हेर्नुहोस् आज दिनभरका १२ मुख्य समाचार

Read Time = 35 mins

१.कामको प्रचारबाजी गर्ने पक्षमा म छैनः मन्त्री बस्नेत

कामठाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई अस्पतालमा विपन्नहरुलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरेपनि भेट भइसकेपछि भने चेतावनीको रुपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताउनु भयो । उहाँले मेयर साहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र सोही अनुसार आफूले प्रमाणित गरेको बताउनु भयो ।
मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तिजन्य पदार्थमा कर नबाढएको बताउनु भयो ।

२. शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनको चासो

शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताउनु भयो । पूर्वसभामुख सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताउनु भयो ।

उहाँले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो उहाँले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताउनु भयो ।
उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताउनु भयो ।

३. राष्ट्रिय रग्बी सेभेन्स शनिवारबाट

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

राधानीमा शुक्रवार आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलन गरेर शनिवार र आईतवार हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लवको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस र नेपाल एपीएफ क्लवले सहभागी हुनेछन् । तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लव सहभागी हुने छैनन् ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा संचालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।

४. नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन

राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । रोल...

शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा बिरोध भइरहेके छ । यसकै बिरोधमा आज माईतीघरमा राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा बिरोध प्रर्दशन गरेको छ । उनीहरुले माईतीघरमा ढ्यांग्रो ठटाएर बिरोध जनाएका छन् ।

५. खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण मिलाउन खेलकुदमन्त्रीको निर्देशन

चीनको होङझावमा आयोजना हुने १९ औं एशियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्मा शुक्रवार सचिवालय स्थापना गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो । सचिवालयको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्नुभयो । उद्घाटन कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।

सचिवालयको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले एशियन गेम्समा खेलाडीलाई परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभयो । नतिजा निकाल्न एकजुट भएर काम गर्न भन्दै मन्त्री लिम्बूले स्वार्थभन्दा माथि उठेर काम गर्न र खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण प्रवन्ध गर्न निर्देशन दिनुभयो ।

यस्तै सदस्य–सचिव घिसिङले एशियन गेम्सको तयारीलाई चुस्त बनाउने सचिवालय स्थापना गरिएको र सहभागितालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो । आर्थिक वर्षको बजेटमा सरकारले उल्लेख गरेको र अब विशेष प्रशिक्षणको तयारी भइरहेको समेत जानकारी दिनुभयो । सदस्यसचिव घिसिङले साउन १ देखि भदै १ सम्म खेलाडीको क्लोज क्याम्प राख्ने बताउनु भयो ।

सदस्यसचिव घिसिङले एशियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने बताउनु भयो । ओलम्पिक कमिटिमार्फत आयोजकलाई २९ खेलको नाम र खेलाडीको एक्रिडिएसन कार्डका लागि चीनमा पठाईसकेको जानकारी दिनुभयो । राखेपले यसअघि २३ खेललाई एशियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । तर सम्भावना बोकेका र अन्तर्राष्ट्रिय नतिजा र प्रदर्शनका आधारमा ६ खेललाई अन्तिम समयमा थप गरेको छ ।

६. ए डिभिजनः लिग समिकरण रोमाञ्चक होडमा

शहीद स्मारक ए डिभिजन लिगमा २३ औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुङ्गो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने भन्नेमा सबै क्लवलाई चिन्ता छ ।

२३ औं चरणसम्म लिग सकिएपनि तीन चरणका खेल बाँकी रहँदा कुनैपनि टोलीको उपाधि र रेलिगेशन टार्ने सम्भावना यकिन छैन । बाँकी तीन चरणमा कसले कसको बिरुद्ध खेल्ने हो, त्यो निश्चित भएपनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समिकरण प्रतिष्पर्धात्मक बनेको छ ।

यसै सिजन बढुवा भएको चर्च ब्वाईजले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भव गरेसँगै २३ औं चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अंक बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाईजले ११ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी र ४ खेल गुमाउन पुगेको छ । चर्च ब्वाईजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अंकले मात्र पछि रहेको मच्छिन्द्रले २३ औं चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा ९ खेलमा बराबरी र ४ खेलमा नतिजा सुम्पिएको छ । यस्तै दोस्रो स्थानको मच्छिन्द्र भन्दा दुई अंकले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षा भन्दा धेरै राम्रो प्रदर्शन गर्नसक्यो । बलियो टोलीबिरुद्ध सुखद् नतिजा निकाल्दा तालिकाको पुछार तिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सन लायक प्रदर्शन रह्यो । जावालखेलले १० खेलमा जित निकाल्दा ७ खेलमा बराबरी र ६ खेलमा नतिजा गुमाएको छ ।

यस्तै विभागीय टोली नेपालको पहिलो लेगमा खराब प्रदर्शन रहेपनि अन्त्यतिर पुलिसको प्रदर्शन सुधारिएको थियो । गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो तर अहिले भने पुलिसलाई रेलिगेशन डर कम भएको छ । पुलिस पछिल्ला चारमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा ४ खेलमा बराबरी र ९ खेलबाट अंक गुमाएको छ । यस्तै शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्ला पाँच खेलमध्ये ३ खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरेपनि खेलमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सिजन जारी रहँदा खराब लय रहँदा प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएसँगै र नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो ।

अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि २३ औं चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवि खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मीले छैठौं स्थानमा अटाएको छ । आर्मीले २३ खेलबाट ७ जित निकाल्दा १० खेल बराबरी र ६ खेलमा नतिजा विपक्षी टोलीलाई सुम्पिएको छ । आर्मीको ३० अंक हुँदा शीर्ष स्थानको चर्च ब्वाईजभन्दा ११ अंकले पछि छ र आर्मीको उपाधि अपेक्षा समाप्त भइसकेको छ । अर्को टोली हिमालयन शेर्पाको पनि प्रदर्शन पहिलो लेगमा जस्तो दोस्रो लेगमा भएन । बलिया टोलीसँग सुखद् नतिजा निकाले पनि आपूm भन्दा तल रहेका टोलीसँग खुलेर खेल्न सकेन । हिमालयन शेर्पाले २३ खेल सक्दा ७ खेलमा स्पष्ट अंक बटुल्दा ९ खेलमा बराबरी र ७ खेल गुमाउन पुगेको छ । उता सातदोबाटो एकै चरण मात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । त्यसपछिको डाउन फल भएको सातदोबाटाको प्रदर्शन राम्रो हुन सकेन । पछिल्ला पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्ष स्थानको होड कमजोर बन्यो । सातदोबाटो २९ अंकका साथ आठौं स्थानमा रहँदा जारी लिगमा ८ खेलमा जित, ५ खेल बराबरी र १० खेल गुमाउन पुगेको छ । समान २९ अंक रहेको न्युरोड टिम पनि २३ औं चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला पाँच खेलमा दुई जित दुई बराबरी र एक खेल गुमाएको न्युरोड टिमको रेलिगेशन भय बाँकी नै छ । पुछारको खुमलटारले २४ अंक जोडेको छ । तीन खेल मध्ये सबैमा सुखद् नतिजा निकाले खुमलटारको समिकरणबाट बदलिनेछ र छैठौं स्थान देखिको टोलीलाई उत्तिकै डर रहेको छ ।

यस्तै अर्को विभागीय टोली एपिएफले शुरुवात राम्रो गरेपनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो । यद्यपि एपिएफलाई रेलिगेशन बच्ने निश्चिता छैन । खराब लयलाई अनुभवि प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् ।

थ्री स्टारका साख कमजोर बन्दै गएको छ । पछिल्ला पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ । थ्री स्टार २७ अंकका साथ तालिकाको ११ औं स्थानमा छ । अर्को टोली संकटालाई पनि यो सिजन रेलिगेशन बच्ने सोच भन्दा माथि उठ्नका लागि मौका नै मिलेन । १२औं स्थानमा रहँदा संकटा रेलिगेशन भन्दा एक स्थानमाथि मात्र छ । ६ खेलमा मात्र स्पष्ट जित निकालेको संकटाले ९ खेलमा बराबरी खेल्दा ८ खेलमा नतिजा सुम्पिएको छ । पुछारमा रहेका फ्रेण्ड्स र खुमलटार भने रेलिगेशन बच्नका लागि संघर्ष गरिरहनुपर्ने भएको छ ।

७. विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ ।

शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भएपनि सो प्रावधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले अनुगमनका क्रममा अस्पतालहरुसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गर्नुभयो । मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन पनि दिनुभयो । उहाँले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरुलाई सरकारले सोही अनुरुप हेर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले अस्पतालमा शैय्या उपलब्ध छ, छैन भन्नेपनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदहरुले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताउनु भयो ।

उहाँले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरुलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिनुभएको थियो । उहाँले अस्पताल अनुगमनको काम जारी राख्ने बताउनु भयो ।

८. ज्येष्ठ नागरिक ग्राम निर्माणमा आर्थिक अनियमितता गरेको छैनः अध्यक्ष पराजुली

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पार्नुभएको हो । बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्व रहेको संस्थाले जेष्ठ नागरिक ग्राम बनाउन सरकारबाट पैसा लिएर पनि भवन बन्न नसकेको कुरा उठाएसँगै उहाँले सो कुराको स्पष्टोक्ति दिनुभएको हो ।

उहाँले ज्येष्ठ नागरिक ग्राम बनाउन नेपाल सरकारबाट ६ करोड १ लाख रुपैयाँ लिएर काम गरेको भएपनि काम गर्दागर्दै २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेका कारण भवन सम्पन्न गर्न नसकेको बताउनु भयो । उहाँले क्षतिग्रस्त भवनको भवन विभागबाट गएको इन्जिनियर टोलीले अनुगमन गरेको र भवन निर्माण कार्यलाई निरन्तरता दिन नमिल्ने प्रतिवेदन दिएका कारण भवन बनाउन नसकेको बताउनु भयो । भत्काउनका लागि पनि एक करोड रुपैयाँ भन्दा बढी पैसा लाग्ने भएपछि त्यत्तिकै बसिराखेको सो भवन संखरापुर नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पराजुलीले अदालतबाट समेत सो विषयको मुद्दामा फैसला भइसकेको भन्दै कसैलाई चित्त नबुझे पुनरावेदन वा सर्वोच्च अदालत जानसक्ने पनि बताउनु भयो । रकम हिनामिनामा आफ्नो संलग्नता देखिएमा सजायको भागिदार हुन तयार रहेको उहाँको भनाई छ ।

९. भारतीय दुताबास अगाडि राप्रपाका युवा–विद्यार्थीहरुको विरोध प्रर्दशन

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो । नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्र्नु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिनु भयो । उहाँले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिनु भयो ।

विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

१०. गगनकुमार थापा, प्रेस युनियनको कार्यक्रममा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ । रोल...

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिबिरुद्ध संघर्ष गर्ने बताउनुभएको हो । प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताउनु भयो । उहाँले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अव त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उहाँको भनाई थियो ।

महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गर्नुभयो ।

११. कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो

कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ ।

पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु बढ्न थालेका हुन् । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटक बनाउनेहरुका कारण जोखिम बढाएको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भएपनि आवश्यक शतर्कता अपनाउन नसक्दा समस्या भएको हो । कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरुको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरु बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरुले भरिने बताए ।

पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ । २०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले उद्घाटन गर्नुभएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बार ५०० मिटर र १० मिटर चौडाई रहेको छ । पछिल्लो समय कर्णाली नदीमा ¥याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दो छ ।

१२. एमालेले भन्योः नागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान, देशभर बिरोध हुन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरु तोकेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रुपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रुपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रुपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रुपमा गोकर्ण बिष्ट, मधेस प्रदेश इन्चार्जको रुपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जको रुपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो । त्यस्तै बैठकले पार्टीको केन्द्रिय संगठन विभागको प्रमुखको रुपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ भने प्रचार तथा प्रकाशन विभागको संयोजकको रुपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनु भयो ।

त्यस्तै बैठकले जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बैठकले नागरिकता विधेयक मन्त्रीपरिषद्बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित संसदीय मान्यताको विपरित भएको ठहर गरेको छ । उपमहासचिव ज्ञवालीले अघिल्लो संसदले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको सवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निस्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा निर्वाचन भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा अहिले प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रीपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने, र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको अपमान भएको बताउनु भयो । उहाँले सरकारको यस कदमले संसदको विशेषाधिकारको हनन भएको र पार्टीले असंवैधानिक कदमको देशभर बिरोध गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको विदेश भ्रमणको केही घण्टाअघि मात्रै संविधानको विधि,प्रक्रिया विपरित गरिएको प्रमाणीकरणले सरकार र राष्ट्रपति कार्यालयले नागरिकताको विषय नेपालको आन्तरिक मामिला नभइ वाह्य चासोको विषय हो भन्ने नजिर स्थापित गरेको बताउनु भयो ।

उठाएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठसमेत नआउँदै सत्ता स्वार्थका लागि चालिएको कदमले विधिको शासनलाई चुनौति दिएको बताउनु भयो । उहाँले यस कार्यले दण्डहीनतालाई संस्थागत गर्ने, कर्तव्यपालनाका सिलसिलामा खटिएका सुरक्षाकर्मीको मनोबल गिराएको महशुस पार्टीले गरेको पनि बताउनु भयो । यस घटनाले सरकारले सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको बताउनु भयो ।

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव श्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र संगठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकिएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?