सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको व्यवस्था मिलाउन सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गर्नु भयो । दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद आचार्यले भन्नु भयो, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत देशभर भएका १७७ वटा जोनहरु मध्ये सुनसरी जिल्लामा धान, तरकारी, माछा, बंगुर, अदुवा र हर्दी गरी पाँच वटा जोन छन । केही वर्षदेखि सुनसरीको दशौं हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यक्ता छ । यी खेतीहरुका लागि प्रविधि, भौतिक सहयोग, आर्थिक सहयोगका साथै विभिन्न ठाउँमा आवश्यक उपकरणहरु विक्री केन्द्रहरु, शीत भण्डार, प्रशोधन उद्योग लगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने अवस्था छ । यी सबै काम हुँदाहुँदै यावत कामहरुको व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, थप साधनको व्यवस्थापन गर्नुपर्ने माग गर्न चाहन्छु ।

सांसद आचार्यले सुनसरीको खेतीबाली विक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?