हाम्रो सम्बन्ध आकाशीय ग्रह तारासँग पनि जोडिएको छ । किनकि हामीलाई चिनाउने आधार नै आकाशीय ग्रह तारा हुन् । जन्म भएका बेलामा आकाशमा कुन नक्षत्र उदित थियो त्यही नक्षत्रका आधारमा हाम्रो नाम राख्ने वैदिक परम्परा रहेको छ । यसैगरी जन्मसमका आधारमा खगोलीय ग्रहस्थितिको गणना गरी चिना जन्मपत्रिका निर्माण गरिन्छ र फलादेश पनि हुने गर्दछ । यस्तै नक्षत्रचक्रको एक प्रक्रियाअन्तर्गत नै मूल र अश्लेषा नक्षत्र पनि पर्ने गर्दछन् । किनकि २७ नक्षत्र नै हाम्रो आकाशको वरिपरि विद्यमान छन् । यीमध्ये कुनै न कुनै समयमा अश्लेष, मूल एवं ज्येष्ठा नक्षत्र पनि पर्ने गर्दछन् । जुन नियमित प्रक्रिया हो ।
अन्य नक्षत्रको तुलनामा मूल र अश्लेषा नक्षत्रलाई सामान्यतः अशुभ फलदायी मानिन्छ । तर यी नक्षत्रका सबै समय भने अशुभ रहँदैनन् । कुनै समयममा यी नक्षत्रले पनि शुभ फल प्रदान गर्ने हुन्छ । यस्तो अशुभ विशष समयमा जन्म भयो भने फल नकारात्मक मिल्न सक्ने सम्भावना रहन्छ । यसैले सामान्यतः मूल एवं अश्लेषा नक्षत्रमा जन्म भयो भने शान्ति गर्नुपर्दछ भनिएको हो । सामान्यतः यो समयचक्र अनुसार नियमित रूपमा चलिरहेको हुन्छ । कुनै समय प्रतिकूल पनि रहनसक्छ । यस्तो प्रतिकूल समयको प्रतिकूल प्रभावबाट बँच्न शान्तिका विधान गरिएका छन् । मूल र अश्लेषा नक्षत्र पर्दैमा सबै विग्रिने भन्ने हुँदैन । अवस्था अनुसार भिन्नभिन्न फल हुने गर्दछन् । अभुक्त मूलसम्बन्धी नारद एवं बृहस्पति ऋषिका भिन्नभिन्न मत पाइन्छन् :
‘अभुक्तमूलं घटिकाचतुष्टयं ज्येष्ठान्त्यमूलादिभवं हि नारदः ।
वसिष्ठ एकद्विघटीमितं जगौ बृहस्पतिस्त्वेकघटीप्रमाणकम् ।।’ (मुहूत्र्तचिन्तामणि, २।५३)
अर्थात् ज्येष्ठा नक्षत्रको अन्त्यको चार घटी र मूल नक्षत्रको सुरुका चार घडी दुवै मिलाएर आठ घटी अभुक्तमूल हुन्छ । यो नारदजीको मत हो । ज्येष्ठा नक्षत्रको अन्त्यको एक घटी, मूल नक्षत्रको सुरुको दुई घटी (दुवै मिलाएर तीन घटी) भन्ने वसिष्ठको मत छ । ज्येष्ठाको अन्त्य र मूलको सुरुको आधा आधा घटी (दुवै मिलाएर एक घटी दुवै मिलाएर अभुक्तमूल हुन्छ भन्ने बृहस्पतिको मत छ ।
मूल नक्षत्रको प्रथमचरणमा बालक या बालिकाको जन्म भयो भने पितालाई हानि गर्ने हुन्छ । द्वितीयचरणमा जन्मभयो भने आमालाई हानि गर्ने हुन्छ । तृतीयचरणमा जन्म भयो भने धनको हानि हुन्छ । चतुर्थचरणमा जन्म भयो भने शुभ रहन्छ । शान्ति गर्नाले चारै चरण शुभ रहन्छन् ।
ज्येष्ठा नक्षत्रको अन्त्यको आठ घटी र मूल नक्षत्रको सुरुको पाँच घटी (दुवै मिलाएर १३ घटी) अभुक्तमूल हुन्छ भन्ने अन्य आचार्यको मत छ । यो अभुक्तमूलमा जन्म लिनेवाला जातकले पितालाई अशुभ गर्ने फल बताइएको छ । यसैले पिताले आठ वर्षसम्म मुख नहेर्नू र आठ वर्षपछि शान्ति गरेर मुख हेर्नुपर्छ भनिएको छ (मुहूत्र्तचिनतामणि, १।५४) यसैगरी अश्लेषा एवं मूल नक्षत्रमा जन्म हुँदाको फल यसरी बताइएको छ :
‘आद्ये पिता नाशमुपैति मूलपादे द्वितीये जननी तृतीये ।
धनं चतुर्थोद्रस्य शुभोद्रथ शान्त्या सर्वत्रसत्स्यादहिभे विलोमम् ।।’ (मुहूत्र्तचिनतामणि, २।५३
अर्थात् मूल नक्षत्रको प्रथमचरणमा बालक या बालिकाको जन्म भयो भने पितालाई हानि गर्ने हुन्छ । द्वितीयचरणमा जन्म भयो भने आमालाई हानि गर्ने हुन्छ । तृतीयचरणमा जन्म भयो भने धनको हानि हुन्छ । चतुर्थचरणमा जन्म भयो भने शुभ रहन्छ । शान्ति गर्नाले चारै चरण शुभ रहन्छन् । यसैगरी अश्लेषा नक्षत्रमा जातकको जन्म भए मूलको विपरीत फल हुन्छ । अर्थात् अश्लेषाको प्रथमचरण शुभ, द्वितीयचरण धन हानि, तृतीयचरण माता हानि या कष्ट र चतुर्थ चरणमा पितालाई कष्ट प्रदान गर्ने हुन्छ । विशेषतः यहाँ मातृशब्दले सौतेनी आमालाई पनि ग्रहण गर्नुपर्छ भन्ने गौतमको मत छ : ‘पितृपत्न्यः सर्वा मातरस्तद्भ्रातरो मातुलास्तदपत्यानि मातुलेयानि ।’
मूलको प्रथमचरणमा रात्रिमा जन्म भएको छ भने पिताका लागि दोषकारक हुँदैन । यसैगरी दोस्रो पाउमा दिनमा जन्म भए आमालाई दोष लाग्दैन भन्ने वसिष्ठको मत छ (पीयूषधारा टीका) । यसैगरी नारदसंहिता अनुसार दिवा जन्म भएको छ भने पितृलाई र रात्रिमा जन्म भएको भए मातृलाई हानि गर्ने हुन्छ यसैले शान्ति अवश्यमेव गर्नुपर्दछ :
‘दिवा जातस्तु पितरं रात्रौ तु जननीं तथा ।
आत्मानं सन्ध्ययोर्हन्ति ततो गण्डं विवर्जयेत् ।।
एतदेव मातापितृगण्डमिति जीर्णा व्यवहरन्ति ।’ (नारदसंहिता)
शान्ति नगर्नाले एक वर्षमा पिताको, तनि वर्षमा माताको, दुई वर्षमा धनको अनिष्ट हुन्छ । अतः शान्ति अवश्य गर्नुपर्दछ भन्ने नारदजीको मत रहेको छ । यसैगरी मूलेको चौथो चरणमा र अश्लेषाको पहिलो चरणमा शुभ भनिए पनि शान्ति गरेपछि शुभ हुन्छ भन्ने पीयूषधार टीकाकारको मत छ (पीयूषधारटीका, पृ.११८) ।
मूल नक्षत्रलाई वृक्ष मानेर घटी अनुसार फल बताइएको छ । सामान्यतः ६० घडीको एक नक्षत्र हुन्छ । बालकको जन्ममा मूलको आरम्भका ३६ घटी अशुभ थप २१ घडी शुभ र अन्तिमका तीन घटी अशुभ । (पीयूषधाराटीका) यसैगरी बालिकाको जन्म भएको खण्डमा छुट्टै मूल वृक्षफल बताइएको छ । सुरुको १० घडी अशुभ रहन्छन् । ११ देखि १५ घडीसम्म शुभ । १६ देखि ३७ घडीसम्म शुभ । ३८ देखि ६० घडीसम्म अशुभ रहने फल बताइएको छ । (पीयूषधारटीका) ।
यसैगरी अश्लेषा फल दुबैका लागि (स्त्री पुरुष) समान बताइएको छ । सुरुका पाँच घडी शुभ । ६ देखि १७ घडीसम्म्मा जन्म भए अशुभ । १८ देखि २९ सम्म शुभ । ३० देखि ४० सम्म अशुभ र ४१ देखि ६० घडीसम्म शुभ रहन्छ । (पीयूषधाराटीका) मूल र अश्लेषा शुभ वा अशुभ जुन समयमा जन्म भए पनि शान्ति भने पर्नुपर्नै कुरा पीयूषधार टीकाकारले बताएका छन् ।
अश्लेषा शान्तिमा प्रधान देवता अश्लेषा, अधिदेवता पुष्य (बृहस्पति) र प्रत्यधिदेवता मघा (पितृ) हुन्छन् । यसैगरी ज्येष्ठाका प्रधान देवता इन्द्र, अधिदेवता अग्नि र प्रत्यधिदेवता राक्षस हुन्छन् । नक्षत्रमध्येका विशेष नक्षत्र मूल र अश्लेषा हुन् । यी नक्षत्रमा जन्म हुँदा सामान्यतः अशुभ फल बताइएको छ ।
मूल र अश्लेषा शान्ति विधि
यसरी मूल एवं अश्लेषा शान्ति सूतकान्त वा तेस्रो महिनामा गर्न सकिन्छ । ‘शास्त्रोक्तरीत्या खलु सूतकान्ते मासे तृतीयेप्यथ वत्सरान्ते । ’ नारदजीमा मतमा मातृगण्ड भए सुतकान्तमा शान्ति गर्नुपर्दछ ‘तद्दोषशमनार्थं हि शान्तिं कुर्यात्प्रयत्नतः । मातृगण्डे सुते जाते सूतकान्ते विचक्षणः । कुर्याच्छान्ति तदृक्षे वा तद्दोषस्यापनुत्तये ।।’ आषाढ, भाद्र, आश्विन र माघ यी चार महिनामा मूलको वास स्वर्गमा हुन्छ । श्रावण, कार्तिक, चैत्र र पौष महिनामा मूलको निवास भूमिमा हुन्छ । फाल्गुन, मंसिर, वैशाख र ज्येष्ठ महिनामा मूलको निवास पातालमा हुन्छ । मूल जहाँ रहन्छन् त्यहाँ अशुभ फल दिन्छन् :
‘स्वर्गे शुचिप्रौष्ठपदेषमाघे भूमौ नभः कार्तिकचैत्रपौषे ।
मूलं हृयधस्तात्तु तपस्यमार्गवैशाखशुक्रेष्वशुभं च तत्र ।।’ (मुहूत्र्तचिनतामणिः, २।५६)
यसको आशय यो हो कि द्रव्यादिको अभाववश मूलको शान्ति गर्न असमर्थ रहे असार, भदौ, असोज, माघ, फागुन, मंसिर, वैशाख र जेठ यी आठ महिनामा जन्म हुँदा मूलको गहिरो प्रभाव नरहने भएकाले शान्ति नगर्दा पनि त्यस्तो अधिक क्षति हुँदैन । यदि साउन, कार्तिक, चैत्र, पौष यी चार महिनामा जन्म भए मूलशान्ति अवश्य नै गर्नुपर्दछ । सामथ्र्य रहँदा जुनसुकै महिनामा मूलमा जन्म भए शान्ति गर्नुपर्दछ । अभुक्तमूलको जन्ममा पनि यही अनुसार गर्नुपर्दछ । यो विचार चान्द्रमासअनुसार गरिएको छ । कुनै आचार्यले सौरमासमा पनि गर्न भनी बताएका छन् ।
मूल शान्ति जन्मको १२औं दिन वा शुभदिन वा आठवर्षको अन्त्यमा गर्नुपर्दछ । घरको पूर्व वा उत्तरपट्टि मण्डप बनाएर यज्ञविधिअनुसार नक्षत्रेशको (नक्षत्र स्वामीको) सुनको मूर्ति बनाई कलशमाथि राखेर पूजा गर्नुपर्दछ । प्रधान देवता निऋति (मूल), अधिदेवता इन्द्र (ज्येष्ठा), प्रत्धिदेवता तोय (पूर्वाषाढा) हुन् । कलशमा सर्वौषधी, पञ्चरत्न आदि राख्नुपर्दछ । उक्त स्थानमा इन्द्र एवं वरुणको पनि पूजा गर्नुपर्दछ । सय छिद्र भएको थालीबाट उक्त कलशको जलले अभिषेक स्नान गर्नुपर्दछ । मृत्युञ्जय मन्त्रको जप गर्नुपर्दछ । अश्लेषा एवं ज्येष्ठाको शान्ति पनि मूलजस्तै विधिले गर्नुपर्दछ ।
अश्लेषा शान्तिमा प्रधान देवता अश्लेषा, अधिदेवता पुष्य (बृहस्पति) र प्रत्यधिदेवता मघा (पितृ) हुन्छन् । यसैगरी ज्येष्ठाका प्रधान देवता इन्द्र, अधिदेवता अग्नि र प्रत्यधिदेवता राक्षस हुन्छन् । नक्षत्रमध्येका विशेष नक्षत्र मूल र अश्लेषा हुन् । यी नक्षत्रमा जन्म हुँदा सामान्यतः अशुभ फल बताइएको छ । तर यी नक्षत्रका सबै समयमा अशुभ नै फल मिल्छ भन्ने हुँदैन । अशुभ फल दिने समयमा जन्म भएको छ भने त्यसको प्रभाव नकारात्मक रहनसक्छ । यो खगोलीय परिवृत्तको नियमित चक्र हो । विशेषतः मूल एवं अश्लेषा नक्षत्रमा जन्म भयो भने शान्ति गर्नुपर्ने हुन्छ ।
सबै समय र कार्यमा यी नक्षत्र अशुभ नै रहन्छन् भन्ने हुँदैन । कार्य प्रकृतिअनुसार यी नक्षत्र शुभ फलदायी पनि रहनसक्छन् । मूल नक्षत्रका स्वामी निऋति (राक्षस) र अश्लेषा नक्षत्रका स्वामी सर्प हुने भएकाले यी अरु नक्षत्रभन्दा अशुभकारक रहेका हुन् । ज्येष्ठालाई पनि केही अशुभकारक मानिएको छ । यसैले शास्त्रमा मूल, अश्लेष एवं ज्येष्ठा शान्ति विधि बताइएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच