समाजवादी मोर्चाबाट ओली तर्सिनु पर्दैन : उपेन्द्र यादव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गर्नु भएको छ ।

ओलीप्रति संकेत गर्दै उहाँले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताउनु भएको हो ।

सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहो-याउनु भयो । परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उहाँको तर्क थियो ।

अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिनु भयो । उहाँले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दावी समेत गर्नुभयो ।

अध्यक्ष यादवले भन्नु भयो, ‘राजनीतिक अस्थिरता र अन्यौलतालाई अन्त्य गरी मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटो हुँदै जातीय, वर्गीय, लैगिक, क्षेत्रीय आदिको आधारमा भईरहेका विभेद र असमानतालाई अन्त्य गर्दै एउटा समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै यो मोर्चा गठन भएको हो । हामीले मुलुकमा राजनीतिक लोकतन्त्रको साथसाथै यो लोकतन्त्रलाई समावेशी लोकतन्त्रमा रुपान्तरण गर्दै लोकतन्त्र वास्तवमा सामाजिक पनि हुुनुपर्छ । आर्थिक पनि हुनु पर्दछ । र, सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीलाई विकसित गर्दै समाजको ध्येय प्राप्त गर्ने उद्देश्यको लागि अगाढि बढनका लागि यो मोर्चाको गठन गरिएको हो । र, यसै दिशामा अव हामी चार दल मिलेर यी साझा कुराहरुमा हामी अगाडि बढने । सबै दलका आ–आफ्ना विचार, दृष्टिकोणहरु छन । ती दृष्टिकोणहर आ–आफ्ना रहिरहन्छन । तर, साझा मुद्दालाई लिएर अगाडि बढने यो प्रतिवद्धताका साथ निर्माण भएको मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क पार्न, निश्चित हुन हामीले भूमिका खेल्नु पर्दछ । हुन त यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो ? भन्ने लागेको पनि हुन सक्दछ । त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । र, यसलाई सबैले सहयोग गर्नु हुनेछ । र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढने कुरामा मत ढुक्क छु । हाम्रो प्रयास रहनेछ । र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाढि बढन चाहन्छौं । यो कसैको विरुद्धमा लक्षित छैन । त्यसकारणले कोही नतर्सिए हुन्छ । धेरै मान्छेहरु अहिलेनै केही साथीहरु यसो घोषणा हुनु भन्दा अगाडि नै बरबराउन थाल्नु भएको थियो । मिडियाहरु बरबराएको पढन, सुन्न पाईयो । त्यस्तो नबर्बराउँदा हुन्छ । हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढछौं । तर, प्रतिगमनकारी शक्तिहरु, जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलनका संघर्ष र बलिदानलाई समाप्त पार्ने खेल खेलेका छन । निश्चित रुपमा तिनको विरुद्धमा यो मोर्चा उभिनेछ । आवश्यक परे संघर्ष पनि गर्नेछ ।’

अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने प्रयास भएको भन्दै त्यसका विरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गर्नु भयो । उहाँले संविधानमा रहेका त्रुटी, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताउनु भयो । राष्ट्रको हित, जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको पनि अध्यक्ष यादवले दावी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘आज राष्ट्रको हितका लागि, परिवर्तनका लागि साझा मुद्दाहरुमा सहमत भएर जुन यहाँ अवधारणा पत्र पढेर सुनाईयो । त्यसमा सहमत भएर समाजवादी मोर्चाको गठन भएको छ । यसको प्रमुख रुपले खास गरिकन जनआन्दोलन, सशष्त्र जनयुद्ध, मधेश जनविद्रोह लगायतका विभिन्न आन्दोलनको परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन पुग्यो । र, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि आज नेपालका उपेक्षित, शोषित, पीडित जनताले अझै पनि त्यो परिवर्तनलाई अनुभूति गर्न पाएको अवस्था छैन । राजनीतिक रुपमा हामीले शासन प्रणाली बदल्यौं । तर शासन प्रणाली बदलिए पनि शासन शैली र मानसिकता अहिले पनि पूरानै अवशेषहरु बाँकि रहेका छन ।'

अध्यक्ष यादवले सबै समूदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?