सिटीलाई च्याम्पियन्स लिगको उपाधि

Read Time = 3 mins

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राती भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई एक-शून्यले पराजित गर्दै सिटी युरोपको च्याम्पियन बनेको हो । सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्दै इतिहास रचेको हो ।

च्याम्पियन्स लिगको उपाधिसँगै सिटीले यो सिजन तीनवटा उपाधि जितेको छ । सिटीले यसअघि इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधिसमेत जितिसकेको छ । सिटीले आर्सनलबाट पाँच अंकले पछि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो । एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा भएको फाइनलमा सिटीका लागि रोड्रीले निर्णायक गोल गर्नुभयो ।

उहाँले खेलको ६८औँ मिनेटमा गोल गर्नुभयो । बर्नाडो सिल्भाको कटब्याकमा अनमार्क रहनुभएका रोड्रीले गरेको प्रहार गोलमा परिणत भएको थियो । यता, सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग दुई–शून्यले पराजित भएपछि दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने सपना बोकेको इन्टरको सपना पूरा हुन सकेन । सिटी सन् २०२१ मा चेल्सीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

सिटीको उपाधिसँगै प्रशिक्षक पेप गुआर्डीओलाले पनि आफूलाई विश्वकै सर्वाधिक सफलमध्येको एक प्रशिक्षकका रूपमा स्थापित गर्नुभयो । उहाँले यसअघि बार्सिलोनाबाट दुईपल्ट च्याम्पियन्स लिगको उपाधि जितिसक्नुभएको थियो ।
यस्तै, सिटीका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले एकै सिजन चार उपाधि जित्ने कीर्तिमान बनाउनुभयो । २३ वर्षीय अल्भारेज (युरोपियन कप (च्याम्पियन्स लिग), एफए कप, प्रिमियर लिग र विश्वकप) को ट्रेबल उपाधि जित्ने पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?