फर्जी आवेदनपछि घोराही सिमेन्टको आइपिओ रोक्का

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओमा ठूलो बदमासी भएको आशंका उत्पन्न भएको छ । कम्पनीको आइपिओ खरिद गरेर ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको नेपाल धितोपत्र बोर्डले आशंका गरेपछि उक्त कम्पनीको काम कारबाही रोक्का गरिएको हो । फर्जी खाताबाट आवेदन परेको सूचना आएपछि घोराही सिमेन्टको आइपिओ निष्कासन प्रक्रिया नै रोक्ने निर्णय गरेको बोर्डले जनाएको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको बोर्डकी सहायक निर्देशक सरिता महर्जनले जानकारी दिनुभयो । ‘अहिले बोर्डले यो विषयलाई गम्भीरताका साथ लिएको छ । यो विषयमा छानविन हुन्छ ।’ उहाँले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो । महर्जनका अनुसार कम्पनीको आइपिओ निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त हुँदासमेत आइपिओ निष्कासनको समयावधि थप गर्न कम्पनीले सूचना प्रकाशित गरेपछि स्थगन गरिएको हो ।

कम्पनी करिब ८०/८१ लाख कित्ता सेयर खरिद गरेर पनि अनभेरिफाइड भएको छ । अन्य कम्पनीको आइपिओमा २०/२५ हजार कित्तासम्म अनभेरिफाइड हुने गरेको भए पनि घोराही सिमेन्टको आइपिओमा भने ठूलो संख्यामा हुनु आशंका उत्पन्न भएको बोर्डको अनुमान छ । यता, सिसिएस एण्ड क्लियरिङ लिमिटेडले कम्पनीको आइपियो रद्द हुनेक्रम अझै बढ्न सक्ने जनाएको छ । आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएको लिमिटेडले जनाएको हो ।

लिमिटेडका एक कर्मचारीका अनुसार कम्पनीको आइपिओमा माग गरिएको भन्दा बढी आवेदन परेको भए पनि समय थप गर्दा आशंकाको घेरामा कम्पनी परेको उहाँको भनाइ छ । ‘कम्पनीको आइपिओमा रकम नभएको खाताबाट पनि आवेदन दिएको देखिन्छ । कम्पनीमा १२÷१५ लाखले आवेदन दिँदा २०/२५ हजार कित्ता मात्रै अनभेरिफाइड हुन्थ्यो । किन रकम नभएको मान्छेहरूले आवेदन दिए भनेर प्रश्न गर्ने ठाउँ भएको हो ।’ उहाँले भन्नुभयो, ‘अनभेरिफाइड धेरै आउनुको कारण के हो ? यो प्रश्नको विषय बनेको छ । ८०/८१ लाख कित्ता अनभेरिफाइड हुनु भनेको आश्चर्य नै हो । बदमासी के भएको छ भनेर अब छानविन हुन्छ । अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्छ ।’
आइपिओ जारी गरेका कम्पनीको सेयरमा कम्तीमा पनि १२ लाख जनाले आवेदन दिएका छन् । तर, घोराहीको आइपिओमा पाँच लाखले आवेदन दिँदैमा ओभर सब्स्क्राइब हुँदा पनि शंकाको घेरामा परेको थियो । करिब १० कित्ता आवेदन भर्नेको भेरिफाइड गर्न बाँकी छ । अहिले लाखौँ आवेदन दिनेको मात्रै भेरिफाइड गर्दा यो समस्या आएको हो । कम्पनीकै मान्छेले ठूलो रकम आवेदन दिन लगाएर सर्वसाधारणलाई आकर्षित गर्न खोजेको हुन सक्ने बोर्डको भनाइ छ । कम्पनीको मान्छेले मिलेमतो गरेर रकम नभएको डिम्याट खाताबाट सेयर खरिद गरी सर्वसाधारणलाई आकर्षित गर्न खोजेको बोर्डको अध्ययनमा देखिएको छ । ब्यालेन्स नभएको डिम्याट खाताबाट सब्सक्राइब देखाउनका लागि आवेदन दिएको पनि हुनसक्ने बोर्डको आशंका छ । बिना रकमको चेक काट्यो भने चेक बाउन्सको कारबाही हुन्छ । यसमा पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन सीसीएसले माग गरेको छ ।

घोराही सिमेन्टले सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको छ । यसले केही समय अगाडि आफ्ना कर्मचारी र प्रभावित क्षेत्रका स्थानीयवासीका लागि भनेर प्रिमियम मूल्यको सेयर निष्कासन गरेको थियो । तर, उक्त सेयर न त कर्मचारी न त स्थानीय बासिन्दाले नै पत्याएका थिए । त्यस्तो सेयर कम्पनीले सर्वसाधारणको लागि भनेर निष्कासन गरेको हो । कम्पनी अहिले घाटामा रहेको छ । तर, लगानीकर्ताले सिमेन्टको भ्रमपूर्ण प्रचार गर्दै सर्वसाधारणका लागि सेयर निष्कासन गरेका थिए ।

उद्योगले कतैबाट नाफा नहुने देखेपछि सेयर निष्कासन गरेर त्यसबाट आफ्नो घाटा असुलउपर गर्ने मनसाय बनाइरहेको थियो । कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयलाई तीन लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सात लाख ५४ हजार ६६१ कित्ता, कम्पनीका कर्मचारीलाई तीन लाख ७७ हजार ३३१ कित्ता र म्युचुअल फण्डलाई पनि तीन लाख ७७ हजार ३३१ कित्ता गरी १९ लाख ६ हजार ५१३ कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । तर, कर्मचारीले पाँच दशमलव १८ प्रतिशत अर्थात् १९ हजार ५३० कित्ता, स्थानीयबासीले १९ दशमलव ४६ प्रतिशत अर्थात् ७७ हजार २९० कित्ता मात्रै सेयर खरिद गरेका थिए । त्यस्तै, वैदेशिक रोजगारीतर्फ ८० दशमलव ३५ र म्युचुअल फण्डतर्फ ८७ दशमलव १८ प्रतिशत मात्रै सेयर बिक्री भएको थियो । जसबाट पनि कम्पनीको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ । तर, कम्पनीका सञ्चालकहरू भने आफूहरू बलियो रहेको दाबी गर्दै आएका छन् ।

घोराही सिमेन्ट कम्पनीमा अधिकतम सेयर लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपको रहेको छ । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा कम्पनीका नाममा ऋण छ । कम्पनीले आइपिओमार्फत सर्वसाधारणबाट संकलन गरेको रकम बैंकको ऋण तिर्न प्रयोग गर्ने मनसाय बनाएको थियो । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडका अध्यक्ष पुरुषोत्तमलाल संघाई हुनुहुन्छ भने कम्पनीका निर्देशक आदित्य संघाई रहनुभएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले एक अर्ब ८३ करोड २० लाख रुपैयाँको कारोबार भएको देखाएको छ । तर, कम्पनीले चालु आर्थिक वर्षमा नौ अर्ब ८९ करोड २० लाख रुपैयाँको कारोबार गर्ने प्रक्षेपण गरेको छ । कारोबारको स्थिति र लक्ष्य भेट्टाउन कम्पनीले सयौँ गुणा बढी व्यापार गर्नुपर्ने देखिन्छ, जुन हालको अवस्थामा सम्भव छैन । साथै उद्योगको ह्रासकट्टी खर्चको लेखांकनसमेत शंकास्पद देखिएको छ । यस उद्योगको ह्रासकट्टी र पिपिई अनुपात चार प्रतिशत मात्रै देखाइएको छ । कम्पनीले नाफा धेरै देखाउन र लगानीकर्तालाई झुक्याउन ह्रासकट्टी खर्चको लेखांकनमा छेड्खानी गरिएको आशंका छ । साधारण लगानी फिर्ता हुने अवधि चार वर्ष आठ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि आठ वर्ष पाँच महिना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?