दही, चिउरा र रोपाइँ सँगसँगै

Read Time = 6 mins

✍️ प्रल्हाद दाहाल

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनका रूपमा लिइने गरिन्छ । यो परापूर्वकालदेखि दही, चिउरा खाने र मानो रोपेर मुरी फलाउने सुरुवाती दिन भएकाले असार १५ लाई विगत १८ वर्षदेखि धान दिवसका रूपमा पनि मनाउने गरिएको छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले तत्कालीन कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने परम्परा बसालेको हो ।

यस दिनलाई रोपाइँ महोत्सवका रूपमासमेत मनाउने गरिन्छ । त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी धान दिवस मनाइने गरिन्छ । सन् २००४ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो ।

कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धान उत्पादनलाई महत्व दिँदै आएको छ । सरकारी तथ्यांक अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि आमकिसानमाझ अझै पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादन बढ्न नसकेको कृषिविज्ञहरूले बताउने गरेका छन् ।

नेपाली संस्कृति अनुसार खेतमा रोपाइँ गरी दही-चिउरा खाने भएकाले यस दिनलाई दही, चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ । वर्षायाममा हिलाम्य भएको शरीरमा दही खाँदा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन सुरु भएको विज्ञहरू बताउँछन् । यस दिनमा अधिकांश नेपालीले दही-चिउरा खाने भएकाले दहीको महत्व बढेको हो । यसदिन अन्य दिनको तुलनामा दहीको बढी खपत हुनेगरेको छ, जसका लागि डेरी व्यवसायीले एक हप्ताअघिदेखि दहीको जोहो गरेर राख्छन् । अन्य बेला कहिल्यै दही नखानेहरू पनि यसदिन दही खाने गर्छन् । दही नपाइएला भनेर ग्राहक अघिल्लै दिनदेखि खरिद गरेर राख्ने गर्छन् । मानिसहरू दही, चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्छन् । गाउँघरतिर भने सबैले घरघरमा आफैंले दही जमाएर खाने प्रचलन छ तर शहरी क्षेत्रमा कसै-कसैले आफैं जमाए पनि धेरैजसोले किनेर खाने चलन छ ।

पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइँ महोत्सव भनेर विगत १६ वर्षदेखि मनाउँदै आइएको छ । जसका कारण आन्तरिक र बाहृय पर्यटक बढ्ने गरेका छन् । आजभोलि विद्यालयका विद्यार्थीलाई पनि दही-चिउरा खुवाउने र रोपाइँमा सहभागी गराउने गरिएको छ । यो राम्रो पक्ष हो । पहिले-पहिले बाजा बजाएर नाँचगान गर्दै रोपाइँ गर्ने चलन थियो, त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो । धेरै खेती हुने जमिन्दारले गर्ने गर्थे तर आजभोलि यो चलन हट्दै गएको छ । यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रो परम्परा लोप हुँदै जान्छ । यसलाई देखावटीमात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । यसले हाम्रो कृषि प्रधान देशमा धेरै ठूलो महत्व राख्छ ।

हामीले कतिपटक धान दिवस मनायौं भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले महत्व राख्छ । हाम्रो देशमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै धान हो तर सम्भावना बोकेको क्षेत्रमा पनि धान आयात गर्दैछौं । यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्छ । दैनिक सयौं युवा विदेशिने अनि हामी देखावटी कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुँदैन । अब विदेशिएका युवालाई स्वदेशमा कसरी आकर्षित गर्ने र विदेश जान कसरी रोक्ने भन्नेतिर सोच्न आवश्यक छ ।

कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्रमध्येमा दुग्ध क्षेत्र पनि रहेको छ । कुुल मागको करिब ८० प्रतिशत स्वदेशी उत्पादनले धानेको अवस्था छ । यस्तो अवस्थामा कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेतिर लाग्न आवश्यक छ । सबैजना नेपाल कृषिप्रधान देश हो भनी जुन नाम छ, त्यो नामलाई बचाउन लागौं र कृषि क्षेत्रको विकास नभई अरू कुनै क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन । त्यसैले कृषि उपज आयात रोकी अब निर्याततर्फ लाग्न ढिला भइसकेको छ । असार १५ गतेले यही शक्ति प्रदान गरोस् । धान दिवसको शुभकामना । (दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुनुहुन्छ)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?