आशिषलाई एमेच्योर बुद्धिचालको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । दोलखाका आशिष फुयालले सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ । आशिषले अन्तिम चरणको खेलमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसँग बराबरी खेल्नुभएको थियो ।

नवौँ चरणसम्म भएको खेलमा आशिषले अपराजित रहेर ६ खेलमा जित निकाल्नुभयो भने तीन खेलमा बराबरी खेल्दै साढे सात अंकसहित पाँचौँ राष्ट्रिय एमेच्योर विजेता बन्नुभएको हो । आशिषले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त गर्नुभयो । त्यसैगरी काठमाडौंका १४ वर्षीय पुरुषोत्तम सिलवाल दोस्रो हुनुभयो ।

सात अंक जोड्नुभएका पुरुषोत्तमले समान अंक जोडेका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई ट्राइबेकरमा पछाडि पार्नुभएको थियो । पुरुषोत्तमले नवौँ चरणको खेलमा ललितपुरका क्याण्डिडेट मास्टरलाई हराउन सफल हुनुभयो । नवीन तण्डुकार तेस्रो हुनुभयो । पुरुषोत्तमले २५ हजार र नवीनले १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

त्यसैगरी काठमाडौंका सुसुरत दाहाल चौथो, कैलालीका रोशन थापा पाँचौँ, कञ्चनपुरका टेकेन्द्रराज पाठक छैटौँ, बाँकेका तीर्थबहादुर विक सातौँ, दोलखाका राजीव कार्की आठौँ, काठमाडौंका पुरुषोत्तम चौलागाईं नवौँ र महोत्तरीका लक्ष्मणकुमार सेठ दसौँ हुनुभयो ।

महिलातर्फ कुसुम पाण्डे विजयी हुनुभयो । मोरडकी शान्ति धिमाल दोस्रो र झापाकी पूजा सिंखडा तेस्रो हुनुभयो । कुसुमले २० हजार, शान्तिले १५ हजार र पूजाले १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा ३५ जिल्लाका ८५ जना खेलाडीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?