गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ ।

जिल्लाको बेनी नगरपालिका-९ मा पर्ने गलेश्वर धाम स्कन्द पुराण,हिमालय पर्वत, भगवान शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यीनै विषयसँग सम्वन्धित रहेका कारण विश्वभरी चिनिएको छ ।

पछिल्लो समययता गलेश्वरमा भारतीय धार्मिक पर्यटकहरुको पनि सख्या वृद्धि हुनथालेको छ ।

कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धाममा अहिले उद्यान सहित आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारहरु समेत निर्माण भएकाले यस्तो पावन धार्मिक स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

‘गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अपनाई समन्वय र पहल गर्दैछौं’ नगरप्रमुख केसीले भन्नुभयो ।

विश्व सम्पदामा सूचीकृत गर्न नगरले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको नगरप्रमुख केसीले बताउनुभयो । ‘गलेश्वर धाम धार्मिक हिसावले महत्वपूर्ण स्थल हो । गलेश्वर पवित्र नदी कालिगण्डकी र रघुगंगाका संगमस्थलमा छ । गलेश्वरलाई मुक्तिनाथ प्रवेशद्धारका रुपमा पनि लिने गरिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत गरेर गलेश्वर क्षेत्रको धार्मिक महत्वको प्रचारप्रसार र संरक्षण गर्ने हाम्रो योजना छ’ नगरप्रमुख केसीले भन्नुभयो ।

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको भनाई छ ।

यस्तो छ गलेश्वर धामको महत्व र इतिहास

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ ।

म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ ।

गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ ।

१९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको बताइन्छ । त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिक स्थल भएको इतिहासकारले बताएका छन् ।

१९ औँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ । यो क्रम बेनी जोमसोम सडक विस्तार नहोञ्जेलसम्म जारी रहेको थियो ।

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्मह’त्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन् ।

पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ ।

म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?