लुम्बिनी प्रदेश सरकारकाे बजेट पेश हुँदै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन् ।

बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार घट्ने छ । सरकारले झण्डै ४० अर्व बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ । चालु आर्थिक बर्षमा ४२ अर्ब बरावरको बजेट थियो ।

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ । चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ ।

चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो । अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ । सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो । आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ ।

समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो । आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ । विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो । आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ ।

बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ । प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ । रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ ।

जेठ २६ मा नीति तथा कार्यक्रम पेश गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो । प्रदेश सरकारले चालु आर्थिक बर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि-बजेटमा छलफल भइरहेको थियो ।

विगतको बजेटमा २० प्रतिशत कटौती गर्दा ३४ अर्ब हाराहारीमा बजेट आउने गरी तयारी गरिएपनि सांसदहरुको चित्त बुझाउन स्रोतबिनाको ठूलो आकारको महत्वाकांक्षी बजेट आउन लागेको कर्मचारीकै भनाइ छ ।

यसअघि आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले गतवर्षको बजेटमा २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको जानकारी दिनुभएकाे ‍थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?