लाभकर विवाद अन्त्यसँगै सेयर बजारमा सुधार

Read Time = 5 mins

काठमाडौं । सेयरमा पुँजीगत लाभकरको विवाद समाधानसँगै सेयर सेयर बजार उच्च अंकले बढेको छ । आइतबार अर्थ मन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको पाँच प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से आइतबार ५३.०३ अंक बढेर १९१९.३७ अंकमा पुगेको हो । त्यसैगरी ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ९.४९ अंक बढेर ३६५.१० अंकमा पुगेको छ ।

यस दिन दुई सय ७० कम्पनीमध्ये दुई सय ४४ वटाको सेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ । नौ वटाको स्थिर रहेको छ । ४५ लाख ५७ हजार एक सय ६९ कित्ता सेयर एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त ९.८७, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई मूल्य ९.८०, सोल्टी होटल ९.६२, तारागाउँ रिजेन्सी होटल ९.६२ र महुली लघुवित्तको सेयर मूल्य ९.१०, ओरियन्टल होटल, मेरो माइक्रोफाइनान्सको आठ प्रतिशतभन्दा बढीले बढेको छ ।

तर, आइसिएफसी डिबेञ्चर २०८३ सर्वाधिक १.९७ प्रतिशतले घटेको छ भने लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य १.९३, बिओके डिबेञ्चर २०८६ को मूल्य १.९१, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८६ को मूल्य १.४२ र एनआइबिएल समृद्धि फण्ड २ को इकाई मूल्य १.२१ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सेयर मूल्य ६.३१ प्रतिशत बढेर १५ करोड ८१ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको आठ करोड १३ लाख, चिलिमे जलविद्युत् छ करोड ५५ लाख, एनआइसी एसिया बैंक छ करोड २१ लाख र सानिमा माई हाइड्रोपावरको चार करोड ४० लाखको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहको सूचक बढेकोमा होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ । निर्जीवन बीमा ४.५४, जलविद्युत् ३.९३, व्यापार ३.८४, जीवन बीमा ३.६३, विकास बैंक ३.४७, वित्त ३.४४, उत्पादन तथा प्रशोधनमूलक ३.३० र अन्य ३.२० प्रतिशतले बढेको छ । आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण २८ खर्ब दुई अर्ब सात लाख रुपैयाँ कायम भएको छ ।

अर्थ मन्त्रालयसँगको छलफलपछि सेयर लगानीकर्ताको आन्दोलन स्थगित भएको छ । शुक्रबारदेखि आन्दोलनमा रहेका सेयर लगानीकर्ता आइतबार विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएर अर्थ मन्त्रालय पुगेका थिए । मन्त्रालयले पुरानै व्यवस्था लागू हुने स्पष्ट पारेपछि सेयर लगानीकर्ताले आन्दोलन स्थगित गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमार्फत् धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने भएपछि लगानीकर्ता आन्दोलित बनेका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताका हकमा ७.५ प्रतिशतसम्म पुँजीगत लाभकरमात्र तिर्दै आएका छन् ।

व्यक्तिगत लगानीकर्तामा पनि अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले पाँच प्रतिशत पुँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?