समाजवादी मोर्चाको निर्माण : अस्थित्व संरक्षण कि आवश्यकता

Read Time = 15 mins

निर्वाचनको समयमा, सरकार गठन र विघटनको सन्दर्भमा नेपाली राजनीतिक दलहरू गठबन्धन निर्माण गर्ने तथा नेपाली राजनीतिक वृत्तमा जुट र फुटको खेती कुनै नौलो विषय होइन् जुन प्रवृत्ति कांग्रेसमा भन्दा कम्युनिष्टमा अधिक मात्रामा देखिने गर्दछ । राजनीतिक दलको गठन भएसँगै मोर्चाहरू बन्ने र भत्किने क्रम सुरु हुँदै आयो, आएको छ र भविष्यमा पनि हुनेछ । नेपालको इतिहासमा राणा शासनको अन्त्यसँगै, बहुदलीय राजनीतिक व्यवस्थाको सुरुवात भयो । राजनीतिक दलहरू स्थापना हुन थाले । आफूलाई लोकतन्त्रको हिमायती बताउने नेपाली कांग्रेसको स्थापना विसं २००६ चैत २७ मा भयो जुन अहिले देशको ठूलो राजनीतिक दल बने पनि त्यसको फुट र जुटको सन्दर्भमा आफ्नै इतिहास छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी पनि त्यतिबेला नै स्थापना भए पनि उनीहरूमा भने टुट र फुटको राजनीति स्पष्ट रूपमा देखिँदै आएको छ । नेपालका राजनीतिक दलहरूले फुट र जुटको राजनीतिमा विश्वमै उदाहरणीय बनेका छन् । सोही क्रममा हालै समाजवादी मोर्चाको निर्माण गर्ने कुरा चर्चामा आएको छ । दुई फरक उद्देश्यका साथ यो मोर्चा बन्न सक्ने देखिन्छ : पहिलो, आफ्नो अस्थित्व जोगाउन तथा प्रभाव बढाउन र दोस्रो, देशको आवश्यकताका लागि । तर, सम्झौता तथा समझदारी गरी मोर्चा बनाउने समझदारी पत्रको मसी सुक्न नपाउँदै फेरि फुटको खेती सुरु हुन्छ । नेपालमा जसको सुरुवात विसं २००८ मा पुष्पलाललाई महासचिवबाट हटाएपछि भएको पाइन्छ । जतिबेला पुष्पलाल गणतन्त्रको र मनमोहन संवैधानिक राजतन्त्रको लाइन समात्न गएपछि नेपाली राजनीतिमा फुटको खेतीको बिउ रोपिएको थियो ।

अहिलेको आवश्यकता भने देश निर्माणको हो, पार्टी वा मोर्चा निर्माण होइन । विसं २००५ चैत २३ गतेको कम्युनिष्ट घोषणापत्रलाई ७५ वर्षपछि अहिले पल्टाएर हेर्ने हो भने केवल कागजको खोष्टोजस्तो देखिन्छ । राजनीतिक दलहरूबीचको एकता आफैंमा नराम्रो होइन तर त्यसले उपलब्धि के दियो र के दिन्छ भन्ने सवाल महत्वपूर्ण हो । नेपालमा राजनीतिक दलहरू वास्तविक धरातलमा भन्दा पनि कल्पना र भावनामा बहने गर्दछन् । राजनीतिक आन्दोलनकै कारण देशमा, नागरिकहरूको चेतनामा सुधार तथा परिवर्तन आएको छ । तर, राजनीतिक दलको लापरबाहीका कारण देशको अर्थतन्त्र विस्तरै खस्किँदै गएको छ भने आर्थिक अनियमिता बढ्न थालेका छ ।

संसद्‌भित्र रहेका तीनवटा दल र बाहिर रहेको एउटा दलको सक्रियतामा समाजवादी मोर्चा गठन गर्दैगर्दा यसको प्रत्यक्ष असर भने सत्ता समीकरणमा समेत पर्ने देखिन्छ तर मोर्चामा आबद्ध दलहरूले तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउँदै पछि पार्टी एकतासम्म पुग्न सक्छन् ।

नेपालका कम्युनिष्ट पार्टीहरूमा आन्तरिक विवाद स्थापनाको समयदेखि भए तापनि विसं २०१७ सालमा पहिलो पटक कम्युनिष्ट पार्टीमा विवाद चरम रूपले बाहिर आएको थियो भने विसं २०३५ सालमा नेकपा मालेको गठन भएपछि विवाद झनै छताछुल्ल भएको इतिहास छ । विसं २००८ सालमा मनमोहनले पुष्पलाललाई हटाएर आफैं महासचिव बनेपछि सुरुवात भएको थियो । पछिल्लो समयमा नेकपा एकीकृत समाजवादीले समेत समाजवादी मोर्चामा सामेल हुने निर्णयसमेत गरेको छ । यो मोर्चा खासगरी नेकपामा ओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेत्रविक्रम चन्दको नेकपा र एकीकृत समाजवादीका बीचमा समाजवादी मोर्चा निमाण हुनको लगेको हो भने उक्त मोर्चामा आबद्ध दलहरूको संख्या अधिक रहनेछ ।

यहाँनेर जनताको सवाल के हो भने समाजवादी मोर्चाको निर्माणबाट कस्तो परिवर्तन हुनेछ ? यसले दिने प्रतिफल के हो ? कतै यो मोर्चा पनि सरकार गठन र विघटनको कारकमात्र बन्ने त होइन् ? नेताहरूमा सैद्धान्तिक अनुशासन हराउँदै गएको सन्दर्भमा स्थापना कालमा कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक विचारधाराका लागि फुट्ने गर्दथे भने अहिले पदका लागि फुट्ने गर्दछन् । फुट्ने र जुट्ने प्रवृत्ति नेपालका राजनीतिकर्मीका लागि दैनिक कार्यतालिका जस्तै भएको छ ।

संसदभित्र रहेका तीनवटा दल र बाहिर रहेको एउटा दलको सक्रियतामा समाजवादी मोर्चा गठन गर्दैगर्दा यसको प्रत्यक्ष असर भने सत्ता समीकरणमा समेत पर्ने देखिन्छ तर मोर्चामा आबद्ध दलहरूले तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउँदै पछि पार्टी एकतासम्म पुग्न सक्छन् तर यस्तो पार्टी तत्कालीन नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा जस्तै हुने, पद र भागबण्डा नमिलेको खण्डमा धेरै नटिक्ने कुरा नेपालका कम्युनिष्ट पार्टीहरूको ऐतिहासिक घटनाक्रमबाट प्रष्ट हुन्छ ।

संसद्मा अंकगणितीय हिसाब गर्ने हो भने समाजवादी मोर्चा निर्माण भएको खण्डमा २ सय ७५ सिट रहेको प्रतिनिधिसभामा मोर्चाको ५४ सिट हुने र तेस्रो शक्ति बन्न सक्ने देखिन्छ किनभने प्रतिनिधिसभामा माओवादीको ३१, जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ भने कांग्रेसका ८९ र नेकपा एमालेका ७९ सांसद छन् । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी, धर्म निरपेक्षताका पक्षधरको मोर्चा भनिए तापनि कतै यो मोर्चा अवसर र पदको खोजी गर्ने केन्द्र बन्नु हुँदैन । समाजवादी मोर्चा निर्माण गर्ने भन्ने कुरा आजको विषय नभए पनि नेपालका सबै कम्युनिष्ट पार्टीहरूको आचरण सुधार गर्नु जरुरी छ ।

दलका नेताहरूले भन्दै आएको समाजवाद अहिलेकै अवस्थामा सम्भव छैन किनभने नेपालको धरातल त्यस तहसम्म पुगेको छैन । जुन प्रतिबद्धताका साथ जनप्रतिनिधिहरूले निर्वाचनमा विजयी भए त्यस अनुसारको काम उनीहरूले गर्न नसकेको देखिन्छ । धरानका मेयर हर्क साम्पाङको जस्तो साहस र लगाव सकै जनप्रतिनिधिमा भयो भनेमात्र देशले कोल्टो फेर्न सक्छ ।

देश निर्माणको खातिर सबै राजनीतिक दललहरू एक ठाउँमा उभिएर देशको सुशासन र नीतिगत अवस्थामा सुधार ल्याउनु जरुरी छ । देशका लागि उपयुक्त नीतिहरू नबन्दासम्म अव्यवस्थित प्रणालीको सुधार गर्न सकिँदैन भने देशमा सुशासन कायम गर्नसमेत बाधा पुग्ने देखिन्छ ।

कुनै पनि मोर्चा गठन भएपछि समूहिक नेतत्व त हुने नै भयो, त्यसमा आलोपालो अध्यक्षता गर्ने प्रवृत्ति र एकले अर्कोलाई पद हस्तान्तरण गर्नै नमान्ने प्रवृत्ति तथा एकले अर्काको अस्थित्व स्वीकार नगर्ने प्रवृत्तिले मोर्चालाई जोगाउन भने कठिन हुने निश्चित छ । मोर्चामा नेपाल समाजवादी पार्टी सहभागी भए पनि वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान समावेश नहुन सक्ने देखिन्छ । आफ्नो अस्थित्व जोगाउने खेलमा लागेका यी चार राजनीतिक दलहरूले समाजवादी मोर्चामार्फत नयाँ कुरा ल्याउने र देशलाई गति दिने सामथ्र्य देखिँदैन । नयाँ सोच र विकल्पले मात्रै देशको विकास हुने कुरा विश्व इतिहासका घटनाक्रमबाट स्पष्ट छ । नेपालका राजनीतिक दलहरू काल्पनिक संसारमा डुब्नुभन्दा खास गरी तीनवटा कुरामा स्पष्ट हुनु जरुरी छ ।

पछिल्लो पक्ष, भनेको दलको संरचाना, उनीहरूको गठन र विघटन, विगतका घटनाक्रम र नेतृत्वको सोचमा बदलाव ल्याउनु जरुरी देखिन्छ । किनकि नेपालमा राजनीतिक दलमा एकल तथा दीर्घकालीन नेतत्वको प्रभाव रहेको देखिन्छ । लामो समयदेखि एउटा व्यक्ति राजनीतिकदलको नेत्तृत्वमा रहिरहने प्रवृत्तिले गर्दा नयाँ सोचको विकास हुन सक्दैन जसले गर्दा राजनीतिक दल र देशको अवस्थामा सुधार आउन नसकेको देखिन्छ । त्यसकारण राजनीतिक दलले यस्ता पक्षमा सुधार गर्नु जरुरी देखिन्छ ता कि जसले गर्दा जनतामा आशाका किरण देखा पर्न सक्दछन् ।

दोस्रो पक्ष, देशको धरातलीय अवस्थामा सुधार ल्याउनु जरुरी छ । देश अहिले पनि अर्धसामन्ती अवस्थामा छ । उद्योग व्यवसायको अवस्था खस्किँदै गएको छ । अझै धेरै मानिस गरिबीको रेखामुनि रहेका छन् भने बचतको अवस्था दिनदिनै घट्दो क्रममा छ । कृषि उत्पादन बढ्न सकेको छैन । यस्तो अवस्थामा धरातलीय अवस्थालाई विश्लेष्ण गर्नु जरुरी छ ।

त्यसैगरी तेस्रो पक्ष, देश निर्माणको खातिर सबै राजनीतिक दललहरू एक ठाउँमा उभिएर देशको सुशासन र नीतिगत अवस्थामा सुधार ल्याउनु जरुरी छ । देशका लागि उपयुक्त नीतिहरू नबन्दासम्म अव्यवस्थित प्रणालीको सुधार गर्न सकिँदैन भने देशमा सुशासन कायम गर्नसमेत बाधा पुग्ने भएकाले जुनसुकै मोर्चा वा दलहरूले परिवर्तन गर्न तथा सुधार गर्न नसक्ने देखिन्छ । सत्ता टिकाउनकै लागि गरिने राजनीतिले देशको विकास गर्न सकिँदैन ।

समाजवादी मोर्चा आफ्नो अस्तित्व जोगाउका लागि गठबन्धन गर्नु स्वाभाविक भए तापनि यसले सत्ता समीकरणमा पार्ने प्रभावले यसको दिगोपनलाई जोगउनु जरुरी देखिन्छ । देशको समस्या, जस्ताको तस्तै रहिरहने, मानव जीवन शैलीमा परिवर्तन नआउने प्रवृत्तिले देशको समग्र पक्षलाई सुधार गर्न सकिँदैन । अग्रगामी र परिवर्तनशील शक्तिलाई समावेश गर्दै एक बृहत् समूह निर्माण गर्दा युवा पुस्तामा पनि आशा जगाउनु जरुरी देखिन्छ । वर्तमान अवस्थामा देशमा रहेका बेतिथि, अस्थिरता, अराजकताबाट देशलाई निकाल्न सकेमात्र आर्थिक समृद्धि र सुशासन ल्याउन सकिन्छ । समाजवादी मूल्य मान्यतालाई धरातलीय यथार्थलाई तुलनात्मक रूपमा अध्ययन गर्दै अगाडि बढ्नु नै आजको आवश्कता हो । विगतका घटनाबाट पाठ सिकेर सबै राजनीतिक दलहरू एक ठाउँमा आउनु जरुरी छ ।

समाजवादी मोर्चा निर्माणको पहलले यो समूहलाई तत्कालीन नेकपाको अवस्थामा पुग्न सक्ने अवस्था देखिन्छ । विसं २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो तर पछि विवाद बढ्दै गएपछि २०७७ साल फागुन २३ मा सर्वोेच्च अदालतले नेकपा पार्टी निर्माणको पक्रियालाई बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । तसर्थ, एकातिर देशका राजनीतिक शक्तिबीच धु्रवीकरण हुनु आवश्यकता देखिए तापनि पटक पटक गठन र विघटन गरिने गठबन्धनको कारण सरकारको अस्थित्वसमेत संकटमा जाने र पटक-पटक सरकार गठन र विघटन गर्ने प्रवृत्तिले राजनीतिक अस्थिरता झनै जटिल बन्दै जान्छ र देश विकासभन्दा विनाशतर्फ उन्मुख हुँदै जान्छ जसको दीर्घकालीन समाधान जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?