समावेशी आर्थिक विकासमा आइएलओको जोड

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच मंगलबार भेटवार्ता भएको छ । सो अवसरमा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अघि सारेका मुख्य प्राथमिकताका विषयबारे जानकारी गराउँंदै आइएलओबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो ।

उहाँले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनालगायत महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आइएलओको सहकार्यमा जोड दिनुुभयो । आइएलओका देशीय ओजकानले सीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिँदै महासंघसँगको सहकार्य र सहयोग जारी रहने बताउनुभएको महासंघले जनाएको छ ।

सोही दिन महासंघका अध्यक्ष ढकाल नेतृत्वको महासंघको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेट गरी मुलुकको अर्थतन्त्रको अवस्थाबारे ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरूले पुष्टि गरिसकेको भन्दै विद्यमान अवस्थामा उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिनुुभयो ।

उहाँले श्रम बजारको मागअनुसारको सीप विकासमा जोड दिँदै वैदेशिक रोजगारीका केही अव्यावहारिक नीति नियमको पुनरवलोकनका लागि ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री भण्डारीले महासंघका सुुझावका सम्बन्धमा मन्त्रालयतर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको भन्दै वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियम व्यावहारिक बनाउन आफू तयार रहेको बताउनुभयो । उहाँले सीप विकासलगायतका श्रम क्षेत्रका सबै विषयमा निजी क्षेत्रको सरसल्लाहमा काम गर्ने विश्वास दिलाउनुुभयो । प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?