मन्दिर भित्रै ‘यौनजन्य दुर्व्यवहार ’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । भगवानसँग मनोकामना पूरा होस् भनि आर्शिवाद लिन मठ, मन्दिर धाउने गरिन्छ । मन्दिरमा गएर चाहेको कुराहरु पाउने जनविश्वासले मानिस मन्दिर गई पूजाआजा गर्ने गर्छन् । हरेक मठ–मन्दिरमा पुजारीले पूजा गर्छन् । सबैले पुजारीलाई भगवानसरह मान्ने चलन छ । तर कतिपय पुजारीहरु भने यौनजन्य कार्यमा लिप्त हुने गरेको पाइन्छ ।

पाल्पाको ऐतिहासिक भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगीले यौनजन्य दुव्र्यवहार गरेको खुल्न आएको छ । योगीले टिका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको हो । विगत २२ वर्षदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा कार्य गर्दै आउनुभएका ७० वर्षीय योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीहरुलाई टिका लगाईदिने क्रममा यौनजन्य दुव्र्यवहार गर्ने गरेको सिसि क्यामार फुटेजबाट थाहा हुन आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

महिला दर्शनार्थीहरुलाई टिका लगाईदिने क्रममा यौनजन्य दुव्र्यवहार गरेको भन्ने समाचार विभिन्न मिडिया र सामाजिक सञ्जालमा आएपछि समितिले मन्दिरमा जडित सिसि क्यामराको फुटेज हेरेको थियो । उक्त फुुटेजमा समाचारमा उल्लेख भए जस्तै कुरा फेला परेको समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘दर्शन गर्न आउनुभएका महिला तथा किशोरीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उहाँहरूको छाती र स्तनमा हातले छुने गरेको सिसि क्यामराको फूटेजमा देखिएको छ ।’

योगी निलम्बित 

मन्दिर व्यवस्थापन समितिले पुजारी योगीलाई निलम्बन गरेको छ । योगीले टिका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुव्र्यहार गरेको विषय बाहिर आएपछि मन्दिर व्यवस्थापन समितिले विहिवारदेखि लागू हुने गरी निलम्बन गरेको हो । यो मन्दिरमा नाथ सम्प्रदायका योगी पुुजारी रहने व्यवस्था छ । जसका कारण योगीले वर्षौदेखि मन्दिरमा पूजा आजा गर्दै आउनुभएको थियो ।

उहाँले मन्दिरमा दर्शनका लागि आउने भक्तजन तथा दर्शनार्थी माथि गरेको व्यवहारका कारण थप अनुसन्धान गर्न निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन प्रहरीलाई सहज होस् भनेर योगीलाई निलम्बन गरिएको छ ।’ घटना बाहिर आएपछि योगी निलम्बन भए पनि जिल्ला प्रहरी कार्यालयमा पिडितबाट जाहेरी भने परेको छैन । पूजारीको विषयमा जानकारी प्राप्त भए पनि पिडितबाट जाहेरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘पिडिततर्फबाट मौखिक रुपमा बुझ्ने काम भएको तर लिखित रुपमा जाहेरी आएको छैन् ।’ प्रहरीले घटनाको सुक्ष्म अध्ययन भने गरेको छ । समितिले पुजारी योगीलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ । उहाँको घर दाङ हो ।

आर्थिक अनियमितामा समेत योगीको संलग्नता

आर्थिक अनियमितामा समेत बेला बेलामा उहाँ मुछिदै आउनुुभएको छ । उहाँले यस अघि मन्दिरमा दर्शनार्थीले दान पत्रमा चढाएको भेटी र जिन्सी सामग्रीमा अनिमियत गर्ने गरेको पाइएको थियो । मन्दिरमा आर्थिक अनियमिता भएपछि अख्तियार अनुुसन्धान आयोगमा उजुरी समेत परेको थियो । समितिले योगीको मासिक तलव १८ हजार ४ सय निर्धारण गरे पनि मन्दिरमा चढाइएको दान, भेटी आफू खुशी प्रयोग गर्दै आउनुुभएको थियो । मुख्य पुजारी निलम्बनमा परे पनि मन्दिरको नियमित पूजा भने रोकिएको छैन । मन्दिर व्यवस्थापन समितिले नियमानुसार दैनिक पुजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।

निलम्बन गरेपछि समितिलाई दवाब

मन्दिर व्यवस्थापन समितिले पुुजारीलाई निलम्बन गरेपछि समिति माथि दवाब आउने गरेको छ । घटनाको सत्य तथ्य नबुझि सम्मानित गुुरुको अपमान गरेको भन्दै उनका आफ्न्त र केही उच्चपदस्थ व्यक्तिहरुबाट समितिलाई दवाब आउने गरेको हो । पुजारीसँग साँठगाठ भएका व्यक्तिहरुले समितिको नेतृत्वलाई फोन गरी पुजारी योगीले त्यस्तो कार्य गर्न नसक्ने तर राजनीतिक प्रतिशोध साँधेर त्यस्तो गरिएको हुन सक्ने भन्दै दवाब आउने गरेको स्रोतले जनाएको छ । समितिले भने विभिन्न मिडियाहरुमा समाचार आएको र सिसि क्यामाराको फुटेजमा समेत पुजारीबाट नराम्रो हर्कतका घटनाहरु देखिएकोले थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ ।

यहाँको मन्दिर देश तथा विदेशमा समेत प्राख्यात मानिन्छ । मन्दिरमा भारत, चिन, बेलायत, अमेरिका, रसियन, भियतनाम लगायतका देशहरुबाट नागरिकहरु समेत दर्शन गर्न आउने गर्दछन् । भारतबाट मात्रै वार्षिक ६ सयदेखि एक हजार हाराहारीमा पर्यटक मन्दिरमा पूजा गर्न आउने गर्छन् । पाल्पा भैरव पहिला पहिला धार्मिक आस्थाको केन्द्रको रुपमा मात्र सीमित थियो । तर, धार्मिक तथा ऐतिहासिक रुपमा यसको चर्चा र महत्व बाहिरिएपछि पर्यटकीय गन्तव्यको रुपमा बदलिएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास भएसँगै सरकारले सुरक्षा चासो बढाएको छ । मन्दिरका लागि अहिले एक प्रहरीको समेत व्यवस्था गरिएको छ ।

मन्दिर क्षेत्रमा मानवीय रुपमा सम्भावित जोखिमको न्यूनीकरणका लागि सीसीटीभी जडान गरिएको छ । तानसेनदेखि करिब १० किलोमिटर पश्चिममा भैरव मन्दिर छ । एकिकरणपूर्व चौबिसे राज्यमध्ये पाल्पा पनि एक थियो । सेन वंशका राजा मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वका काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौं खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गीनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ । भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ । मन्दिरमा भाक्कल पुजा, क्षमापुजा, पञ्चबली पुजा हुन्छ । यहाँ प्रसादको रुपमा चढाइने रोटको विशेष महत्व हुन्छ । नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रुपमा मानिन्छ । सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजागर सिर्जना हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?