सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ ।

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो बताउनुभएको हो । उहाँले परराष्ट्र मन्त्रालय महँगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको बताउनु भयो।

उहाँले सरकारले सार्वजनिक खरिद कानून अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य(भेरियसन)तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको बताउनु भयो। मन्त्री साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रश्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताउनु भयो।

उहाँले अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउनु भयो। उहाँले राहदानीको माग अत्याधिक रहेकाले महँगोमा भएपनि राहदानी खरिद गरी राहदानी वितरण गरिरहेको बताउनु भयो। उहाँले ६६ पृष्टको राहदानीसमेत ५ लाख राहदानीकोे मौज्दात रहेकाले सो मौज्दातले करिव ४ महिना मात्रै धान्नसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले ४ महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भएपनि खरिद गर्नुको विकल्प मन्त्रालयलाई नभएको बताउनु भयो ।

समिति बैठकमा राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले राहदानीको माग अत्याधिक रहेकाले राहदानी विभागमा भिडभाड भएको बताउनु भयो। उहाँले विद्युतीय राहदानी हाईटेक प्रविधि भएकाले जिल्लाहरुबाट वितरण गर्दा समस्या भएको पनि बताउनु भयो। उहाँले जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयहरुको सहयोग विभागले लिनुपर्ने भन्दै सुरुका दिनमा जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी प्रयोग गर्नसक्ने दक्ष जनशक्ति कम रहेको बताउनु भयो। उहाँले गृह मन्त्रालयले ५६ वटा जिल्लाहरुमा १७ जना जनशक्ति थप गरेपश्चात केही सहज भएको बताउनु भयो। उहाँले राहदानी विभागको भीड कम गर्न जिल्ला प्रशासन कार्यालयहरुबाट राहदानी वितरण प्रक्रिया थालनी गरेकाले पछिल्लो ५ महिना सहज भएको बताउनु भयो।

उहाँले अहिले औसतमा दैनिक ६ हजार ५०० सम्म राहदानी छपाई हुने बताउनु भयो। उहाँले ६ हजार ५०० राहदानी छपाईमा विभागमा १५ सयसम्म हुने बताउनु भयो। उहाँले राहदानी विभागमा जनशक्ति अपुग रहेको पनि बताउनु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?