राजीनामा दिएका क्यानका जिएम र अध्यक्षबीच आरोप-प्रत्यारोप

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राजीनामा दिएका नेपाल क्रिकेट संघका पूर्वजनरल म्यानेजर (जिएम) वृत्तान्त खनाल र अध्यक्ष चतुरबहादुर चन्दबीच आरोप-प्रत्यारोप चलेको छ । जिएम खनालले दिएको राजीनामा शुक्रबार बसेको क्यानको बोर्ड बैठकले स्वीकृत गरेको थियो ।

त्यसलगत्तै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खनालले अध्यक्ष चन्दले दिउँसै रक्सी खाएर केन्द्रीय कार्यालयमा आफूलाई अभद्र गाली गरेपछि राजीनामा दिएको गम्भीर आरोप लगाउनुभएको छ । अध्यक्ष चन्दले भने यस आरोपको खण्डन गर्दै काम गर्न नसकेपछि राजीनामा दिएको बताउनुभएको छ ।

‘दिउँसै रक्सीको सुरमा संघको केन्द्रीय कार्यालयमा आएर मलाई अभद्र गाली गरेपछि राजीनामा दिएको हुँ,’ खनालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइँ, सबै विषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिने बानी रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्नै नसकिने हुँदा राजीनामा दिएको हुँ ।’

खनाल २०७८ चैतमा क्यानको जनरल म्यानेजरमा नियुक्त हुनुभएको थियो । मासिक डेढ लाख पारिश्रमिकमा नियुक्त भए पनि देखिने गरी काम नगरेको भन्दै राजीनामा मागेको अध्यक्ष चन्दले जनाउनुभएको छ । सोही विषयमा एक साताअघि नै चन्दसँग खनालको विवाद भएको थियो । लगत्तै खनालले दिएको राजीनामा शुक्रबार बोर्ड बैठकले स्वीकृत गरेको थियो ।

चन्दले खनालमाथि कुनै पनि किसिमको दुव्र्यवहार नगरेको जनाउनुभएको छ । ‘उहाँको कार्यक्षमता सन्तोषजनक थिएन । खासै केही काम नगरेपछि राजीनामा दिन भनिएको हो । राजीनामाबारे सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट गरेको सुनेँ । ती आरोपमात्रै हुन्,’ चन्दले भन्नुभयो, ‘गाली गरेको कुरा सरासर गलत हो । तपाईं काम गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस् भनेको हो । यो सबै गलत र निराधार आरोप हो ।’

चन्दले वार्षिक ५० करोड ल्याउँछु भनेर खनालले पाँच लाख पनि ल्याउन नसकेको बताउनुभयो । यस्तै, खनालले आइसिसी र एसिसीसँग पनि समन्वय गर्न नसकेको, कर्मचारी व्यवस्थापन गर्न नसकेको आरोप चन्दले लगाउनुभयो ।

क्यानको निर्वाचन असोजमा
बोर्ड बैठकले क्यानको केन्द्रीय निर्वाचन आगामी असोजमा हुने जनाएको छ । शुक्रबार बसेको बोर्ड बैठकले साउनमा जिल्ला, भदौमा प्रदेश र असोजमा केन्द्रको चुनाव गर्ने निर्णय गरेको हो । जिल्लाको निर्वाचन साउन मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेशको निर्वाचन भदौ १० गतेसम्म गर्ने निर्णय गरेको छ । केन्द्र अर्थात् क्यानको निर्वाचन असोज ५ र ६ गते हुने भएको छ ।

त्यस्तै, क्यानले माथिल्लो मूलपानी मैदानको नाम पूर्वअध्यक्ष स्वर्गीय जयकुमारनाथ शाहको नामबाट जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको छ । गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँगको खेलबाट माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल भएको थियो । क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले माथिल्लो मूलपानी क्रिकेट मैदानको उद्घाटन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?