१२ अर्ब रुपैयाँ खर्चमा नागढुंगा–नौबिसेमा मुख्य सुरुङ खन्ने काम ८५.७० प्रतिशत सम्पन्न

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । नागढुंगा–नौबिसे सुरुमार्गको सुरुङ खन्ने काम करिब ८५.७० प्रतिशत सकिएको छ । कुल ५ हजार ४ सय ९९ मिटर खन्न पर्नेमा अब ७ सय ८६ मिटर मात्रै खन्न बाँकी रहेको छ । धादिङतर्फ ११३३.२० मिटर मुख्य र ११३८.१० मिटर इभ्याकुएसन टनेल खन्ने काम पुरा भैसकेको छ ।

धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल समेत पूरा भएको छ, भने ११०.७० मिटर क्रस प्यासेज निर्माण कार्य भएको छ । यस्तै काठमाडौंतर्फ मुख्य सुरुङ ९ सय ३७.८० मिटर र इभ्याकुएसन १ हजार २ सय ६६.७० मिटर पूरा भएको आयोजनाले मासिक प्रकाशन गर्ने प्रगति प्रतिवेदनमा उल्लेख छ । सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिनुभयो ।

आयोजनाका अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३५.९० प्रतिशत अर्थात ९६५.७० मिटर सकिएको छ । आयोजनाले हरेक महिना यसको काम १ सय मिटर पुरा गरी फिनिसिङ लाइनिङको काम पुरा भएको स्थानमा गाडी संचालन गर्ने तयारी समेत गरेको छ ।

हालसम्म भौतिक रुपमा लगभग ५५.१३६ प्रतिशत काम सम्पन्न भएको छ । जसमा आर्थिक रुपमा ५८.७० प्रतिशत खर्च भइसकेको आयोजनाले जनाएको छ आयोजनाले निर्माण व्यवसायीलाई मासिक ५ करोडदेखि ६ करोडसम्म भुक्तानी गर्ने गरेको छ । हालसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । आयोजनाको म्याद भने सन् २०२४ अप्रिल २५ सम्म म्याद थप गरिएको छ ।

यस्तै फ्लाइओभर निर्माणमा ३ वटा फाउन्डेसनको काम सम्पन्न भएको छ । ५ वटा सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा २ वटाको काम सम्पन्न भएको उक्त प्रतिवेदनमा उल्लेख छ। यसमा अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत सकिएको छ । यसैगरी, ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा साना पुलहरु निर्माण गर्ने काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार यसका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणको काम भने ९६ प्रतिशत सम्पन्न भएको छ । इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो । यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोडेको छ । यो फ्लाइओभर काठमाडौंबाट सुरुङमार्ग जान र सुरुङमार्गबाट काठमाडौं आउनको लागि प्रयोग गरिनेछ ।

काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउन २०७६ आश्विन ६ गते सोमवार सम्झौता भएको थियो । २.६ किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति समेत भएको थियो ।

हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले हस्ताक्षर गर्नुभएको थियो । सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०।०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको छ । यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र मुआब्जाका लागि नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।

नागढुंगा–नौबिसे सुरुमार्गको तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वि.सं २०७६ कात्तिक ४ गते शिलान्यास गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?