११ महिनामा ४०.२४ प्रतिशतमात्रै पुँजीगत खर्च

Read Time = 4 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात् जेठसम्ममा ४०.२४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । सो अवधिमा पुँजीगततर्फ विनियोजित बजेटमध्ये एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाखमात्रै खर्च भएको हो । पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालुगततर्फ ७४.१५ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट विनियोजन भएकामा आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको हो । वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट विनियोजन भएकामा ६३.२४ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख खर्च भएको छ । जेठसम्म कुल ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।

त्यस्तै, जेठ मसान्तसम्मको राजस्व संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ । सो अवधिमा कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६०.३६ प्रतिशत अर्थात् आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाखमात्रै संकलन भएको छ । चालु आर्थिक वर्षका लागि १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख कर राजस्व, एक खर्ब सात अर्ब ७७ करोड १२ लाख गैरकर राजस्व र ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य थियो ।
तर, जेठसम्मको कर राजस्व संकलन लक्ष्यको ५८.५९ प्रतिशत अर्थात् सात खर्ब ५९ अर्ब, गैरकर राजस्व संकलन ७२.२४ प्रतिशत अर्थात् ७७ अर्ब ८५ करोड ३७ लाख र वैदेशिक अनुदान ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रहेको छ । आयभन्दा व्यय धेरै हुँदा बजेटघाटा दुई खर्ब ९५ अर्ब ६७ करोड पुगेको छ । सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबरमात्रै देखिएको छ ।

सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै दोस्रोपटक बजेट संशोधन गरेको थियो । दोस्रोपटकको संशोधित लक्ष्यअनुसार चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब चार अर्ब ९९ करोड अर्थात् सुरुवाती विनियोजनको ८३.९० प्रतिशतमात्रै बजेट खर्च हुने अनुमान गरेको छ । दोस्रोपटकको संशोधित अनुमानअनुसार चालु खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् सुरुवाती विनियोजनको ८८.१८ र पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड अर्थात् सुरुवाती विनियोजनको ६७ दशमलब ९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात् सुरुवाती विनियोजनको ८८.२९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?