१८ वर्षपछि रेलिगेसनमा पर्‍यो एपिएफ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘ए’ डिभिजन लिगमा बढुवा भएको १८ वर्षपछि नेपाल एपिएफ फुटबल क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ । थ्रीस्टार क्लबले शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेसँगै एपिएफ रेलिगेसनमा परेको हो ।

थ्रीस्टारले लिगको अन्तिम खेलमा शनिबार जावलाखेलमाथि जित निकाल्नै पर्ने अवस्था थियो । उक्त खेलमा पराजित भए थ्रीस्टार ‘बी’ डिभिजनमा पुग्ने समीकरणका बीच टोलीले जावलाखेललाई १-० ले पराजित गरेको हो । जितसँगै थ्रीस्टार ‘बी’ डिभिजनमा झर्नबाट रोकियो ।

थ्रीस्टारका लागि कप्तान विक्रम लामाले करिअरको अन्तिम खेलमा विजयी गोल गर्नुभयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातदेखि थ्रीस्टारले खेलमा पकड बनाएको थियो । ३५औँ मिनेटमा अजायी मार्टिन्सको पेनाल्टी बक्सभित्रको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिष देउलाले पञ्च गर्दै जोगाउनुभयो । ५०औँ मिनेटमा अशोक खवासको फ्रिकिकमा योगेश गुरुङको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा थ्रीस्टारले अग्रता लिन सकेन ।

७१औँ मिनेटमा दिपेश गुरुङको क्रसमा सुनिल तामाङको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ८३औँ मिनेटमा विक्रम तामाङले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई १-० को अग्रता दिलाउनुभयो । पेनाल्टी बक्समा प्रमिन श्रेष्ठले कप्तान विक्रम लामालाई फउल गरेपछि पाएको पेनाल्टीमा थ्रीस्टारका लागि विक्रमले निर्णायक गोल गर्नुभयो ।

यस जितसँगै थ्रीस्टारले २६ खेलबाट ३२ अंक जोडेर नवौँ स्थानमा लिगको अन्त्य गरेको छ । पराजित भएको जावलाखेलले २६ खेलबाट ३७ अंक जोडेर चौथो स्थानमा लिगको अन्त्य गरेको छ ।

यसअघि शुक्रबार भएको खेलमा पराजित हुँदै खुमलटार युवा क्लब पनि रेलिगेसनमा परिसकेको छ । अन्तिम खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग हार बेहोरेसँगै खुमलटार रेलिगेसनमा परेको हो । ‘ए’ डिभिजनमा उक्लिएको पहिलो सिजनमै खुमलटार रेलिगनमा पर्दै ‘बी’ डिभिजनमा झरेको हो । यता, अर्को नवप्रवेशी क्लब चर्च ब्वाइज भने शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?