गल्फ टोलीले भारतमा प्रशिक्षण गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १९औँ एसियाली खेलकुद (एसियाड)का लागि नेपाली गल्फ टोलीले भारतमा प्रशिक्षण गर्ने भएको छ । प्रशिक्षणका लागि ६ सदस्यीय गल्फ टोली शनिबार भारतको बैंग्लोर प्रस्थान गरेको छ । प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुश्मा सिग्देलसहित ६ सदस्यीय नेपाली टोली तरुण सरदेसाई गल्फ एकेडेमीमा तीन महिनाको विशेष प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपाल नम्बर १ प्रो राई हाल जर्मनीको ड्रेसडेनमा प्रशिक्षणमा रहनुभएको छ । उहाँ एक महिनापश्चात् बैंग्लोर पुग्ने नेपाल गल्फ संघका सदस्य तथा युवा विकास निर्देशक दीपक आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय गल्फ खेलाडीहरूले प्रशिक्षणका क्रममा फिजिकल फिटनेस, न्युट्रिसन र मनोवैज्ञानिक सत्रका साथ तालिम लिनेछन् ।

गल्फ खेलाडीहरू सेप्टेम्बर २० सम्म तरुण सरदेसाई गल्फ एकेडेमीमा रहनेछन् र सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने होङझाओ एसियाली खेलकुदमा सहभागी हुनेछन् ।

एकेडेमीका निर्देशक तथा पूर्वभारतीय प्रोफेसनल गल्फर तरुण सरदेसाईको नेतृत्वमा प्रशिक्षण हुनेछ । प्रशिक्षण दौरान प्रत्येक साता प्रतियोगिता पनि हुनेछ । यसैबीच सुवास र सद्भाव अर्किड कन्ट्री क्लबमा जुलाई १५ देखि १९ सम्म हुने सिंगापुर एमेच्योर ओपनमा समेत सहभागी हुनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?