चैव तर्पयेत्काञ्चनादिना ।। हिरण्मयीं दक्षिणां च दद्याद्वर्णादिकूटके । गावोऽन्नं वसनं हेमं सर्वदोषापहारकम् ।।’ (गुरु) दोष दोष नै हो । यसैले सर्वप्रथम दोष हुन नै नदिनु उचित रहन्छ ।

नाडी व्यक्तिको सूक्ष्मपक्षको प्रतिनिधित्व गर्ने एकाइ पनि हो । यसैले शास्त्रमा विवाहका निम्ति नाडी मिलानलाई विशेष महत्व दिइएको छ । सबैको वैवाहिक जीवन सुखद् र मंलप्रद रहोस् भन्ने हेतुले नै शुभाशुभको विचार गरिएको हो ।

रोहिणी, आद्र्रा, मृगशिरा, ज्येष्ठा, कृत्तिका, पुष्य, श्रवण, रेवती, उत्तराभाद्रपदा नक्षत्र भएका वर कन्यालाई नाडीदोष रहँदैन भनी ज्योतिष चिन्तामणिमा उल्लेख गरिएको छ :
‘रोहिण्याद्र्रामृगेन्द्राग्निपुष्यश्रवणपौष्णभम् ।
अहिर्बुध्न्याक्र्षमेतेषां नाडी दोषो न विद्यते ।।’ (ज्योतिष चिन्तामणि) यसैगरी ब्राहृणलाई नाडी दोष विशेष रहन्छ । क्षत्रीयलाई वर्णदोष, वैश्यलाई गणदोष र शूद्रलाई योनिदोष हेर्नुपर्दछ भनेर पनि ज्योतिष चिन्तामणिमा बताइएको छ : ‘नाडीदोषस्तु विप्राणां वर्णदोषस्तु भूभुजाम् । गणदोषस्तु वैश्यानां शूद्राणां योनिदूषणम् ।।’ (ज्योतिष चिन्तामणि) कतै क्षत्रियका निम्ति गणदोषको विशेष विचार गरेको पनि पाइन्छ ।
मुहूत्र्त मात्र्तण्डमा १८ गुणभन्दा माथि भए विवाह गर्नु शुभ हुन्छ भनी बताएको पाइन्छ : ‘अहीन्दूध्र्वं गुणैक्यं शुभम्’ ग्रहस्थितिको विचार गरी कन्याको तुलनामा वरका ग्रह प्रवल भए दाम्पत्य जीवन सुखमय रहन्छ भन्ने मत पनि पाइन्छ । दोषका परिहार बताए पनि नारद, गर्ग, वराहादि ऋषि आचार्यले नाडीदोषलाई त्याग्नुपर्ने बताएका छन् । गुण अधिक आए पनि नाडी दोषयुक्त छ भने विवाहका लागि अनुपयुक्त रहने अधिकतर ऋषिको मत पाइन्छ ।

नाडी व्यक्तिको सूक्ष्मपक्षको प्रतिनिधित्व गर्ने एकाइ पनि हो । यसैले शास्त्रमा विवाहका निम्ति नाडी मिलानलाई विशेष महत्व दिइएको छ । सबैको वैवाहिक जीवन सुखद् र मंलप्रद रहोस् भन्ने हेतुले नै शुभाशुभको विचार गरिएको हो । जन्मसमय एवं नक्षत्रका आधारमा निर्धारण गरिने यस्ता विधानमा गूढतम रहस्य लुककेका छन् । शास्त्रीय मर्यादालाई अवलम्बन गर्नु सर्वकल्याणको मार्गमा लाग्नु हो । नाडीले व्यक्तिको आन्तरिक स्वभावको सूक्ष्म प्रतिनिधित्व गरेको हुन्छ । रगतका तीन वर्गजस्तै गुण धर्म एउटै हुने प्रकृतिका नक्षत्र एवं तद् नक्षत्रकालमा जन्मने व्यक्तिको नाडीजन्य विश्लेषण शास्त्रमा गरेको पाइन्छ । जानीजनी शान्तिका उपाय अवलम्बन गर्नु हुँदैन । विशेष परिस्थितिवश यस्तो दोष देखिएको खण्डमा भने शान्तिका उपाय हितकारी हुने गर्दछन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Vishnu Prasad Pokharel
Vishnu Prasad Pokharel
2024-02-04 10:31 am

ज्ञानबर्धक लेख।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?