तानसेनमा खानेपानी उपभोक्ता समिति र नगर सरकारबीच विवाद

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 11 mins

पाल्पा । तानसेन खानेपानी उपभोक्ता समिति र तानसेन नगर सरकारबीच विवाद चार्किएको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रूपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले समितिमाथि हस्तक्षप गर्दा विवाद चर्किएको हो । राजनीतिक भागबण्डामा बनेको उपभोक्ता समितिले काम गर्न नसक्दा नगरभित्रका उपभोक्ता वर्षौंदेखि मारमा पर्दै आएका छन् । तीनवर्षे कार्यकाल रहेको उपभोक्ता समितिले २०७३ पछि निर्वाचन गर्न सकेको छैन् । वर्षौदेखि साधारणसभा र अधिवेशनबिनै सञ्चालन भएको उपभोक्ता समितिले आफूखुसी अधिवेशन गर्न लागेपछि नगर सरकारले समितिमाथि हस्तक्षेप गर्न थालेको हो । नगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई समेत पत्र लेखेर तत्काल तदर्थ समिति घोषणा गरी सहयोग गर्न भनेको छ । नगरपालिकाले उपभोक्ता समिति अबैध रूपमा सञ्चालन भएको र समितिको विधान, ऐन कानुनविपरीत रहेको नगरपालिकाले जिकिर गरेको छ ।

पछिल्लोपटक समितिले तानसेन नगरपालिकालाई निर्वाचन गराउने जिम्मा दिएको थियो । समितिले विधान सच्याउन नमानेपछि नगरपालिकाले प्रमाणित गरेन । निर्वाचन स्थगित गर्‍यो । उपभोक्ता समितिले तानसेन नगरपालिकामा विधान प्रमाणित नगरिकन नेपाल बार एसोसिएसनलाई चुनाव गराउने जिम्मा दिएको छ । पछिल्लो दुई सातायता समितिका पदाधिकारी, सदस्यले राजीनामा दिने, उपभोक्ता समितिका अध्यक्ष र तानसेन नगरपालिका विज्ञप्तिबाजीमा उत्रिएका छन् । समितिका कार्यवाहक अध्यक्ष पुरनमान बज्राचार्यले नगरपालिकालाई गैरकानुनी गतिविधि रोक्न भन्दै विज्ञप्ति निकाल्नुुभएको छ । नगरपालिकाले बुधबार उपभोक्ताको भेला बोलाएको थियो ।

वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । उनीहरूले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताए । उनीहरूले उपभोक्ता समितिको गैरजिम्मेवारीपना अब सहन नसक्ने भन्दै तत्काल समिति खारेज गरी नगर सरकारले सर्वसुलभ रूपमा तानसेनवासीलाई पानी खुवाउनुपर्नेमा जोड दिएका छन् ।

भेलामा उपभोक्ता चित्रवलिराम सुवालले खानेपानीलाई व्यवस्थित गर्ने गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो । उहाँले ‘तानसेनमा पानी नभएको हैन, त्यसलाई उपभोक्ता समितले व्यवस्थित गर्न नसक्दा हामीले दिनहुँ खानेपानीको समस्या झेल्नु परेको छ ।’ तत्काल नगर सरकारले स्वच्छ र सफा खानेपानी खुवाउने प्रतिवद्धता जनाउदै जिम्मेवारी लिने बेला आएको बताउनुभयो । तानसेनमा खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायलाई पटक-पटक दबाब दिँदै संघर्षको अगुवाई गर्दै आएका सूर्यबहादुर बोहोराले अवैधानिक समितिलाई खारेज गरी उपभोक्तालाई सहज रूपमा खानेपानी दिने गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताउनुुभयो । उहाँले भन्नुभयो, ‘खानेपानी समस्या समाधानका लागि बरु पार्टी छोडौँ तर पानी खुवाऊँ भन्दै हामीले पटक-पटक समितिको नेतृत्वलाई आग्रह ग¥यो तर त्यसतर्फ समितिले चासो दिएन, तानसेनमा खानेपानीको समस्या छैन, व्यवस्थापनको अभाव हो ।’

उपभोक्ता रमा पन्तले खानेपानीबाट महिला बढी पीडित रहेको भन्दै त्यसको समाधानमा नगर सरकारले ध्यान दिनुपर्ने बताउनुुभयो । उहाँले उपभोक्ता समितिले पानी खुवाउन नसकेको भन्दै नगर सरकारले अब त्यसको जिम्मा लिएर आम उपभोक्तालाई पानीको व्यवस्था गर्न आग्रह गर्नुभयो । पन्तले भन्नुभयो। ‘काकाकुल जस्तो धरानमा मेयरले पानी खुवाउन सक्ने, यहाँका मेयरले नसक्ने ? यस्तो हुँदैन, अब नगर सरकारले खानेपानीको जिम्मा लिओस् र सर्वसुलभबाट पानी खुवाओस् ।’ पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनले सबै उपभोक्ताको एउटै धारणा नगर सरकारले खानेपानीको जिम्मा लिनुपर्ने रहेको भन्दै त्यसका लागि नगर सरकारले पानी खुवाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुुभयो । उहाँले उपभोक्ता समितिले जस्तो काम नगरी पानीलाई व्यवस्थित गर्ने गरी त्यसको जिम्मा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले करोडौँ लगानीका होटल खुले पनि पानी अभावले समस्या झेल्नु परेको बताउनुुभयो । उहाँले मेलञ्चीको पानी काठमाडौंमा ल्याएर खानेपाीको समस्या समाधान गर्न सकिएको भन्दै तानसेनमा पनि स्थानीय सरकारले चाहेमा गर्न सकिने बताउनुुभयो । पाल्पा व्यापार संघका थानेश्वर गैरेले खानेपानीको जिम्मा नगर सरकारलाई दिँदै गर्दा भोलि उपभोक्ता समितिको जस्तै अवस्था नहोस् भन्दै नगर सरकारलाई सचेत गराउनुभयो ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगर सरकार नियमन गर्ने निकाय भएको भन्दै उपभोक्ताहरूबाट आएको सुझावलाई आत्मसाथ गर्ने बताउनुभयो । उहाँले भन्नुुभयो ‘खानेपानी खुवाउने दायित्व नगर सरकारको हो, तर यसको प्रक्रिया हुन्छ, सोही प्रक्रियाअनुुसार नगर सरकारले काम गर्नेछ ।’ नगरपालिकाले एउटा समिति बाउने र त्यसबाट स्पष्ट धारणा बनाउनेसमेत उहाँले बताउनुभयो । उहाँले समिति बनाएर नगरवासीलाई सहज र सुलभ रूपमा पानी खुवाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपभोक्ता समिति खारेज गर्ने निर्णय
यस्तै, उपभोक्ताहरूको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । पूर्णमाया महर्जनको अध्यक्षतामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरिकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो । भेलाले तानसेन नगरपालिकाको प्रत्यक्ष संलग्नता र निगरानीमा नगर कार्यपालिकाको बैठकबाट अर्को निर्वाचन नभएसम्मको लागि तदर्थ समिति गठन गरी सञ्चालन गराउन तानसेन नगरपालिकालाई अख्तियारी प्रदान गर्ने बताएको छ । उसले तदर्थ समितिले बढीमा ६ महिनाभित्र, तानसेन नगरपालिकाले मिति २०८०/०१/२८ मा दिइएको ३ महलिय, १८ बुँदे विधान संशोधनसम्बन्धी लिखित सुझावका साथै अन्य आवश्यक सुझावहरू समावेश गरी विधानलाई नियमनकारी निकायबाट प्रमाणीकरण गराई संशोधित विधानबमोजिम निर्वाचन सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने अधिकार दिनेसमेत निर्णय गरेको छ ।

साबिक उपभोक्ता समितिले सञ्चालन गरेको बैंक खाताहरू कार्यपालिकाले निर्माण गर्ने तदर्थ समितिको मातहतमा नआएसम्म रोक्का गर्ने, नगरपालिका र सम्बन्धित बैंकलाई अनुरोध गर्ने पनि भेला निर्णय गरेको छ । निर्वाचनको माध्यमबाट नयाँ उपभोक्ता समितिले कार्यभार ग्रहण नगर्दासम्म तानसेन खानेपानीको सञ्चालन रेखदेख, नियन्त्रण, कर्मचारी व्यवस्थापन लगायतका सम्पूर्ण कार्यहरू तानसेन नगरपालिकाको प्रत्यक्ष निगरानीमा गठित तदर्थ समितिबाट गर्ने गराउने गरी अख्तियारी दिनेसमेत भेलाले निर्णय गरेको छ ।

यसैबीच, उपभोक्ता समितिमा रहेका पदाधिकारी र सदस्यहरूले धामाधम राजीनामा दिइरहेका छन् । उनीहरूले समिति अवैधानिक बाटोबाट चल्न थालेपछि राजीनामा दिएका हुन् । अहिले कार्यवाहक अध्यक्ष पुरनमान बज्राचार्य र कोषाध्यक्ष भीमसेन कार्कीबाहेक सबै पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यले धामाधम राजीनामा दिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?