सबैतिर महिला असुरक्षित !

हिमालय टाइम्स
Read Time = 7 mins

वर्तमान समयका महिला हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेका छन् । अहिलेभन्दा चार-पाँच दशक अगाडिसम्म महिला हाम्रो समाजमा पछाडि परेको वर्गका रूपमा चिनिन्थे । केही समाजमा महिलाहरू अगाडि थिए र ती जनजातिहरूको समुदायमा मातृप्रधानता थियो तर नेपालको धेरैजसो स्थानमा वा समुदायमा महिलालाई पछाडि पारिएको थियो, समाजमा पुरुषप्रधानता थियो । २०३८/०४० सालतिर सरकारले नागरिकताको प्रमाणपत्रलाई अनिवार्य गरेर गाउँ-गाउँमा नागरिकताको अस्थायी निस्सा वितरण गर्न टोली पठायो । त्यसबेला ती कर्मचारी र पञ्चप्रतिनिधिहरूले कसैको घरमा वा चौतारामा बसेर सबै घरका उमेर पुगेका मानिसहरूको नामावली तयार गर्दा महिलाहरूको नाम थाहा नभएर प्रायः जसो महिलाहरूको नाम उनीहरूका श्रीमान्को नाम जे छ त्यसैमा कुमारी, माया, देवी जोडेर तयार गरेका थिए ।

यसबाट महिलाहरू समाजमा कति पछाडि परेका थिए भन्ने बुझ्न सकिन्छ । महिलाहरूको नाम थाहा हुँदैनथ्यो, पिता, पति र छोराहरूका नामबाट उनीहरू चिनिन्थे । महिलालाई व्यक्तिका रूपमा नभएर वस्तुका रूपमा व्यवहार गरिन्थ्यो । जन्ती, मलामी जान महिला पाउँदैनथे तर अहिले समय परिवर्तन भएको छ । महिलाहरू सबै ठाउँ वा क्षेत्रमा संलग्न भएका छन् । राजनीतिमा मात्र होइन सेना र प्रहरीमा समेत महिलाहरूको संलग्नता रहेको छ । महिलाका पक्षमा कानुन बनेका छन् । उनीहरूलाई सम्पत्तिको अधिकार पनि दिइएको छ । महिलालाई सम्पत्तिको मालिक बनाउने नीतिअनुरूप स्थायी सम्पत्ति महिलाका नाममा पास गर्दा निश्चित प्रतिशत राजस्व छुट गरिदिएको छ । कानुनमा आरक्षणको पनि व्यवस्था गरिएको छ ।

यति हुँदाहुँदै हाम्रो समाजमा अझै महिला पछि परेका छन् । केही प्राकृतिक कारण हो र त्यसको विकल्प खोज्न सकिँदैन । तर, केही कारण भने हाम्रो मानसिकता, उनीहरूलाई हेर्ने दृष्टिकोण, यौन, सम्पत्तिसम्बन्धी जस्ता विभिन्न कारण हुनसक्छन् । यस्ता कारणले महिला आफ्नै घरमा पनि घरेलु हिंसामा पर्ने गरेका छन् । यौनहिंसा उनीहरूले भोग्दै आउनुपरेको छ । हालका दिन कानुनमा कडाइ, प्रहरीको निगरानी, गैरसरकारी संस्थाहरूको खबरदारी, चेतनाको विकास, शिक्षाको विकास जस्ता कुराले यस्ता कार्यमा कमी त आएको छ तर आवेशप्रेरित घटना भने कहिल्यै निमिट्यान्न पार्न सम्भव छैन । गरिबी, बाध्यता, प्रलोभन, आशा, अपेक्षा, महत्वाकांक्षालगायत कुराले गर्दा देश छोडेर विदेशी भूमिमा जाने क्रम अहिले बढिरहेको छ ।

तर, उनीहरू यहाँबाट पठाउनेले भनेजस्तो सुरक्षित गन्तव्यमा पुग्न सकेका छैनन् । सबैलाई त्यस्तो अवसर मिल्दैन र तिनीहरू सबैले त्यस्तो मौका पाउने गरेका छैनन् । विदेशी भूमिमा घरेलु कामदारका रूपमा तिनीहरूले बस्नुपरेको हुन्छ । सबैले असल घरमालिक पाउँदैनन् । त्यहाँ तिनीहरूले घरेलुहिंसा र यौनहिंसा समेत व्यहोर्नुपर्ने हुनसक्छ । यस्ता धेरै घटना भएका छन् । बाध्य भएर अनपेक्षित परिणाम व्यहोरेर तिनीहरू फर्किनुपरेका अनगिन्ती घटना छन् । रोजगारीका नाममा उनीहरू आफ्नै देशमा पनि असुरक्षित बन्नुपरेको छ । बेचिनेहरूमा महिला पर्ने गरेका छन् । उनीहरूको तस्करी हुने गरेको छ । सेटिङबाटै वार्षिक पचास हजार महिलाहरू तस्करी हुने गरेको तथ्यांक छ । केही वर्षदेखि वर्षको पचास हजार दरको संख्या जोड्ने हो भने त्यसको कूलसंख्या कहालीलाग्दो हुन आउँछ ।

अवैधानिक रूपमा विदेशमा दुई लाख नेपाली महिला रहेका छन् भनिएको छ । त्यो संख्या निश्चय निकै ठूलो हो । त्यसलाई कम आक्न मिल्दैन, त्यसलाई कम गर्ने उपाय बारे सोचिनुपर्छ । नेपालका गाउँघरमा धनीमानीहरूले राख्ने गरेका कामदार महिला र शहरी क्षेत्रमा घरेलु कामदारका रूपमा रहेका महिलाको संख्यालाई हेर्ने हो भने त्यो संख्या धेरै छ । त्यस्ता महिलाको यकिन तथ्य आउन सकेको छैन । तिनीहरू पनि घरेलु हिंसामा पर्ने गरेका छन् । काम राम्ररी नगरेको, इमानदारीता नदेखाएको लगायत बाहनामा उनीहरू हिंसाको शिकार हुने गरेका छन् ।

यस्तै कारणलाई निहुँ बनाएर उनीहरूलाई दिने भनिएको जति पारिश्रमिक नदिई निकालिने गरिन्छ । घरेलु कामदार राख्दा कुनै कागजी वा कानुनी प्रक्रिया पूरा गरिएको हुँदैन । त्यसकारण ती कानुनी उपचारमा जान सक्दैनन् । मुद्दामामिला गर्ने पैसा भएको भए अरूको घरमा काम गर्न बस्नै पर्ने थिएन । आफ्नो पारिश्रमिक छोड्न उनीहरू बाध्य हुन्छन् । घरेलु कामदारका रूपमा बसेका कतिपय महिला यौनहिंसामा समेत पर्छन् । त्यसकारण अवैधानिक रूपमा महिलालाई विदेश पठाएर विलखबन्ध बनाउनेलाई कडा सजाय गरिनुपर्छ । यसका साथै महिलालाई पनि सचेततासम्बन्धी विभिन्न प्रशिक्षणको आवश्यकता छ । मूलरूपमा कानुन कार्यान्वयन हुन सक्नुपर्छ । राष्ट्रले यसतर्फ ध्यान दिनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?