लुम्बिनी केबुलकार आजबाट व्यवसायिक सञ्चालन हुँदै

Read Time = 6 mins

बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार आज(सोमबार) बाट व्यवसायिकरुपमा सञ्चालन हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार आज बिहान ८ बजेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आउने वताउनु भयो ।

केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नु भएको थियो ।

‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आउंछ’–अध्यक्ष ढकालले भन्नु भयो–‘जेठ २५ गते औपचारिकरुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ ।’

बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ बसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।

स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताउनु भयो ।

स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा लगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्याश गरेको तीन वर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धी भएको ढकालले बताउनु भयो ।

प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाका लागि छुट्टाएको र उक्त रकम दुबै पालिकाले ५० प्रतिशतका दरले बांडफांड गर्ने बताउनु भयो ।

केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको असरलाई भरथेक गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले वताउनु भयो । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले वताउनु भयो ।

बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयां धार्मिक र पर्यटकीय गन्तब्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताउनु भयो । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताउनु भयो ।

‘भविष्यमा दैनिक ५ हजार भारतीयलाई केबलकारमार्फत कामाख्यादेवीको मन्दिर दर्शन गराउने लक्ष्य छ’–ढकालले भने–‘त्यसो हुन सक्यो भने प्रदेश राजधानी सरेको क्षतिपुर्ति केबलकारले गर्छ ।’

नेपाल उद्योग वाणिजय महासंघको समेत अध्यक्ष रहेका ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारुरुपमा सञ्चालन गर्न भारतसंग हवाई रुटको अनुमति लिन महासंघले प्रधानमन्त्रीलाई दवाव दिएको वताउनु भयो ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताउनु भयो ।

टप स्टेशनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको साउदले बताउनु भयो ।

केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।

केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताउनु भयो ।

एक हजार दर कायम गरिएएको टिकट शुल्कमा विद्यार्थीलाई २५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ ।

उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?