छुपुमा छुपु खेतमै रोपु
हातको बीउ छउन्जेल
जे खानु खाइयो
जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल ।।
असारै खाउला दुधिलो मकै
साउने खाउला खीर
घरमा छैन शितलु बचन
मनमा छैन थीर ।।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि विरलै सुनिन्छन् । असार १५ राष्ट्रिय धान दिवस पाल्पाका केही फाँटहरुमा धान रोपाइँ भइरहेको छ तर असारमा गाईने ति मौलिक पुराना भाकाहरु भने सुनिएनन् । धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एक–अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर, ती दिनहरू अब इतिहास नै बनेका पाल्पा रैनादेवीकी ६० वर्षीया कमलादेवी थापा बताउँनुहुन्छ । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो, तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको उहाँको भनाई छ । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिले जस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताउनुभयो । आजभोलि मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउन छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।
जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिले पहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराउन थालेको छ । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । असारे भाका ठाउँ र समुदायअनुसार फरक–फरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ । तर हिजो र आज ति गीतहरु सुनिन छोडेका छन् ।
पाल्पा तानसेन –९ की ८१ वर्षीया विमला केशीलाई यति बेला असार-साउनमा धान रोप्दा गाईने पुराना गीतको झल्को आएको छ । उहाँ आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । ‘मज्जाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’, केशीले पुराना दिनहरु सम्झदै भन्नुभयो ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो ।’ ‘उहिले मनोरञ्जनका साधन केही थिएनन्,’ उहाँले भन्नुभयो, ‘त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।’ माडीफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उहाँले सुनाउनुभयो । तर हिजो आज भने पुराना भाकाहरु सुन्न छोडिएको केशी बताउनुहुन्छ ।
पाल्पा देउगीरका लोकबहादुर रायमाझीलाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । ‘हिलोमा चलेर आउँदा लोद परी फर्किन्थ्यौ, तर दही चिउरा खाएपछि र अरुले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ उहाँ भन्नुहुन्छ । थापा, रायमाझी र केशीको जस्तै असार पन्ध्रकोे अनुभव धेरैको छ । यि त केही उदाहरण मात्र हुन । पछिल्लो समयमा असारे भाका लोप हुँदै गएको छ । उहिलेका असारे भाका कमैले मात्र गाउँछन् । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराएका छन् । कुनै बेला असार लागेसँगै असारे गीतहरु गुञ्जायमान हुने पाल्पाका फाँटहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलो, जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको हो । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल,गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच