जिम्बाबेसँग फराकिलो हार

हिमालय टाइम्स
Read Time = 6 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा हारबाट सुरुवात गरेको छ । जिम्बाबेमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजकसँग आठ विकेटको फराकिलो हार बेहोरेको हो ।

हरारे स्पोर्ट्स क्लबमा आइतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाबेले ४४ दशमलब १ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टायो ।

जिम्बाबेका लागि कप्तान क्रेग इव्रानले अविजित १ सय २१ रनको शतकीय इनिङ खेल्नुभयो । उहाँले १ सय २८ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय २१ रन बनाउनुभयो । यस्तै, तेस्रो विकेटका लागि क्रगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाउनुभयो ।

सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय इनिङ खेल्नुभयो । त्यसबाहेक विस्ली माधिवेरीले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाउनुभयो । नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १–१ विकेट लिनुभयो ।

त्यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गर्नुभएपछि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।

भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनको पारी खेल्नुभयो । उहाँ ३२औँ ओभरको पाँचौँ बलमा बोल्ड हुँदा शतक बनाउन एक रनले चुक्नुभयो । यस्तै, अर्का ओपनर आसिफ शेखले १ सय बलमा ७ चौकासहित ६६ रन बनाउनुभयो ।

नेपालको पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्नुभएको थियो । उक्त साझेदारी नेपालबाट ओडिआईमा कुनै पनि विकेटका लागि भएको हालसम्मकै उच्च हो ।

यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गर्नुभएको थियो ।

कुशल मल्ल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट हुनुभयो । कुशल चताराको बलमा मिडअनमा क्रेग इर्विनबाट क्याच आउट हुनुभयो । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट हुनुभयो ।

तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गर्दै नेपालको पारी अघि बढाउनुभएको थियो ।
मध्यक्रममा नेपालको ब्याटिङ राम्रो भएन । भीम सार्की गोल्डेन डकआउट हुनुभयो । गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६ र आरिफ शेख १० रनमा आउट हुनुभयो । करण केसी २ रनमा नटआउट रहनुभयो ।

जिम्बाबेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिनुभयो । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिनुभयो । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक-एक विकेट लिनुभयो ।

विश्वकप छनोटको समूह ‘ए’मा नेपालसँगै वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । प्रतियोगिता १८ जुनदेखि ९ जुलाई सम्म जिम्बाबेमा हुनेछ ।

नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?