५० वर्षपछि बल्ल बने रामपुरवासी ‘जग्गाधनी’

लालपूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला ।

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पाको रामपुर नगरपालिका किसानबारीका ६९ वर्षीय देवेन्द्र प्रसाद पोखरेलको आधा जीवन लालपूर्जा पाउने आशमै बित्यो । उहाँ तत्कालिन गाउँ पञ्चायतले विक्री गरेको जग्गामा बसोबास गर्दै आउनुभएको छ । तर उहाँसँग जग्गाको कुनै प्रमाण थिएन । जग्गा धनी पूर्जा नहुँदा सुकुम्बासी नै भएर जीवन बिताउनुपर्छ कि भन्ने चिन्तामा रहनुभएका पोखरेल ४ दशकपछि लालपूर्जा पाएपछि भने खुसी हुनुहुन्छ। ‘अत्यन्त खुसी छु । मर्ने बेलामा जग्गा धनी भएँ ’, उहाँ भन्नुहुन्छ, ‘यत्रो वर्ष धनीपूर्जा नपाउँदा अब त पाइँदैन भन्ने नै लागेको थियो ।’

रामपुर बेझाडका चिरञ्जीवी सिक्देलले पनि ५० वर्षपछि लाजपूर्जा पाउँदाको खुसी हिटासँग साट्नुभयो । प्रमाण नभएको जग्गामा बस्दै आउनुभएका उहाँले अनेक समस्या भोग्नुपर्‍यो । उहाँ भन्नुहुन्छ, ‘ हातमा लालपूर्जा थिएन । कति डर थियो, अब त हातमा लालपूर्जा छ । संसार जीते जस्तो भएको छ ।’ किसानबारीकै ६६ वर्षीय श्याम प्रसाद उपाध्यायले जग्गाधनी प्रमाणपूर्जाको पर्खाईमा जीवनका तीन दशक बिताउनुभयो । अव्यवस्थित बसोवासी भए पनि भोग चलन गर्दै गरेको जग्गामा घर बनाउनुभएको थियो । तर, त्यसरी जीवन चलाउँदा अनेक बाधा थिए । ३१ वर्षपछि उपाध्यायले आफुले प्रयोग गर्दै आएको चार आना जग्गाको लाजपूर्जा पाउनुभयो । श्रीमती सीता देवी पोखरेलको नाममा लालपूर्जा पाएपछि उहाँको खुसी थामिसक्नु थिएन । किसानबारीमा २०४८ सालबाट बसोबास गर्दै आएका उपाध्याय बल्ल जग्गा धनी हुनुभएको छ । ३१ वर्षपछि जग्गाधनी बन्दा उहाँको र श्रीमति सीताको आँखामा आशु थामिएन । उपाध्यायले हिटासँग कुरा गर्दै भन्नुभयो ‘अब त हामी पनि जग्गा धनी भयौँ । सुकुम्बासी भनेर कसैले हेप्न पाएन’, उहाँ भक्कानिनुभयो, ‘अहिलेसम्म दुःख गरेर बसियो । जीवनको उत्तर्राधमा आएर बल्ल लालपूर्जा पाइयो यो त ठूलो हतियार भयो नि !’

उहाँहरु जस्तै यहाँका १ सय ६० जना अव्यवस्थित बसोवासीले अहिले जग्गाको लालपूर्जा पाएका छन् । रामपुरमा ७ सय ८३ घर अव्यवस्थित रुपमा रहेका छन् । जस मध्ये १ सय ६० जनाले पहिलो चरणमा लाल पूर्जा पाएका हुन् । तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयहरुले विक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका जग्गाधनीहरुले ५० वर्ष पछि जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । २०२८/०२९ साल देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयोगले शुक्रबार जग्गा धनी पूर्जा प्रदान गरेको हो । २०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरीलाई अहिले लाल पूर्जा वितरण गर्न थालिएको छ । शनिबार सम्म सम्पूर्ण प्रक्रिया पुुरा गरेका १ सय ६० जनालाई लाल पूर्जा बाँडिएको राष्ट्रिय भूमि आयोग पाल्पा सर्वेक्षक विकास पौडेलले बताउनुुभयो । बाँकीको पनि नियमित प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा पूर्जा वितरण गरिरहेको छ । वितरणको पहिलो दिन राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले रापुरमा आयोजित कार्यक्रममा लालपूर्जा बाँड्नुभएको हो । उहाँले अव्यवस्थित बसोवासीलाई लालपूर्जा दिदै भन्नुभएको थियो ‘भुगोल पनि हो जमिन पनि हो तर आफुले टेकेको जमिन आफ्नो थिएन । तर आजदेखि त्यसको अन्त्य भएको छ ।’लामो समयसम्म समस्याका रुपमा रहेको अव्यवस्थित घरघडेरीलाई जग्गाधनी पुर्जा दिलाउन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । प्रक्रियामा रहेका सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो चरणमा ३ सय ७७ वटाको राजस्व तिर्ने प्रक्रियामा पुगे पनि ३ सय १ वटाको सर्जिमिन भएको बताउनुभयो । उहाँले प्रक्रिया पुरा भएका सबैको क्रमशः वितरण हुने समेत बताउनुभयो ।

जिल्लाको दोस्रोव्यापारिक केन्द्रका रूपमा रहेको रामपुरमा विद्यालय र तत्कालीन गाउँपञ्चायतले दिएको एउटा कागजको भरमा ठूलो लगानीमा ठूूल्ठूला भवन निर्माण भइसकेका छन् । रामपुरलाई लालपुर्जाविहीन सहरका रूपमा समेत चिनिन थालेको थियो । यहाँ प्रत्येक निर्वाचनको मुद्दा लालपुर्जा नै बन्ने गरेको थियो । ०४६ सालपछि काँग्रेस र तत्कालीन एमालेले अधिकांश समय सत्ता सञ्चालन गर्दै आए पनि यहाँका अव्यवस्थित बसोवासीले लालपुर्जा पाउन सकेका थिएनन् ।

विगतमा चुनावका बेला चर्चा हुने गरे पनि चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको थियो । घरजग्गाको लालपुर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको समेत मूल्यांकन हुन सकेको थिएन । जसका कारण यहाँका नागरिक अत्यन्त चिन्ति बनेका थिए । अहिले लालपूर्जा पाएपछि भने उनीहरु खुसी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?