नाडाद्वारा भन्सार महानिर्देशकको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले शुक्रबार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी भन्सार सहजीकरणका लागि ध्यानाकर्षण गराएको छ । नाडाले वीरगञ्ज भन्सार कार्यालयले साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीमा पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएरमात्र पठाउनुपर्ने भन्ने विषयमा जारी गरेको सूचनालगायत व्यवसायीलाई भन्सारमा परेको समस्याबारे ध्यानाकर्षण गराएको हो । सो अवसरमा नाडाका अध्यक्ष थापाले सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोबाइल स्पेयर पार्ट्सका कतिपय वस्तुमा यस्तो व्यवस्था लागू गर्न कठिनाइ हुने बताउनुभयो ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयनमा आउने व्यावहारिक समस्या र अप्ठ्याराबारे जिज्ञासा राख्नुभएको थियो ।
महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकाले वैध व्यवसाय प्रोत्साहित गर्न र तस्करी निरुत्साहित गर्न उक्त व्यवस्था गर्न लागिएको जानकारी दिँदै अटोमोबाइल स्पेयर पार्टस आयातमा पनि लागू हुने बताउनुभयो । अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुमा नयाँ व्यवस्था गर्न कठिनाइ हुने भएपछि विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको उहाँले जानकारी गराउनुभयो ।

महानिर्देशक पौडेलले जसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकाले साधारण खुद्रा व्यवसायीलाई कुनै समस्या नहुने दाबी गर्नुभएको थियो । सो अवसरमा विभागका उपमहानिर्देशकद्वय सेवन्त पोखरेल र रमेश अर्याल, नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?