विदेश पठाइदिने भन्दै सात हजार युवाबाट पाँच करोड ठगी

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-४ का रविन्द्र अर्याल क्रोएसिया वैदेशिक रोजगारीमा जाने प्रलोभनमा परी ५० हजार रुपैयाँ ठगिनुभयो । उहाँले सामाजिक सञ्जालमा गरिएको विज्ञापनका आधारमा क्रोएसिया रोजगारीमा जान थाक्रे गाउँपालिकाकै शालिकराम अर्याललाई ५० हजार रुपैयाँ नगद बुझाउनुभएको थियो । शालिकरामले एक वर्षसम्म क्रोएसिया नपठाएपछि रविन्द्रले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो । रविन्द्रको उजुरीका आधारमा शालिकरामलाई प्रहरीले पक्राउ गरेको छ ।

क्रोएसिया रोजगारीमा जाने प्रलोभनमा परी ७० हजार रुपैयाँभन्दा बढी खर्च भएको रविन्द्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा गरेको विज्ञापनको प्रलोभनमा पर्दा ठगिएँ । एकातिर पैसा गयो भने अर्कोतिर राहदानीसमेत हरायो ।’ रविन्द्रजस्तै वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा परी काठमाडौंकै सुरज श्रेष्ठ पनि ठगिनुभएको छ । उहाँलाई इलाम रोङ गाउँपालिका–६ का उमेश सेती सुरुवालले सामाजिक सञ्जालमा विज्ञापन गरेर ठगी गरेका छन् । श्रेष्ठलाई पोर्चुगलको राम्रो कम्पनीमा पठाइदिने प्रलोभनमा पारी सुरुवालले चार लाख रुपैयाँ ठगी गरेका थिए ।

पछिल्लो समय युरोपेली मुलुकमा आकर्षक तलब र सेवा-सुविधा हुने प्रलोभन देखाई सामाजिक सञ्जालबाट गरिने विज्ञापनमार्फत् ठगी गर्ने क्रम बढेको विभागले जनाएको छ ।

पोर्चुगलको रोजगारीमा पठाइदिने प्रलोभनसहितको विज्ञापन देखेर राहदानी पेश गर्दा ५० हजार रुपैयाँ दिएको श्रेष्ठले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘भिसा लाग्यो भन्दै दलालले चारपटकमा चार लाख लियो तर सात महिनासम्म पठाएन । अन्तिममा फोन सम्पर्कविहीन भएपछि प्रहरीमा गएँ ।’ सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गरी रोजगारीका नाममा ठगी भइरहेको छ । देशभित्र केही गर्ने अवसर र रोजगारी नभएका कारण वैदेशिक रोजगारीमा जान खोज्दा दलालबाट ठगिनुपरेको उहाँको गुनासो छ । अर्याल र श्रेष्ठजस्तै सल्यानका नवराज घिमिरे पनि क्यानडा रोजगारीको प्रलोभनमा परी ठगिनुभएको छ । उहाँलाई काठामाडौं बुढानीलकण्ठकी फूलमाया जिरेलले वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने प्रलोभन देखाएर तीन लाख ७४ हजार रुपैयाँ ठगेकी हुन् । घिमिरे पनि सामाजिक सञ्जालमा गरिएको विज्ञापनका आधारमा ठगिनुभएको हो । क्यानडाको कृषिमा राम्रो रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालको विज्ञापनका आधारमा ठगिएको घिमिरेले बताउनुभयो । क्यानडा रोजगारीको प्रलोभनमा परी राहदानी र करिब चार लाख रुपैयाँ ठगिएको उहाँको भनाइ छ ।

पछिल्लो समय युरोपेली मुलुकमा आकर्षक तलब र सेवा-सुविधा हुने प्रलोभन देखाई सामाजिक सञ्जालबाट गरिने विज्ञापनमार्फत् ठगी गर्ने क्रम बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सामाजिक सञ्जालबाट गरिने विज्ञापनमार्फत् मासिक करिब सात हजारभन्दा बढी वैदेशिक रोजगारीको खोजीमा रहेका युवा ठगिने गरेका छन् । सामाजिक सञ्जालबाट गरिने विज्ञापनमार्फत् प्रतिव्यक्ति ३० देखि ७० हजारसम्म प्रोसेसिङका नाममा ठगी भइरहेको विभागले जनाएको छ । भ्रमपूर्ण विज्ञापनका आधारमा वैदेशिक रोजगारी प्रक्रिया सुरु गर्नुपूर्व आवश्यक सबै प्रक्रिया तथा विषय भन्दै मासिक पाँच करोडभन्दा बढी ठगी भइरहेको विभागको भनाइ छ ।

युरोपेली मुलुक रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र पोल्याण्डलगायतका देशको वैदेशिक रोजगारीको प्रलोभनमा परी शिक्षित युवा नै ठगीमा परिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताउनुभयो ।

युरोपेली मुलुक, अमेरिका र क्यानडाजस्ता देशमा वर्किङ भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्ने गिरोह सक्रिय भएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक दाहालले भन्नुभयो, ‘भ्रमपूर्ण विज्ञापनकै आधारमा धेरै युवा ठगिएका छन् । यो अहिले समस्याका रूपमा देखा परेको छ । सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापनबाट सामान्यदेखि ठूलो रकम ठगी भइरहेको छ । म्यानपावर कम्पनीभन्दा पनि सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने व्यक्तिगत गिरोह ठूलो छ ।’

सामाजिक सञ्जालको विज्ञापनमा रोजगारीका नाममा ठगिएका मासिक दुई सयभन्दा बढी पीडित समस्या लिएर जाने गरेको विभागले जनाएको छ । यसरी समस्या लिएर जाने पीडित प्रतिव्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँभन्दा माथि ठगीमा परेको उजुरी लिएर आउने गरेका हुन् । विभागले सामाजिक सञ्जालमा आएका वैदेशिक रोजगारसम्बन्धी विज्ञापनको भ्रममा नपर्न सचेत गराएको छ ।

विभागले फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालबाट पछिल्लो समय युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारीसम्बन्धी विभिन्न विज्ञापन गर्दै ठगी गर्ने क्रम बढेको उल्लेख गरेको छ । विभागले त्यस्ता क्रियाकलापमा संलग्नमाथि कारबाहीको चेतावनीसमेत दिएको छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)हरूले प्रचलित कानुनबमोजिम नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै विभागले आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न पनि सम्बन्धित सबैलाई सचेत गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?