भवन जिर्ण हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीका भवनहरु जिर्ण हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ मा रहेको न्वादेउ र भटना स्वास्थ्यचौकीका भवनहरु जिर्ण बन्दै गएपछि सेवा प्रवाहमा समस्या हुने गरेको हो ।

सामान्य बर्षा हुदाँ समेत छानो चुहिने भएकाले औषधी उपकरण तथा सुत्केरी वार्ड र विमारी बस्ने ठाउँ व्यवस्थापनमा समस्या हुने गरेको भटना स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकले बताउनुभयो । वर्षात्‌को समयमा जस्ताले छाएको छानो चुहिने गरेकाले स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको स्वास्थ्य चौकी इन्चार्ज धानुकले जानकारी दिनुभयो । वडा कार्यालय र पुर्चाेडी नगरपालिकालाई पटकपटक छानो मर्मतको लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्वास्थ्य चौकी इन्चार्ज धानुकले बताउनुभयो ।

‘जस्ताले छाएको छानो हो, जस्तामा पुरै खिया लागेर छिद्र देखिएका छन्, समान्य पानीमा पनि चुहिने गरेको छ’ उहाँले भन्नुभयो ‘वर्षात्‌को समयमा सुत्केरी वार्ड भिजेर सेवा प्रभावित समेत बन्ने गरेको छ ।’

स्वास्थ्यकर्मीलाई बर्षात्‌काे समय सुरु भएसंगै औषधी उपकरणहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउने गर्दछ । अन्य भवनहरु नहुँदा जस्ता पाताले छाएको जिर्ण चुहिने भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । पुर्चाैडी-३ मा रहेको न्वादेउ स्वास्थ्य चौकीमा पनि समस्या भनि नसक्नु छ ।

भवन समेत साँघुरो रहेको स्वास्थ्य चौकीमा छानो समेत चुहिने भएपछि औषधीसहित स्वास्थ्य सामाग्री बचाउनै धौधौ हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज रोहित धानुकले बताउनुभयो । उहाँले भन्नुभयो ‘भवन समेत जीर्ण छ । कोठाभित्र पानी चुहिएर काठको दराज कुहिने अवस्थामा पुगिसक्यो । औषधी समेत बचाउन समस्या छ ।’

स्वास्थ्य चौकीको संरचना मर्मत र नयाँ संरचना निर्माणको ठोस छलफल नभएको र जनप्रतिनिधिहरुले आवश्यकता अनुसारका योजनामा उक्त समस्यालाई पनि छलफलमा ल्याएको अवस्थामा निष्कर्षमा पुगिने पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो ।

स्वास्थ्य चौकीमा जस्तापाताले छाएको छानोमुनी औषधी सुरक्षित नरहने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताउनुभयो बताउँछन् । जस्ता पातामुनी तापक्रम स्थिर रहदैन, तापक्रम बढेको हुन्छ, त्यस अवस्थामा औषधी समेत सुरक्षित रहदैन, प्रमुख भट्टले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?