आठ दलीय गठबन्धनले गर्‍यो सातै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण

गठबन्धन भत्काउने दुष्प्रयास नगर्न कांग्रेसको चेतावनी

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनले शुक्रबार सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण गरेको छ । नेपाली कांग्रेसले आयोजना गरेको अभिमुखीकरणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश सांसदहरू सहभागी भएका हुन् ।

अभिमुखीकरण कार्यक्रममा कांग्रेसका पदाधिकारीहरूसहित आठवटै पार्टीका नेताहरूले सम्बोधन गरेका थिए । बागमती प्रदेशका सांसदहरूका लागि काठमाडौंको बानेश्वरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । बिहीबार आठ दलका संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रपति चुन्नका लागि २५ फागुनमा मतदान हुँदै छ । निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङबीच प्रतिस्पर्धा छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् ।

यो गठबन्धन पाँच वर्ष नै टिक्छ, कांग्रेसले धोका दिँदैन : थापा
कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताउनुभएको हो । गठबन्धन गरेरै चुनावमा गएकाले पाँच वर्ष नै गठबन्धन बचाउनुपर्ने महामन्त्री थापाले बताउनुभयो । गठबन्धन तोड्न अहिले पनि केही तत्व लागेको उल्लेख गर्दै उहाँले भन्नुभयोे, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ । यो गठबन्धन पाँच वर्ष नै टिक्छ । कांग्रेसले धोका दिँदैन । कांग्रेसले दिएको वचन पूरा गर्छ । यो संसद्लाई जोखिममा जान दिँदैनौँ । गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठबन्धन बचाउन पर्छ । कि गठबन्धन गर्नुहुन्न थियो अब यसलाई पटक-पटक तोड्न मिल्दैन । वचन फेर्न मिल्दैन ।’

थापाले आठ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गर्नुभयो । फागुन २५ गते पौडेल राष्ट्रपति विजयी हुने र त्यसपछि पौडेल सम्पूर्ण रूपमा नेपाली कांग्रेससँग अलग हुनुपर्ने उहाँको भनाइ छ । ‘रामचन्द्र पौडेल कांग्रेसको भए पनि सबैको साझा उम्मेदवार हो, राष्ट्रपति निर्वाचित भएपछि उहाँ देशको राष्ट्र प्रमुख हुनुहुन्छ,’ थापाले भन्नुभयोे, ‘नागरिकहरू सबैले राष्ट्रपति हो भन्ने भूमिकामा पौडेलले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ ।’

निर्वाचनमा भोट क्रस नहुने पनि विश्वास व्यक्त गर्नुभयो । ‘भोट तलमाथि हुन्छ भन्ने लाग्दैन । मतभार हिसाब भइहाल्छ । चुनावसम्म छलफल हुन्छ । दलहरूबाट निर्णय हुन्छ । पहिले नै हामीलाई रिजल्ट थाहा हुन्छ, तलमाथि भए लज्जा हुन्छ,’ उहाँले भन्नुभयो । राष्ट्रपति निर्वाचित हुनेले उक्त संस्थाको गरिमा बचाउनुपर्ने पनि बताउनुभयो । राष्ट्रपति निर्वाचित गरेपछि दलहरू उपराष्ट्रपति निर्वाचन तयारीमा जुट्ने र त्यसपछि मात्रै संघदेखि प्रदेशसम्मका सरकारबारे छलफल हुने थापाको भनाइ छ ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन गठबन्धन : उपाध्यक्ष महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधान र गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अहिलेको गठबन्धन पुनर्जीवित भएको बताउनुभएको छ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलीय गठबन्धनद्वारा कोशी प्रदेशका सांसदका लागि विराटनगरमा शुक्रबार आयोजित अभिमुखीकरण गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

‘संविधान र गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको काम पूरा गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गठबन्धनले राष्ट्रपतिको उम्मेदवार बनाएको छ,’ उहाँले भन्नुभयोे, ‘शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न कांग्रेस र माओवादी एकठाउँ आउनैपर्ने र गणतन्त्र, धर्मनिरपेक्षता र संविधान उल्ट्याउन आवाज उठिरहेकाले अहिले गठबन्धन आवश्यक भएको हो ।’ गठबन्धनले देशवासीलाई सुशासनको प्रत्याभूति गराएर भौतिक र आर्थिक विकासको कार्यलाई द्रुत गतिमा अघि बढाउने महराले बताउनुभयो ।

गठबन्धनको मुख्य मिलनविन्दु राष्ट्रपति निर्वाचन : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति निर्वाचन आठ दलीय गठबन्धनको मुख्य मिलनविन्दु रहेको बताउनुभएको छ । तत्कालीन पाँच दलबीच गएको संघ र प्रदेश निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिलाई फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमार्फत थप विकसित गरेर लैजान मद्दत पुग्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन प्रदेशसभा सदस्यका लागि शुक्रबार विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै शर्माले अबको राष्ट्रपतिले आफ्नोे पदको गरिमालाई जोगाई राख्नुपर्ने धारणा राख्नुभयो । त्यसका निम्ति पनि सही व्यक्ति छनोट गर्न आवश्यक रहेकोले राष्ट्रपतिको पदलाई दलहरूले धेरै महत्व दिनुपरेको उहाँको भनाइ थियो । राष्ट्रपति पद सेरोमोनियल भए पनि गएको पाँच वर्षको कालखण्डमा व्यक्तिका कारण आलोचित बनेको शर्माले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?