बजेटमा असन्तुलन हुन गएको छः मन्त्री किराती

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो । उहाँले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो । उहाँले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताउनु भयो ।

उहाँले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताउनु भयो । मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना-साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताउनु भयो । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन । हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट । पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु प¥यो । धरै योजनाहरु अटाउनै सकिएन । सबैको चित्त प्रशन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु । माननीय सांसदहरुको मागलाई हामीले लिपिवद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ । त्यहाँ पनि बजेटको सीमाले योजनाहरु पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला । बजेको सिमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो । हँुदाहुँदै पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरु समावेश गरिएको छ । समावेश गरिएका कार्यक्रमहरु धेरै साना–साना बजेटका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्य सम्पन्न भएको सबैलाई अवगत नै छ ।’

उहाँले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको छ बताउनु भयो । उहाँले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?