हरिकृष्णको दावी- तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा सर्वोच्च गएँ

६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको भनाइ

यज्ञराज पाण्डे
Read Time = 3 mins

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा सुरुमा आफूलाई जान मन नभएको बताउनुभएको छ ।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिमा उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उहाँले बताउनुभयो ।

‘इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ,’ कार्कीले भन्नुभयो ।

यसैबीच, कार्कीले २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गर्नुभएको छ ।

आज जारी संसदीय सुनुवाइ समितिको बैठकमा उहाँले २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गर्नुभएको छ । सो क्रममा उहाँले २०६२ देखि ०६९ सम्मका मुद्दा अहिले निमिट्यान्न पार्न लागिपरेको बताउनुभएको हो ।

‘न्यायाधीश अभावको कारण सर्वोच्चको पाँच वर्ष पुरानो र जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ । हाम्रो लक्ष्य २०८० असार मसान्तसम्म नील गर्ने थियो,’ उहाँले भन्नुभयो, ‘अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ । अहिले २०६२ देखि ०६९ सम्मको मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ ।’

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको थियो ।

लामो समयदेखि कार्यावाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो । उनीविरुद्ध २९ वटा उजुरी परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?