उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा लाग्न प्रधानमन्त्रीको निर्देशन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । शनिवार रातीको अविरल बर्षाका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकल गर्ने क्रममा संखुवासभाको तुम्लिङटार पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा तीव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्रीले संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग बाढी पहिरो पश्चातका घटना, बेपत्ताहरुको खोजी र उद्धारमा भई रहेको प्रयासका बारेमा जानकारी लिनु हुदै जिल्लाका सबै सरकारी संयन्त्र र अन्य स्वयंसेवी संघ संस्थालाई उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा तीव्रता दिन निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनु भयो ।

गत शनिबार यता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन । जसमा संखुवासभामा एक जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन ।

प्रधानमन्त्री सहितको टोली पूर्वको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण र अवलोकनका लागि संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुमा गएको हो । प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?