भारत-अमेरिका साझेदारीले दिगो, समावेशी विश्वव्यापी वृद्धिका लागि चालु इञ्जिनको रूपमा काम गर्ने : मोदी

Read Time = 4 mins

भर्जिनिया । भारत र संयुक्त राज्य अमेरिका बीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउण्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गर्नु भएको हो ।

प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिनुभएको छ । ‘विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ । एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ । त्यसैले मलाई विश्वास छ-भारत-अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन सावित हुनेछ’, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

यसअघि बुधबार वासिंटन डिसी पुग्नुभएका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको थियो । प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गर्नु भएको राजकीय रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउण्डेशनको भ्रमण गर्नु भएको हो । सो अवसरमा उहाँहरूले महत्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गर्नु भएको थियो ।

सो अन्तर्क्रियामा नयाँ शिक्षा नीति लागू गर्ने, शिक्षा र सीपलाई एकीकृत गर्नेजस्ता विद्यार्थीको उज्ज्वल भविष्य सुरक्षित गर्न भारत सरकारले गरेका पहलमाथि प्रकाश पारिएको थियो । विद्यार्थीको उज्ज्वल भविष्यका लागि भारत सरकारले गरेको कामको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीति ल्याइएको र शिक्षा र सीपलाई एकीकृत गर्ने योजना बनाएको बताउनु भएको छ । स्किल इण्डियाअन्तर्गत भारतले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, ड्रोनको क्षेत्रमा ‘१५ अर्ब मानिस’लाई दक्ष बनाएको छ ।

उहाँले विद्यालयमा भारत सरकारले १० हजार अटल टिंकरिङ ल्याब स्थापना गरी बालबालिकालाई आविष्कारमा संलग्न हुने सुविधा उपलब्ध गराएको पनि जानकारी दिनुभएको छ । प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउन आग्रह गर्दै अमेरिकाका सयौं शिक्षक पहिले देखिनै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताउनु भएको छ ।

भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रमको प्रस्ताव गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘हामी भारत-अमेरिका शिक्षक आदानप्रदान कार्यक्रम सुरु गर्ने बारे सोच्न सक्छौं । वैज्ञानिकको संलग्नता बढाउन यो अत्यन्तै सान्दर्भिक छ ।’ रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?