नेपाल आइपुगे ६ विदेशी खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । शुक्रबारबाट हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न टोलीका ६ विदेशी खेलाडीहरू नेपाल आइपुगेका हुन् । जनकपुर रोयल्सका दुई तथा विराटनगर सुपर किंग्सका चार खेलाडीहरू नेपाल आइपुगेका हुन् । रोयल्समा अनुबन्ध भएका वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट नेपाल आइपुग्नुभएको हो ।

३७ वर्षीय अनुभवी ब्याटर चाडविक वाल्टनले वेस्ट इण्डिजबाट दुई टेस्ट, नौ ओडिआई र १९ टी-२० खेलमा खेल्नुभएको छ । उहाँले अन्तिम पटक वेस्ट इण्डिजबाट २०१८ मा बंगलादेशविरुद्ध खेल्नुभएको थियो । ‘जनकपुरको टोलीमा हुँदा म निकै उत्साहित छु । नेपाल आएर राम्रोे क्रिकेट खेल्न आतुर छु,’ वाल्टनले भन्नुभएको छ ।

जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी र मुख्य प्रशिक्षकमा उमेश पटवाल हुनुहुन्छ । सोमपालसँगै टोलीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, दीलिप नाथ, ललितनारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी मगर रहनुभएको छ । जनकपुरले पहिलो खेल २४ डिसेम्बरमा पोखरासँग खेल्नेछ ।

त्यस्तै, विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन पनि आइपुग्नुभएको छ । जनकपुर रोयल्सका मुख्य प्रशिक्षक उमेश पटवाल पनि सोमबार साँझ नै नेपाल आइपुग्नुभएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फारवेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहनेछ ।

यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अलस्टार रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?