समाजवादी मोर्चाको घोषणा आज हुँदै

आर्थिक र सामाजिक रूपान्तरणसहित १५ बुँदे प्रतिबद्धता

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र, सरकारमा सहभागी दलहरू जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) र संसदीय प्रक्रियाबाहिर रहेको दल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा आज (सोमबार) हुँदै छ । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको माओवादी केन्द्र, जसपा, नेकपा एस र नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको मिति तय गरेका हुन् । समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । समाजवादी मोर्चाको घोषणा सोमबार ३ बजे राष्ट्रियसभा गृहमा हुने जानकारी दिँदै जसपाका वरिष्ठ नेता राजेन्द्र पाण्डेले भन्नुभयो, ‘सुरुवातदेखि नै छलफलमा सहभागी राजनीतिक दलहरू सहभागी भएको समाजवादी मोर्चा घोषणाको गृहकार्य भएको हो । आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रम लगायतका कार्यक्रम भोलि ३ बजेको कार्यक्रममा स्पष्ट गर्छौँ । संगठनात्मक आचारसंहिता पछि तय गर्ने भनेर सहमतिपत्रमा नै लेख्ने तयारी भइरहेको छ ।’ समाजवादी मोर्चा निर्माणका लागि तयारी गर्न बसेको कार्यदलको सोमबारको बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा लगायतको उपस्थिति थियो ।

मोर्चाले टुंग्यायो १५ बुँदे प्रतिबद्धता
आज घोषणा हुन लागेको समाजवादी मोर्चा नेपालले १५ बुँदे प्रतिबद्धता तय गरेको छ । संयुक्त प्रतिबद्धता पत्रको मस्यौदामा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ । उक्त उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता अगाडि सारिएको छ । जसअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मस्यौदामा उल्लेख छ । यस्तै, नेपालमा सदियौँदेखि कायम रही आएको विभिन्न प्रकारका असमानता र विभेदहरू अन्त्य गर्ने, विभिन्न जातजाति, धर्म, समुदाय विपन्न वर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने मस्यौदामा उल्लेख छ ।

यस्तै, वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त गर्ने, प्रगतिशील कर प्रणाली लागू गर्ने, देशको अर्थ व्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगीकरण गर्ने, उत्पादनका क्रियाकलाप वृद्धि गर्ने मस्यौदामा उल्लेख छ । यसैगरी, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने, देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने पनि प्रतिबद्धता मस्यौदामा उल्लेख छ । विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका राजबन्दीहरूको रिहाइको पहल गर्ने, विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

को-को समेटिँदै छन् ?
समाजवादी मोर्चामा सत्तारूढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ । यद्यपि, समाजवादी मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियान सहभागी हुने या नहुने भन्नेबारे निश्चित हुनै बाँकी छ । समाजवादी मोर्चा बनाउनुपर्ने भन्दै वकालत गर्दै आउनुभएका बाबुराम र वामदेव गौतम समेटिने निश्चित भइनसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठको भनाइ छ । भट्टराईलाई मोर्चामा ल्याउन जसपा अध्यक्ष उपेन्द्र यादव अनुदार भएको दाबी गरिएको छ । सोही कारण भट्टराईको सहभागिता अनिश्चित बनेको हो । समाजवादी मोर्चामा भट्टराईलाई पनि सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुवैतर्फका नेताहरू जोडतोडका साथ लागेका छन् ।

मोर्चाप्रति सत्ता गठबन्धनकै नेताहरू सशंकित
नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि सत्ता गठबन्धनका केही दल संशकित बनेका छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र राष्ट्रिय जनमोर्चा छन् । गठबन्धनमा रहेकामध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अन्य कम्युनिष्ट दलसँग मिलेर समाजवादी मोर्चा घोषणा गर्दै छन् ।

सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसका नेताहरूले समाजवादी मोर्चाले गठबन्धनलाई कुनै असर नगर्ने दाबी गरे पनि गठबन्धनमै रहेका केही दलका नेताले आपत्ति जनाएका छन् । गठबन्धनकै अर्को दल आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गठन हुन लागेका समाजवादी मोर्चाको औचित्य नरहेको टिप्पणी गर्दै भन्नुभयो, ‘एउटा गठबन्धन क्रियाशील छँदै छ, फेरि अर्को मोर्चाको आवश्यकता किन प¥यो ? त्यसको औचित्य पुष्टि गर्नुपर्छ कि पर्दैन ? यो सब देशलाई अस्थिरतातर्फ लैजाने खेल हो ।’

सत्ता गठबन्धनको अर्को घटक लोसपाका कार्यकारिणी सदस्य केशव झाले सत्ता गठबन्धन क्रियाशील रहेकै बेला अर्को मोर्चाको आवश्यकता नरहेको जिकिर गर्दै भन्नुभयो, ‘यो गतिविधिले गठबन्धनमा विश्वासको वातावरण बनाउन सक्दैन, एक–अर्काप्रति अविश्वास जन्माउँछ र त्यसले गठबन्धन धरापमा पर्न सक्छ ।’

समाजवादी मोर्चाबारे नेताहरूको प्रतिक्रिया
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताउनुभएको छ । अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादी दिशामा जान चाहने सबै शक्तिहरूलाई मिलाएर लानुपर्छ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका हौँ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरूका बीचमा मोर्चा बनाउन पाइए पनि यति चाँडै अर्को मोर्चा किन बनाउनुप¥यो ? भनी प्रश्न गर्दै भन्नुभयो, ‘उहाँहरूसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने सर्तमा हो । यदी लोकतन्त्र नभएको भए अहिले तपाईंले र मैले यति कुरा गर्न सक्थ्यौँ ? लोकतन्त्रको पक्षमा उहाँहरू छउन्जेली हाम्रो सहकार्य हुन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गर्दै भन्नुभयो, ‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रूपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन । तर, त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्नसक्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ । त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला ।’

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दलहरूका बीचमा मोर्चा बन्न लागेको दाबी गर्दै भन्नुभयो, ‘समाजवादी मोर्चा बनाउन खोजिएको विशेषगरी विचारधारात्मक राजनीतिक प्रश्न हो । सत्ता साझेदार दलका बीचमा कहीँ गडबढ भएर, खटपट भएर यो मोर्चा बनाउन लागिएको होइन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?