डोटी । खप्तड-शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले जित्नुभएको छ । सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड-शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जित्नुभयो ।
खप्तडको तीन हजार ३०० फिट उचाइबाट सुरु म्याराथनको निर्धारित साढे ४२ किलोमिटरको दूरी च्याम्पियन हुनुभएका खड्काले दुई घण्टा ३७ मिनेट ४६ सेकेण्डमा पार गर्नुभयो । पदमार्गमा भएको म्याराथनमा पहिलोपल्ट सहभागी जाजरकोटका खड्काले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । विभिन्न म्याराथनमा सहभागी भए पनि उकालीओरालीमा भएको पदमार्गमा पहिलो सहभागितामै च्याम्पियन हुँदा थप आत्मबल बढेको खड्काले बताउनुभयो ।
त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिहं रावत दोस्रो हुनुभयो । दुई घण्टा ३९ मिनेट ३४ सेकेण्डबाट निर्धारित दूरी पूरा गर्नुभएका नरेन्द्रले ८० हजार पुरस्कार जित्नुभयो । बैतडीका रावत विभिन्न म्याराथनका स्वर्ण विजेता खेलाडी हुनुहुन्थ्यो । उहाँले उकालोमा प्रतिस्पर्धीलाई पछाडि पारेको भए पनि ओरालोमा भने खडकभन्दा पछि पर्नुभएको थियो ।
तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका वीरेन्द्र पाण्डेय हुनुभयो । उहाँले दुई घण्टा ४२ मिनेट ४४ सेकेण्डमा दूरी पार गर्नुभयो । उहाँले ५० हजार पुरस्कार पाउनुभयो । वीरेन्द्रले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गर्नु नै आफ्ना लागि ठूलो उपलब्धि भएको बताउनुभयो । म्याराथनमा सहभागी हुन थालेको पाँच महिनामै कठिन बाटोमा दौडेर उहाँले तेस्रो स्थान सुनिश्चित गर्नुभएको थियो ।
खप्तड-शैलेश्वरी म्याराथनमा विदेशीसहित ४८ धावकले प्रतिस्पर्धा गरेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य झलक शाहले बताउनुभयो । खप्तडको प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि थालनी गरिएको म्याराथनको दोस्रो संस्करणमा खेलकुद परिषद्ले पनि सहकार्य गरेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य चित्रराज भट्टले जानकारी दिनुभयो । उहाँले आगामी वर्षमा पनि परिषद्ले सहकार्य गर्ने बताउनुभयो । गत वर्ष पनि खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारेर म्याराथन गरिएको थियो ।
यस्तै, महिला हाफ म्याराथनमा भने आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजयी हुनुभयो । उहाँले एक घण्टा १४ मिनेट १८ सेकेण्डमा निर्धारित २१.५ किलोमिटर दूरी पार गर्दै ५० हजार रुपैयाँ उपाधि जित्नुभयो । पुलिस क्लबकी रेखा विष्ट एक घण्टा २२ मिनेट १० सेकेण्डबाट दोस्रो हुनुभयो । डोटीकी रेखाले ३० हजार प्राप्त गर्नुभयो । तेस्रो स्थानमा भैरवप्रसाद गणकी सुन्तली कडायत विजयी हुनुभयो । अछामकी उहाँले एक घण्टा २६ मिनेट आठ सेकेण्डमा दूरी पूरा गर्नुभयो । उहाँले २० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
विजयी खेलाडीहरूलाई एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ । पाँच नम्बर वाहिनीका बाहिनीपति विजय थापा, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दिपक सिंहलगायतले विजयीलाई पुरस्कार वितरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच