विश्वकप छनोट क्रिकेट : अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालले विश्वकप छनोटअन्तर्गत मंगलबार भएको खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित हात पारेको छ । ब्याटिङमा भीम सार्की र बलिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्नुभएपछि नेपालले विश्वकप छनोटको दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो ।
अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि भीम सार्कीले ११४ बलमा ७ चौका र एक छक्कासहित ७७ रनको नटआउट पारी खेल्नुभयो । यस्तै, ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र एक छक्काको मद्दतमा ३९ रन बनाउनुभयो । बयालिसौँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै दीपेन्द्रले विजयी रन जोड्नुभएको थियो ।

अर्का ओपनर आसिफ सेख भने १२ रनमा आउट हुनुभयो । कप्तान रोहित पौडेल १६ तथा कुशल मल्ल १३ रनमा आउट भएपछि नेपाललाई भीम र दीपेन्द्रसिंह ऐरीले अघि बढाउनुभएको थियो । दीपेन्द्रले ३२ बलमा ५ चौका र एक छक्कासहित ३५ रनको नटआउट पारी खेल्दै नेपाललाई जित दिलाउनुभयो ।

त्यसअघि जिम्बाबेको ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेल्नुभयो ।

उहाँले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाउनुभयो । यस्तै, सुशान्त मोदनीले ४२ रन बनाउनुभयो । उहाँले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो ।

त्यस्तै, गजानन्द सिंहले २६ रन बनाउनुभयो । उहाँले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो । जसदिप सिंहले २५ बलमा १२ रन बनाउनुभयो ।

करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिनुभएपछि एक समय अमेरिका १८-४ को दयनीय अवस्थामा पुगेको थियो । तर, पाँचौँ विकेटका लागि सुशान्त मोदानी र गजानन्द सिंहले ७३ बलमा ४७ रनको साझेदारी साथ टोलीलाई अघि बढाउनुभयो ।

करणले दोस्रो ओभरमै ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबिडब्लुको शिकार बनाउनुभयो । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्लालाई करणले शून्य रनमा आरिफ शेखबाट क्याच गराउनुभयो । आठौँ ओभरमा करणले आरोन जोन्सलाई आउट गराउनुभयो । दशौं ओभरमा करणले नै नोष्तुश केन्जिगेलाई एक रनमा आरिफबाट स्लिपमा क्याच गराउनुभएपछि नेपाल खेलमा हाबी भएको थियो ।

नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिनुभयो । ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिनुभयो । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिँदा विकेट लिन सक्नुभएन ।

आइसिसी विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा छ । उक्त समूहमा नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।

अब नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपालले सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?