सन्दीपबिनै दक्षिण अफ्रिका उड्यो नेपाली टोली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी विश्वकप छनोटका लागि अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राती दक्षिण अफ्रिका प्रस्थान गरेको हो । तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने भने टोलीसँग दक्षिण अफ्रिका जानुभएन ।

उहाँविरुद्धको जबरजस्ती करणीको मुद्दा फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रिका नजानुभएको हो । अदालतमा सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । नेपाली टोलीले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । त्यहीँबाट नेपाली टोली विश्वकप छनोटको आयोजनास्थल जिम्बाबे प्रस्थान गर्नेछ ।

जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो हुनुहुन्छ ।

विश्वकप छनोटको समूह ‘ए’ मा नेपाल छ । उक्त समूहमा नेपालसँगै वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’ मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।
सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रही विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् ।

नेपालले विश्वकप छनोटमा पहिलोपल्ट दुईपटकको एकदिवसीय विश्वकप च्याम्पियन वेस्ट इण्डिजसँग समेत खेल्न लागेको हो । यसअघि नेपालले टी-ट्वान्टी तथा एकदिवसीय फम्र्याटमा वेस्ट इण्डिजसँग खेलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?