सुनुवाइ समितिमा उजुरीकर्ता न्यायाधीशको आलोचना

प्रधानन्यायाधीश नियुक्तिको टुंगो जेठ ३२ मा

यज्ञराज पाण्डे
Read Time = 11 mins

काठमाडौं । संसदीय सुनवाइ समितिमा उजुरीकर्ता न्यायाधीशको आलोचना भएको छ । सोमबार बिहान ११ बजे बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उजुरी हालेर मिडियाबाजी गर्दै हिँडेको भन्दै उजुरीकर्ता न्यायाधीश श्रीकृष्ण भट्टराईको आलोचना भएको हो ।
सोमबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएको थियो । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँलाई प्रधानन्यायाधीशको नियुक्तिका लागि सुनुवाइ गर्न सोमबारबाट प्राप्त उजुरीमाथि अध्ययन र छलफलको प्रक्रियालाई अगाडि बढाएको छ । यस सन्दर्भमा सांसद्हरूले विभिन्न मतसमेत व्यक्त गरेका छन् ।

मिडियाबाजी गर्न उजुरी हालियो : बर्तौला
नेकपा एमालेका सचेतक सांसद महेश बर्तौलाले न्यायाधीश भट्टराईको नाम नलिई मिडियाबाजी गर्न उजुरी हाल्ने र उजुरी हालेर मिडियाबाजी गरेको भन्दै आलोचना गर्नुभएको हो । सांसद बर्तौलाले भन्नुभयो, ‘उजुरी दर्ता हुनुभन्दा पहिले नै मिडियालाई उजुरी दिएर प्रचारबाजी गर्नेलाई निरुत्साहित गर्ने काम गरौँ । कैयन् दिनदेखि टिभीहरूमा अन्तर्वार्ता दिँदै हिँडेको पनि देखिएकै छ, यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

त्यसैगरी सांसदहरूले उजुरी हाल्न आउने पेसेवर उजुरीकर्ताको विषयमा पनि टिप्पणी गर्नुभएको छ । एमाले सांसद महेश बर्तौलाले भन्नुभयो, ‘एउटै मानिस राजदूत नियुक्तिमा पनि उजुरी लिएर आउँछ, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि उजुरी ल्याउँछ र संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछ । त्यो केवल पब्लिसिटी स्टण्टका लागि मात्रै हो । त्यसलाई पनि नियन्त्रण गर्नुपर्छ ।’
त्यस्तै, सांसद बर्तौलाले उजुरीकर्ताहरूले आफूले दिएको उजुरी ठीक छ भन्नका लागि म्यासेज क्याम्पेनिङ गर्ने र समितिका सदस्यहरूलाई भेट्ने लगायतका काम गरिरहेका छन्, त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

चर्चामा आउन उजुरी दिने र मानहानि गर्नेको लर्काे छ : गिरी
त्यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक सांसद पदम गिरीले पनि चर्चामा आउन उजुरी हाल्नेको विषयमा समिति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चर्चामा आउन उजुरी दिने र मानहानि गर्नेको लर्काे छ, त्यो विषयमा ख्याल गर्नुपर्छ । प्रधानन्यायाधीशको विषयमा आएका बेनामे उजुरीमा दम छ जस्तो लाग्दैन, त्यस्तालाई छलफलमा ल्याउनु पनि पर्दैन ।’ उहाँले उजुरीकर्तासँगको छलफल एकदिनमै सकाउनु ठिक हुने बताउनुभयो ।

उजुरीका लागि मात्रै उजुरी गर्ने प्रवृत्ति बढ्यो : कार्की
कांग्रेस सांसद डा. ज्ञानेन्द्र कार्कीले उजुरीका लागि मात्र उजुरी गर्ने विकृति बढेको भन्दै सबै उजुरीलाई छलफलमा ल्याउन आवश्यक नभएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशको पद लामो समय खाली भएको भन्दै उजुरीकर्तासँग छलफल गर्न प्रस्ताव गरिएको दुई दिनको समय धेरै भएको भन्दै त्यसलाई एक दिनमा झार्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीश लागि धेरै समय उजुरीमै अलमलियौँ । उजुरीकर्तासँगको छलफल एकैदिनमा सकाऔँ ।’

पहिले नै खुइल्याएर राम्रो गर्नुस् भन्न ठिक हुँदैन : रायमाझी
नेपाली कांग्रेस सांसद रमेशजंग रायमाझीले पहिले खुइल्याएर ‘ल राम्रो गर्नुहोस्’ भन्नु ठिक नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई पनि लबिङ आएको थियो, उजुरीकर्ताबाट । त्यस्ता कुराहरूलाई इन्टरटेन गर्नुहुन्न । पटकपटक एउटै मान्छेको उजुरी आयो भने त्यस्तालाई प्राथमिकता दिनुहुँदैन । सुनुवाइको सबै काम जेठ महिनाभित्रै सकौँ । दुई दिनका लागि भनेर छुट्याइएको छलफल एकैदिनमा सकौँ । अर्काे एकदिन प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गरौँ ।’

एक-एक गरी छलफलमा नबोलाए बहिष्कार गर्छाैँ भनेर उजुरीकर्ताको धम्की आएको छ : घर्ती
त्यस्तै, नेकपा एमालेका सांसद ईश्वरी घर्तीले आफूलाई एक उजुरीकर्ताले फोन गरेर एक–एक गरी छलफलमा नबोलाए हामी बहिष्कार गर्छाैँ भनेर धम्की दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२९ जना उजुरीकर्ताहरू एकैपटक आउने छलफल भएको छ भन्दै थिए र प्रस्तावित प्रधानन्यायाधीशलाई पनि सँगै राखेर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् । यस्तो त कसरी सम्भव होला र ?’

उजुरीकर्तासँगको छलफलमा मिडियालाई प्रवेश नदिने प्रस्ताव
त्यसो त संसदीय सुनुवाइ समितिमा ज्येष्ठ सदस्यका हैसियतले पशुपति शमशेर जबरा (राणा) सभापति हुनुहुन्छ । सोमबार बिहान ११ बजेपछि समितिका सचिव पदमप्रसाद पाण्डेयले समितिमा प्राप्त भएको २९ थान उजुरी खोलेपछि त्यसको फोटोकपी समितिका सदस्यहरूलाई बाँडिएको थियो । त्यही समयमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई वितरण गरिएको थियो ।

त्यसपछि संसदीय सुनुवाइ समितिको बैठकको कार्याविधिका सम्बन्धमा छलफल भएको थियो । सचिव पदमप्रसाद पाण्डेयले उजुरीकर्तासँग छलफलका लागि जेठ ३० र ३१ गतेको समय छुट्याए र असार १ गते बिहान ८ बजेर प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिमा बोलाएर उजुरीमाथि स्पष्ट पार्न समय दिने तथा कार्ययोजनाका सम्बन्धमा स्पष्ट पार्न समय दिने र सोही दिन निर्णय गर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

समितिका सचिवबाट प्रस्ताव पेस भएसँगै सदस्यहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । संसदीय सुनुवाइ समितिमा रहेका सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेपछि समितिका सचिव पदमप्रसाद पाण्डेयले कार्यसूचीमा केही फेरबदल गरी उजुरीकर्तालाई दिने समय र छलफलको मितिबारे संशोधित कार्यसूची प्रस्ताव गर्नुभएको थियो ।

समितिको बैठकमा सचिव पाण्डेयले उजुरीकर्ताले आफूलाई पनि फोन गरेको र सामूहिक छलफलमा बस्न पाउनुपर्ने धारणा राखेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई पनि उजुरीकर्ताले फोन गर्नुभयो । अनि आफूहरू २९ जनालाई नै एकैपटक छलफलमा बोलाउनुप¥यो भनेर प्रस्ताव गर्नुभएको कुरा सुनाए । मैले किन त्यसो गर्नुपर्ने भन्दा हामीले यही निर्णय गरिसक्यौँ भनेर भन्नुभयो । मैले कार्यविधिअनुसार हुन्छ भनेँ ।’

समितिका सदस्यहरूले उठाएका पेसेवर उजुरीकर्ताको सम्बन्धमा थप स्पष्ट पार्दै सचिव पाण्डेले आफूलाई पनि कोही पेसेवर उजुरीकर्ता भएको जस्तो लागेको सुनाउनुभयो । पाण्डेयले भन्नुभयो, ‘मलाई आएको जानकारीअनुसार एकजना उजुरीकर्ता पटक–पटक उजुरी लिएर आउनुभएको भन्ने सुनेको छु । हामीलाई पनि एक जना व्यक्ति पेसेवर उजुरीकर्ता हुनुहुन्छ भन्ने लागेको छ । उहाँले हरेकजस्तो नियुक्तिमा उजुरी गर्नु भएको छ ।’ समितिका सदस्यहरूले उजुरीकर्तालाई धेरै समय दिएको बताएपछि सचिव पाण्डेयले जेठ ३० गते मंगलबार सांसदहरूले उजुरीमाथि अध्ययन गर्ने र जेठ ३१ गते उजुरीकर्तासँग छलफल गर्ने तथा जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गरी निर्णय लिने प्रस्ताव गर्नुभयो ।

साथसाथै कतिपय उजुरी गोप्य पनि आएको भन्दै उजुरीकर्तासँगको छलफलमा मिडियालाई प्रवेश नदिने प्रस्ताव राख्नुभयो । सोही प्रस्तावमाथि सभापति पशुपति शमशेर जबराले केही धारणा छ कि भनेर सदस्यहरूलाई सोध्नुभयो । सदस्यहरूले ठिक छ भनेपछि उक्त प्रस्तावलाई पास गर्दै संसदीय सुनुवाइ समितिको कार्याविधि, २०८० को दफा १५ पारित भएको घोषणा गरिएको थियो । २०८० जेठ ३१ गते बिहान ११ बजे अर्को बैठक बस्नेगरी सोमबारको बैठक समाप्त भएको घोषणा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?