नागरिकता ऐन संशोधन विधेयकमा देखिएका मुख्य विवाद

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नागरिकता ऐन संशोधन विधेयकमा मुख्यतः दुईवटा व्यवस्थालाई लिएर विवाद सृजना भएको छ ।

पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउने विषय विवादित बनेको छ । विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक)हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ ।

२०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो ।

नेपालमा झण्डै एक लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर, कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् । लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसद्बाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवनसमेत प्रभावित भएको छ ।

विधेयक पास भए उनीहरूले नागरिकता प्राप्त गर्नेछन् । नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूको समस्या समाधान हुनेछ । तर, जन्मसिद्ध नागरिकता दिँदा कतै गलत व्यक्तिले नागरिकता पाउने त होइनन् भन्ने प्रश्न अहिले बल्झिएको छ ।

दोस्रो, आमाको नामबाट मात्र पनि नागरिकता पाइनेछ । यद्यपि, यसरी नागरिकता पाउन चारवटा सर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउनेछ ।

बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ । यसले लैंगिक विभेद सृजना गरेको महिला अधिकारकर्मीहरूको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?