मौद्रिक नीतिमा नाडाका पाँचबुँदे सुझाव

Read Time = 5 mins

काठमाडौं । नाडा अटोमोबाइल्स नेपालले आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा सुझाव दिएको छ । वर्तमान विश्व परिवेशमा अटोमोबाइल क्षेत्र विलासिताको वस्तु नभई अत्यावश्यकअन्तर्गत नै रहेकाले अटोमोबाइल व्यवसायलाई व्यापारका रूपमा नभई उद्योगका रूपमा हेर्नुपर्ने नाडाको जोड छ । नाडाका अनुसार नेपालको अटोमोबाइल क्षेत्रले देशको राजस्वमा महत्वपूर्ण योगदान दिँदै प्रत्यक्षरूपमा एक लाख र अप्रत्यक्ष १० लाख नागरिकलाई रोजगारीसमेत प्रदान गरेको छ ।

त्यतिमात्र नभई नेपालको विज्ञापन बजारमा लगभग ४० प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले लिएको छ भने निर्जीवन बिमामा पनि यस क्षेत्रले ५० प्रतिशत योगदान दिएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा हाल एक खर्बभन्दा बढीको लगानी रहेको र नेपालको अटोमोबाइल व्यवसाय विद्यमान व्यवसायमध्ये सर्वाधिक पारदर्शी व्यवसाय रहेको नाडाको भनाइ छ ।

सुझावको समुचित सम्बोधन भएमा नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजस्वमा पनि पर्ने नाडाका अध्यक्ष डा. थापाले बताउनुभएको छ ।

देशको अर्थतन्त्रको सुधारका लागि राष्ट्र बैंकले विगतमा लिएका ठोस पहलकदमीका कारण हाल देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको जनाएको छ । साथै विद्यमान तरलतामा पनि सुधार आएका कारण अर्थतन्त्रमा पनि गतिशीलता देखा परेको र देशको समग्र स्थितिमा सुधार आएको देखिएको भन्दै नाडाले मौद्रिक नीतिमा विभिन्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा लगानीका हिसाबले नेपालको अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको भन्दै हाल विद्यमान मौद्रिक नीतिमा जोखिमभार १५० प्रतिशतसम्म रहेका कारण बैंक तथा वित्तीय निकायको तरलता अवस्थामा सुधार भएपछि पनि यस क्षेत्रमा ऋण लगानी गर्ने अवस्था नरहेकाले व्यवसायीलाई ठूलो मर्का पर्न गएको बताइएको छ । जसका कारण सवारीसाधन आयातमा समेत कमी आई सरकारको राजस्वमा समेत नकारात्मक प्रभाव पर्न गएकाले जोखिम भार व्यवस्था पुरानै अर्थात् ७५ प्रतिशत नै कायम गर्न आग्रह गरेको छ ।

नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन बैंकहरूबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशत सीमा वृद्धि गरी ८० प्रतिशत पुर्‍याउनुपर्ने बताइएको छ ।

चालु पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्थाअनुसार चैतसम्म साँवा र ब्याज बुझाएका व्यवसायीलाई ब्याज र किस्ता बुझाउने समय थपका लागि नीतिमा कुरा आएकाले उक्त समयभित्र अर्थात् चैतअघि नै सो साँवा र ब्याज तिर्न नसकेका व्यवसायीलाई समेत सो समय थप गरिदिन नाडाले आग्रह गरेको छ । दुई करोडभन्दा माथिको व्यवसायमा कुल कारोबारको २५ प्रतिशतमात्रै बैंकबाट लगानी गर्ने व्यवस्था लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पुनरावलोकन गरिनुपर्ने, व्यवसायीले डिओ पाएर नामसारी र सवारीसाधनको डेलिभरी गरेपछि बैंकहरूले भुक्तानी गर्ने समयावधि तोकिनुपर्ने र त्यसका लागि हप्ता दिनभित्र भुक्तानी व्यवस्था गरिनुपर्ने नाडाको माग छ ।

उल्लेखित सुझावको समुचित सम्बोधन भएमा नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजस्वमा पनि पर्ने नाडाका अध्यक्ष डा. ध्रुव थापाले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?