योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज  प्रहरी प्रधान कार्यालय काठमाडौँमा आयोजित एक समारोहमा गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अङ्गको रूपमा लिँदै आएको चर्चा गर्नुभयो ।

योग भनेको योग अभ्यास मात्र नभइ यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “योग अभ्यास एवम् ध्यानले शारीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, सन्तुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रक्रियामा योगदान पुर्‍याउँछ ।”

सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको उहाँले बताउनुभयो ।

गृहमन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागारसमेतमा योग शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एकै दिनमा योगसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?